को हुन जातिबादी ?

–  सिताराम थारु

गाउँमा पहिले पहिले दशैमा खुब नाटक गरियो। एकचोटि नयन राज पाण्डे जिको लेखनमा रावण नाटकमा रियसल गर्दै थियो । बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधै रामको रोल पाउँथ्यो तर लहानु थारुको छोरो कालो अलि फरक अनुहार अभिनयमा अब्बल हुदाहुदै पनि रावणको रोल दिइन्थ्यो । बाँकी अरु थारुको छोराछोरीहरुलाई हनुमान, सुगरिक, बादरको रोल पाउथे । यसरी हामी गाउँमा रमाइलो गरेर भब्य रुपमा दशै मनाउथ्यो । २०५९ सालमा दशैमा यहि नाटक गर्ने तयारी गर्दै थियो तर यसपाली लहानुले हिम्मत गरेर भन्यो ‘अख्सिस मै रावण नै बनम, राम बनम ’ (यसपाली म रावण बन्दैन राम बन्छु) सायद उस्ले भित्रदेखिको इच्छा प्रस्फुटन गर्यो ।

रामले चितिक्क परेर लगाएको लुगा र सबै दर्शक रामलार्इ माया गर्ने, पुजा गर्ने भएकोले लहानुलाई पनि राम बन्न मन लागेको थियो । तर हाम्रो रियसल गराउने काकाले लहानुलाइ हप्काउदै ‘तै कलठोत्रा अनुहार ना दनुहार थारुक लर्का राम बन सुहैब्या रै ? मलिक्व छावा ओत्रा सुग्घर रति रति तै राम निबन पैब्या ।’ (त काले अनुहार ना दनुहार राम बन्न सुहाउछ्स र? त्यस्तो सुन्दर मालिकको छोरा हुदाहुदै त राम बन्न पाउदैनस) । यो कुराले लहानुको धेरै चित्त दुख्यो रावणको ड्रेस फुकाल्दै त्यहाँबाट लहानु निस्किन्छ त्यो दिन देखि लहानु कहिले गाउँमा देखिएन ।  गाउँ जाँदा कहिलेकाही सुनिन्छ उसलाई पुलिसहरु समय समय खोज्न आउछन् रे । माओवादी द्वन्द्वकालमा धेरै थारुलाइ बेपत्ता बनाइयो । थारु जाती भएकै कारण राज्यले माओवादी बिल्ला भिराउथ्यो र यातना दिन्थ्यो । दोन्दकालमा तिन हजार भन्दा बढी थारुहरु ज्यान गुमाए । सदियौ बर्षदेखि शोषण, दमन, उत्पीडन र बिभेदका शिकार भएका नेपालका बहुसंख्यक आदिबासी जनजाति, मुस्लिम, दलित, मधेसी र पिछडा बर्ग राज्यको मुल प्रबाहबाट बन्चित गराइएको छ ।

नेपाल एकीकरणका नाममा हिन्दु (बाहुन क्षेत्री) राज्यको हरेक तहमा स्थापित गर्ने र अन्य जाति तथा पिछडा बर्गलाई बिस्थापित गर्ने सासकको कानुन, नीति र ब्यवहारले २४० बर्ष देखि निरन्तर रुपमा यिनिहरुको पहिचान र अस्तित्वमाथी प्रहार भैरहेको छ । अहिले ने.क.पा, रा.प्र.पा र काङ्ग्रेस यि तीन ओटै पार्टीका अध्यक्ष ब्राह्मण समुदायका छन् । पार्टीको एजेन्डा फरक भएपनि यिनिहरुको जातीय र धार्मिक एजेन्डा मिल्छ । बाहिर जति झगडा गरेपनी आफ्नो सामुहिक स्वार्थको लागि यिनिहरु एक ढिक्का हुन्छन् यस्को ज्वलन्त उदाहरण यिनिहरु सत्ता संचालन गर्दा कैयौं पटक पदको लागि मिलेको इतिहास छ, नेपालको अन्तरिम संविधानमा भएको ४० प्रतिशत प्रत्यक्ष र ६० प्रतिशत समानुपातिक निर्वाचन प्रणालीलाई उल्ट्याइ ३ प्रतिशत जनमत र १ जना प्रत्यक्ष प्रतिनिधि सदस्य जित्नुपर्ने ठ्रेस होल्डको ब्यवस्था गरि साना दल र उत्पीडित जातिको प्रतिनिधित्वलाई कानुनी रुपमा पटन गराए ।

