थारु र थारु कल्याणकारिणी सभाका केही अवसर र चुनौतीहरु (थारुको पहिचान)

bhulai
थारु कल्याणकारिणी सभाको २० सौं महाधिवेशनको संहारमा सभालाई सुझाव स्वरुप यो निम्न लेख प्रस्तुत
लेखक थाकस केन्द्रीय कार्यसमितिका सल्लाहकार र पूर्व महामन्त्री हुन्
२०६७।६।२६

पहिचानको भिन्न-भिन्न स्थान, समय, प्रशंग र तहमा भिन्न-भिन्न अर्थ हुन सक्दछन् । साधारणतया पहिचानको अर्थ परिचय अर्थात् कसैको नाम, पद, बंश, जाति, उसको भौतिक स्वरुप, ठेगाना, योग्यता, परिवारिक स्थिति, उसको ऐतिहासिक तथा सांस्कृतिक पृष्ठभूमि इत्यादि बुझेता पनि यहां समुदायको पहिचानको हकमा मेरो बुझाईमा कुनै पनि समुदायको पहिचान भनेको त्यस समुदायको अस्तित्वसंग सम्बन्धित यो एउटा नैशर्गिक अवधारणा हो अर्थात् कुनै समुदाय आफ्नो पूर्व: वा पूर्वरुपमा वांचि रहिरहन पाउनु अर्थात् संधै वाँचिरहनु हो । यसरी खास गरेर आदिबासी जनजाति समुदायको पहिचान/ अस्तित्वका लागि केही मूलभूत तत्वहरुमध्ये पहिलो तत्व त्यस समुदाय÷जातिको आफ्नो थलो (भूगोल), दोश्रो तत्व उसको आफ्नो इतिहास र संस्कृति तथा तेश्रो तत्व त्यस समुदायको आफ्नो मातृभाषा हो । यसरी समुदायको पहिचानका यी तीन तत्वहरु मध्ये कुनै पनि तत्व नष्ट/लोप भयो भने त्यो समुदय/जाति आफै लोप हुन्छ । त्यसैले केही संस्कृति विद्हरुले भनेका छन् कि “यदि कुनै जाति/समुदायलाई समाप्त गर्नु छ भने सबैभन्दा पहिले त्यस जाति/समुदायको मातृभाषा नष्ट गर्नुपर्दछ, अनि त्यस्तो समुदय आफै लोपहुन्छ ।”

वास्तवमा वर्तमान समयमा कुनै पनि आदिबासी जनजाति समुदायको सही, सबल तथा दिगो पहिचानको लागि यी तीन तत्वहरु: थलो, सँस्कृति तथा मातृभाषा संगै अर्थ, शिक्षा र राजनीति पनि त्यतिकै महत्वपूर्ण र अपरिहार्य तत्वहरु हुन् । पहिलो तीन तत्वहरु मध्ये थलो जाति/ समुदायको पहिचानको लागि स्थीपंजर, संस्कृति उसको मासु तथा मातृभाषा उसका रगत हुन भने बाँकी तीन तत्वहरु: अर्थ, शिक्षा र राजनीति पहिचानका आवश्यक पोषक तत्वहरु हुन् । त्यसकारण कुनै त्यस्तो समुदायर जातिले आफ्नो सबल तथा दिगो पहिचानको लागि अचेल यी छवटै तत्वहरु चुस्त र दुरुस्त राख्नु जरुरी हुन्छ अनि मात्र त्यस्तो समुदाय/जातिको पहिचानरुपी घर सबल र दिगोरुपमा कायम रहन सक्दछ । यी सही तथा प्रमाणित तथ्यहरु हुन् ।

थारुहरुका इतिहास, पढेर विचार गर्दा यी उपर्युक्त तथ्यहरु थारु समुदायले धेरै अघि देखिनै पालन गर्दै आएको देखिन्छ । तर यी उपर्युक्त समुदाय पहिचानका पहिला तीन मुख्य तत्वहरु जति महत्वपूर्ण र आवश्यक छन्, यी कायम राख्न पनि त्यतिकै अप्ठ्यारा छन् किनकि यो कुनै खास ब्यतिगत श्रीसम्पति होईन, यो सामुहिक एवं परम्परागत विशाल निधि हुो । यसलाई जगेर्ना गर्न आत्मीय माया र स्वच्छ संगठनात्मक बल चाहिन्छ र यी गुढ कुराहरुलाई हृदयगम गरेर हाम्रा पूर्वजहरुले धेरै अगाडि देखिनै थारु संघसंगठनहरु स्थापना गरेर थारु पहिचानलाई कायम राख्न आफ्ना संघसंगठन मार्फत जुझदै र संघर्षहरु गर्दै थारुलाई आजको अवस्थामा ल्याई पुरयाएका छन् र अहिले पनि त्यस्तै घडि आईसकेको छ । फेरि पनि थारु र थारु संघसंगठनहरुले आफनो पहिचान/ अस्तीत्व कायम राख्न आफ्नो सामर्थ एकपटक पुनः उजागर गर्नु पर्ने देखिन्छ ।

