३१ साउन, दाङ । दाङ लगायत पश्चिम तराईका पाँच जिल्लामा रहेका कमलरीहरुको मुक्ति अभियानका लागि १३ बर्षको अबधिमा २५ करोड बढी रकम खर्च भएको छ । कमलरी मुक्ति अभियानमा लागेका संघसंस्थाहरुले १३ बर्षको अबधिमा २५ करोड रुपैयाँ खर्च भएको जनाएका छन् । सचेतना, कमलरी शिक्षा, व्यवस्थापन, आन्दोलन, संस्कृति संरक्षण, कम्लरीका लागि सहकारी स्थापना, सशक्तिकरण, सीपमूलक काम र भौतिक संरचना निर्माणमा उक्त रकम खर्च भएको हो ।
कमलरीप्रथाको बिरोध तथा कम्लरी मुक्त अभियान थालेका पश्चिम नेपालका आधा दर्जन गैरसरकारी संस्थाहरुले गएको असारसम्म २५ करोड ३२ लाख ३७ हजार ४ सय ५५ रुपैयाँ खर्च भएको बताएका हुन् । उनीहरुले यो अभियानमा १२ हजार ५ सय कमलरीहरुलाई दासताको जीवनबाट मुक्त गरी उद्धार गरेको दावीसमेत गरेका छन् ।
कमलरी मुक्तिमा लागेका संस्था एफएनसी, मुक्त कमलरी विकास मञ्च, ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस), स्वान, सहयोग समाज दाङ, प्लान नेपाललगायतका गैरसरकारी संस्थाले मात्रै कमलरीहरुलाई मुक्त गराउने अभियानअन्तर्गतका विभिन्न काममा सो रकम खर्च गरेका हुन् ।
उता सरकारले कमलरी मुक्तको घोषणा गरेपनि अझै दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा ५ सय १२ बालिकाहरुको उद्धार हुन बाँकी छ । दाङमा ३, बाँकेमा ७०, बर्दियामा १ सय २७, कैलालीमा ५८ र कञ्चनपुरमा २ सय ५४ जना बालिकाहरु अझै बिभिन्न व्यक्तिको घरमा कमलरी बस्न बाध्य भएका छन् ।
– निमुसंगम घर्ती (Online Khabar)