अर्को महत्वपूर्ण कुरा हिमाल, पहाड र तराइको भ्रम छरेर २ नम्बर प्रदेश बाहेक सबै प्रदेश बहुमतमा कब्जा गरे । यो कसरी सम्भब बनाए त ? जो कि बाहुन क्षेत्रीको अधिराज्यमा २८ प्रतिशत मात्रै जनसंख्या हो भने बाँकी ७२ प्रतिशत अरु जातिको जनसंख्या हो । १० बर्ष जनयुद्ध गरेर सत्ताको स्वाद चाखिरहेका एकीकृत माओबादी पार्टी एमालेसंगै बिलिन भएर थारु आदिवासी, जनजाती, मधेसी, मुस्लिमहरुको पहिचानका मुद्दा र अधिकारहरुलाई कानुनी रुपमा मेटाए । हिजो पहिचानको मुद्दा बोकेर जनयुद्ध गरेका कम्रेडहरु आज जातिबादी मुद्दा भनेर बहस गर्न थालेका छन् ।

देशले मागेको सानुपातिक समाबेशी प्रतिनिधित्व लत्याएर एकल जातीको भर्ती बनाए । २५ वटा क्याबिनेट मन्त्रीमा एउटा थारु मन्त्री नपर्नु कति दुर्भाग्य हो । हिजो ठुला ठुला परिवर्तन र समाबेशिका कुरा गरेका कम्रेडहरु आज स्वयम् आफै एकल जातिको बचाउ र भर्तीमा लागेका छन् । यो नस्लिय चरीत्र टिकापुर बिद्रोहलाई लिन सकिन्छ । केपि ओलिको अगुवाईमा झापा आन्दोलन हुँदा थुप्रै जनता र पुलिस मरे, गिरिजाप्रसाद कोइरालाको अगुवाइमा जन आन्दोलन हुँदा त्यहाँ पनि जनता र पुलिसले ज्यान गुमाए, प्रचण्ड र बाबुराम भट्टराईहरुले जन बिद्रोह गर्दा १७ हजार भन्दा बढी जनताले ज्यान गुमाए तर आज त्यही ब्यक्तिहरु एउटा थारुको छोरो आफ्नो पहिचान र अधिकारको लागि टिकापुरमा आन्दोलन गर्दै गर्दा नसोचेको घटना घट्छ र सम्पुर्ण थारुलाइ बदनाम गर्दै आतंककारिको बिल्ला भिराइ सर्बस्व सहित जेल कोच्न लगाए । टिकापुरको घटनाले एउटा के प्रष्ट गरदिएको छ भने नेपालमा अझ एकल नस्लिय जातिबादिको राज कायमै छ ।

आज हाम्रा देशका प्रधानमन्त्री केपि ओलि जातका आधारमा आरक्षण र प्रतिस्पर्धाका बहस गर्छन र आफैले बनाको संविधानमा ब्यवस्था गरेको आरक्षण मान्दैनन् किनकी त्यहा आफ्नो जात देख्दैनन । प्रधानमन्त्री ज्यु यहाँ जातकै आधारमा धेरै कुरा भएको छ । तपाई जातकै आधारमा प्रधानमन्त्री भएको बिर्सनु भएछ । नत्र तपाईं भन्दा दुई गुणा बुद्धिजीवी सुबास नेम्वाङ किन प्रधानमन्त्री हुन सकेनन् ? यहाँ जातकै आधारमा एउटा दलित मन्दिरभित्र छिर्न रोक लगाइन्छ । जातकै आधारमा एउटा जातिलाइ फलाम कुट्न लगाइन्छ । जातकै आधारमा एउटा जातिलाइ लुगा सिउन लगाइन्छ ।

जातकै आधारमा एउटा जातिलाइ पुजारी बनाइन्छ र जातकै आधारमा आफ्नै देशको एउटा जातिलाइ उच्च र अर्को जातिलाइ तल्लो भनेर छुट्याउने काम गरिन्छ । यो काम कस्ले गर्यो प्रधानमन्त्री ज्यु ? पक्कै पनि थारुको पुर्खाले गरेनन् होला । तर आज कुनै थारु, मधेसी, जनजाति वा दलितले राज्यमा आफ्नो हिस्सा खोज्दै गर्दा जातिबादी भनेर आरोप लगाइन्छ । यो देशको रास्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधान न्यायधीश, प्रधानसेनापती, मुख्य सचिब एकल खस जाती छन् , राज्यको सबैभन्दा बढी सेवा सुबिधा उनीहरुले नै प्रयोग गर्छन् अनि जातिबादिको बिल्ला चाहिँ थारु जनजाति मधेसीलाई भिर्नुपर्ने यो कस्तो मानसिकता हो ?

नेपाल बहुजाती, बहुभाषिक र बहुधार्मिक देश भने पनि ब्यवहारिक रुपमा एकल जाती, एकल भाषा र एकल धर्मले नै प्रक्षपोषण पाइरहेको छ । त्यो चाहे २००७ साल पछिको आन्दोलन होस वा माओवादीले गरेको १० बर्षको जनबिद्रोह होस । आन्दोलन र बिद्रोहपछि केही परिबर्तन भएतापनी अझ पनि राज्यले ठोस रूपमा एकल नस्लिय जातिबादिबाट उन्मुक्ति पाको छैन ।

लेखक थरुहट थारुवान राष्ट्रिय युवाशक्तीका अध्यक्ष हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.