के श्लील, के अश्लील ?

टिप्पणी

साहित्य आफैँमा मीठो र आनन्ददायी हुन्छ। तर के आनन्दका लागि मात्र साहित्य लेखिन्छ ? लेखिँदैन। आनन्दका लागि पनि लेखिन्छ।
साहित्यको दायरा विस्तृत भएको हुनाले साहित्य जुनसुकै विधामा पनि सिर्जना गर्न सकिन्छ। जुनसुकै विषयवस्तु छनोट गरेर लेख्न सकिन्छ। यसमा कसैको दुईमत छैन। सर्जकलाई जुनसुकै विषयमा लेख्ने स्वतन्त्रता छ। इच्छाअनुसारको विषय, शैली र कला लिन ऊ स्वतन्त्र छ।
म महिला यौन मनोविज्ञानमा आधारित भएर कथा लेख्छु। म किन महिला यौन मनोविज्ञानका कथा लेख्छु ? कथाले दिन खोजेको सन्देश के हो ? कस्तो परिवेशलाई समेटेकी हुन्छु ? यो प्रश्नको जवाफ मैले दिनु आवश्यक होइन। तथापि लेखिसकेपछि लेखकको मृत्यु हुन्छ भन्ने कुरा नमान्ने, लेखक पनि बहसमा एउटा ‘वकिल’  हुनसक्छ भन्ने कुरामा विश्वास गर्ने हुँदा म केही कुरा राख्न चाहन्छु।

मैले कथामा नारी यौन मनोविज्ञान लेख्दा राम्रा प्रतिक्रिया कम र नराम्रा प्रतिक्रिया धेरै पाउँछु। महिला यौन मनोविज्ञान बुझ्नेहरूले मेरो लेखनको प्रशंसा गर्छन् तर यौन मनोविज्ञान राम्ररी बुझ्न नसक्ने, बुझेर पनि ढोङ पाल्ने पाखण्डीहरूले नकारात्मक प्रतिक्रिया दिन्छन्। यस्ता नकारात्मक प्रतिक्रिया सुन्दा हिंसामा परेको अनुभव हुन्छ, मलाई। मलाई के थाहा छ भने हिजो यौन कथा मात्र लेख्ने पुरुष लेखकले महिला पाठकबाट हिंसात्मक प्रतिक्रिया नपाएको–नपाउने हुँदा मैले हाल पाइरहेका प्रतिक्रियालाई लैंगिक हिंसा भन्न सकिन्छ।

लेखकलाई सबै विषयवस्तुमाथि साहित्य सिर्जना गर्ने स्वतन्त्रता भएको भए पनि मैले लेखेको विषयवस्तुमाथि निषेधको शैलीमा विरोध गर्नुले पितृसत्तात्मक समाजले मलाई सीधै यौन साहित्य लेख्ने जिम्मा पुरुषको मात्र हो भनेको हो भनेर बुझ्न गाह्रो छैन। नकारात्मक प्रतिक्रिया दिनुमा म हाम्रो पितृसत्तात्मक समाजको दोष देख्छु। जरा गाडेर बसेको पितृसत्तात्मक समाजबाट नै नकारात्मक प्रतिक्रिया आएको मलाई भान हुन्छ।
कथाका विषयवस्तु नै मनन नगरी मुना चौधरीका कथा पढ्नै सकिएन, कथा अश्लील छन् भन्ने भनाइ पनि सुनेँ। यस्तो भन्नेहरूमा बुझाइको कमीको समस्या मैले देखेँ। कथाको यथार्थ विषयवस्तु नबुझी कथालाई अश्लील भन्न मिल्दैन। कथा त्यतिखेर अश्लील हुन्थ्यो, जतिखेर मैले समागमका दृश्य मात्र देखाएकी हुन्थेँ। समाजका यथार्थ घटना छन् त्यहाँ, अनि कथा कसरी अश्लील भयो ?

हिजो पुरुषले यौन मनोविज्ञानको कुरा लेख्दा श्लील, मर्यादित, गहन, कालजयी, महान्, क्रान्तिकारी तर महिनाले लेख्दा अश्लील, झुर ? पुरुषले लेखेको यौनको कुरा सहजै स्वीकार्य हुन्छ यो समाजलाई तर म महिला भएर लेखेकीले यो कुरा समाजलाई अपाच्य भएको हो, अरू केही होइन। यौन मात्र होइन अरू विषयमा पनि लागू हुन्छ यो। पुरुषहरूले जे गरे नि ठीक, महिलाले जे गरे नि गलत।

पुरुषलाई लाज पनि लाग्दैन। अप्ठ्यारो पनि लाग्दैन। बाटाघाटा खुलेआम पिसाब फेरिरहेका केटाहरूका नजरमा नदेखेझैँ चुपचाप हिँड्ने हामी पो छाडा, हामी पो अश्लील !

बाटोमा हिँड्दै गरेको वा गाडी चलाइरहेको पुरुषलाई पिसाब लाग्यो भने ऊ गाडी रोकेर सडक छेउमै पिसाब फेर्न तयार हुन्छ। पुरुषलाई लाज पनि लाग्दैन। अप्ठ्यारो पनि लाग्दैन। बरु पुरुषलाई खुलेआम पिसाब फेरेको देखेर महिलाहरू नदेखे जस्तै टाउको निहुर्‍याएर हिँड्नुपर्छ। महिलालाई बाटोमा पिसाब लाग्यो भने झाडीको पछाडि पिसाब फेर्न जानुपर्ने वा नियन्त्रण गरेर घरमा आएर पिसाब फेर्नुपर्ने ! महिलालाई खुला ठाउँमा पिसाब फेरेको देखिहाले भने चरित्रहीन, लाजै नभएकी भनेर आरोप लगाउने गर्छन्। बाटोमा कुकुर जसरी मुतिरहेको केटोले त्यही बाटोमा स्कर्ट वा हाफ प्यान्ट लगाएर चुपचाप हिँडिरहेकी केटीलाई पो छाडा भनिरहेको हुन्छ। केटीहरू नजिक आयो कि आफ्नो यौनांग देखाउने पितृसत्ता केटीहरूको ढाड देखेर बुहलाएको छ, यहाँ। यो कस्तो हिप्पोक्रेसी ?

गर्मी महिनामा पुरुष कट्टु मात्र लगाएर बस्छन् तर महिलाले हात, खुट्टा र जीउ ढाक्ने गरी सारी वा कुर्था सुरुवाल लगाउनुपर्ने। त्यसमाथि तपतप पसिना चुहिने गर्मी। छोटो लुगा लगाए भने त्यसलाई भड्किलो पोसाक मानिन्छ। बलात्कारको कारक मानिन्छ। यहाँ काम र विचारका आधारमा होइन, लुगाका आधारमा महिलाको मूल्यांकन गरिन्छ। छोटा लुगा लगाए भड्किलो देखिन्छ, त्यसको चरित्र राम्रो छैन भनेर औँलासमेत ठड्याइन्छ। कस्तो लुगा लगाउने, आफूलाई कुन लुगामा काम गर्न सजिलो र अनुकूल अनुभव हुन्छ भन्ने निर्णय महिलाले गर्ने हो, अरुले होइन।

महिला भएर महिला यौन मनोविज्ञानमाथि साहित्य लेख्नु भनेको अरू कसैसँग होइन, पितृसत्तात्मक समाजसँग युद्ध लड्नु हो। मेरो लडाइँ सीधै पितृसत्तात्मक समुदायसँग हो, अरू कसैसँग होइन। पितृसत्तात्मक समाजमा महिला यौन मनोविज्ञानमा कथा लेख्न बलियो मुटु, ठूलो साहस, हिम्मत र धैर्य चाहिन्छ। हो, मैले अघि नै भनिसकेँ- पुरुषले यौनको कुरा लेखेको भए यो कुरा समाजलाई सहजै स्वीकार्य हुन्थ्यो। तर के महिलाको भावना अझै पुरुषले, पुरुषले मात्र लेखिदिनुपर्ने ? महिलामा आफ्नो भावना लेख्ने सामथ्र्य छैन ? पुरुषले लेख्ने यौन मनोविज्ञानमा पुरुषको भावना हुन्छ, त्यसमा महिलाको भावना खोइ ? जसको भावना हो, उसैले लेख्नुपर्छ। के अहिले एक्काइसौँ शताब्दीमा पनि महिलाको यौनसम्बन्धी अनुभव पुरुषले लेखिदिनुपर्ने ? आफ्नो अनुभव महिला आफैँले लेख्नुपर्छ। पुरुषले महिलामाथि जबर्जस्ती गरे पनि छुट तर महिलाले यौन कथा लेखे भने नकारात्मक प्रतिक्रिया दिने ढोँगी समाज छ हाम्रो।

आज नाबालिग बच्चीदेखि वृद्धासम्म बलात्कृत हुनु परेको छ। बलात्कारी अश्लील कि बलात्कृत ? आज दाइजोको निहुँमा महिलाको शरीरमा आयो झोसिएको छ। बल्ने अश्लील कि बाल्ने ? महिलामाथि एसिड प्रहार गरिएको छ। एसिड प्रहार गर्नु प्रेम हो भने हिंसा र अपराध चैँ के हो नि ? यो समाजमा पुरुषले जे गरे पनि हुने। महिलालाई घरेलु शोषण, कार्यालयीय शोषण, आफन्तीय शोषण, राजनीतिक शोषण, साहित्यिक शोषण, कति सहने ? कहिलेसम्म सहने ? महिला कतिसम्म चुप लागेर बस्ने ? पुरुषको शोषणले अझै के–के गरेपछि हद पार्ने हो ?

अब यस्ता शोषणविरुद्ध आवाज उठाउन अगाडि आउनुपर्छ। महिला आफैँमा शक्तिशाली छन्। महिला शक्तिशाली हुँदाहुँदै पनि किन पुरुषको दुव्र्यवहार सहिरहेका छन् ? पुरुषबाट बलात्कृत भएकी महिला न्याय माग्न निस्कन्छिन् तर ती पीडित महिलालाई यो समाजले न्याय माग्ने ठाउँसम्म पुग्न दिँदैन। नारीले आफ्नो शक्ति प्रयोग गर्दै समाजको परम्परागत संरचना भत्काएर नयाँ सामाजिक संरचना र संस्कृति निर्माण गर्नुपर्छ। आफ्नो अधिकार पाउन समाजसँग लड्नै परे लडेरै समाज परिवर्तन गरेरै छाड्नुपर्छ भन्ने खालका नारी विद्रोहको भाव मेरा कथामा पाइन्छ तर बुझाइको समस्याले मेरा कथालाई अश्लील भनेर आलोचना गर्छन्। जब कि मेरा कथाहरू अश्लील हुँदै होइनन्। मेरा कथामा यौन कुण्ठा, कुण्ठाले निम्त्याएको घटना, घटनाबाट उत्पन्न समस्या र समाधानका उपाय हुन्छन्। सजीव समाजिक चित्र हुन्छ। के समाजमा यस्ता घटना भइरहेका छैनन् ?

मेरा कथामा कला पक्ष कमजोर छ भन्ने प्रश्न पनि उठाइए। कला पक्ष कमजोर छ भन्नेहरूले परम्परागत लेखहरू रुचाउने तर नयाँ कुरा स्वीकार्ने सामथ्र्य नभएको ढोँग गरेको मात्र देखेँ मैले। यो समाजमा पर्दापछाडि र बन्द कोठामा जे गर्दा पनि हुन्छ तर खुला रूपमा ती कुरा लेखेर प्रस्तुत गरे भने त्यो अश्लील हुन जान्छ। के हामी सामाजिक–साहित्यिक परम्परा र पितृसत्तात्मक समाजलाई २१औँ शताब्दीमा आएर पनि स्वीकारिरहने हो ? यस्तो गर्‍यौँ भने हामी महिलाले आफैँमाथि अन्याय गर्नेछौँ। हो, अबको पुस्ताले यो समाज परिवर्तन गर्नुछ। संसार कहाँबाट कहाँ पुगिसक्यो तर हामी परम्परागत पितृसत्तात्मक समाजमा नै अड्किराख्यौँ भने प्रगति कहिले गर्ने ? जुन कुरा जति लुकायो त्यो कुरा त्यति नै रहस्यमय बन्दै जान्छ। जतिसक्दो यस्ता रहस्यबाट हाम्रो समाज बाहिर निस्किनैपर्छ।

मुना ‘जयवर्धन सहलेश’, ‘दुलारी’ कृतिकी लेखक हुन्।

लेखक : मुना चौधरी
श्रोत : अन्नपुर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.