यहाँ मेरो बुझाईमा अहिले जे जति सामाजिक संघ-संगठन वा संस्थाहरु छन् प्रायः सबैको एउटै उद्देश्य छ कि आफ्नो समुदाय/जातिको पहिचान अर्थात् स्थायीत्व, उसका हक-अधिकार कायम राखी राख्नु र यो हुनु पनि पर्छ र अहिलेको वातावरणले पनि त्यै भन्छ । हुनत् अहिले थारु संघ-संगठनहरु धेरै छन् र सबैको त्यही एउटै उद्देश्य पनि छ तर प्रगति र परिणाम केही पनि देखा परिरहेको छैन किनकि अहिले संघ संगठनको उद्देश्य मुखको वोलीसम्म मात्र सिमित छ – कार्यब्य र व्यवहारमा होइन, तर यस पटक केहि गरी यदि थारुहरु आफ्नो पहिचान कायम राख्न सकेन भने वर्षौको लागि थारुहरुले रुनु बाहेक अरु केही बाँकी रहदैन । त्यसकारण थारु कल्याणकारिणी सभा तथा थारु अन्य संघ-संगठनहरुले यो कुरो राम्ररी मनन गरेर पहिचानको लागि मरीमेट्नुसम्म बल लगाउनु पर्दछ । हुनत् आज मात्रै होइन शुरुदेखि नै चाहे थारु काल्याणकारिणी सभा होस् वा अरु थारु संघसंस्थाहरु यी सबै थारुकै अस्तीत्व/ पहिचानको लागि नै स्थापना भएका हुन र अहिले पनि ती संघसंस्थाहरुको उद्देश्य यहि हुनु पर्दछ । यस बाहेक अहिले यदि ती थारु संघसंस्थाहरुले अन्य काम गर्न लाग्यो भने यसलाई बाटो बिराएको भन्दा अरु केही भन्न सकिदैन ।

अब अहिलेको स्थितिमा थारु समुदायको पहिचान कायम राख्न मेरो अनुभव अनुसार सबै भन्दा पहिले थारुहरुले थारु कल्याणकारिणी सभालाई सबल तथा सुसंगठित बनाउन सक्नु पर्दछ । सभालाई सबल र सुसंगठित बनाउन समयसापेक्ष सभाको विधान संसोधन गरि यो आउने २०शौं महाधिवेशनमा सूयोग्य, जुझारु, कर्मठ, आत्मप्रेरित, इमान्दार, समय र श्रम सभाको लागि दिन सक्ने योग्य तथा क्षमतावान सदस्यहरु चुनिएर आउनु पर्दछ किनकि विधान र कार्यालय मात्रै जीवित संगठन होइन, जीवित संगठन भनेको जीवित अर्थात् सूयोग्य, कर्मठ र इमान्दार सदस्यहरु हुनु हो । त्यसपछि सगठनलाई कम्तिमा गाउँ तहसम्म विस्तार गर्नुपर्दछ र सबैलाई अत्याधिक मात्रामा सभाको आवश्यकता तथा थारुको पहिचान र वर्तमान स्थिति बारे धेरै प्रशिक्षण गर्नु पर्दछ जसले गर्दा केवल केन्द्रीय सदस्यहरु मात्रै होइन कि गाउँ स्तरसम्मकै सबैलाई अनुभूति होस् कि सभा हाम्रो हो र उनीहरुले आफ्नो पहिचान कायम राख्न आफ्नो बलिदान गर्नसम्म तयार होस् ।

माथि उल्लेख भए अनुसार थारुले आफ्नो सबल र दिगो पहिचान कायम राख्न कम्तिमा छवटै तत्वहरु: थलो, संस्कृति, मातृभाषा, अर्थ, शिक्षा र राजनीति चुस्त र दुरुस्त राख्नु पर्दछ । यहां थलो भनेको भूमि, राज्य/ भूगोल जसलाई हामी थरुहट भन्दछौ हो । थलोको आफ्नै महत्व हुन्छ । थलोको अपहरण भयो भने थारु आफ्नै थलो (भूमिमा) प्रवासी जीवन बिताउन बाध्य हुनेछन् र उनीहरुको संस्कृति, मातृभाषा र अन्य हक-अधिकारहरु आफै विलिन हुने छन्, हाम्रा आदिवासीपना हामी यहांका रैथाने÷आदिवासी हुँदाहुदै पनि विलीन तथा निरीह हुनेछौं । अहिलेको समयमा आफ्नो थलो जोगाउन थारुको लागि एउटा ठूलो चूनौति पनि हो । हुनत यस्ता चुनौतिहरु त थारुहरुको अगाडि पनि धेरै आएका हुन् तर थारुहरु त्यतिखेर पनि लडे र हरेक लडाई जित्दै आए र यस पटक पनि जितिने नै बल गर्नुपर्छ तथा यस चुनौतिलाई पनि अवसरमा बद्लिनु पर्छ ।

यी चुनौतीहरु माओवादीहरुको स्वार्थ तथा दुधमुखे पत्रकारहरुको मूर्खता तथा मधेशी समुदायको स्वार्थ र बदनियतपूर्ण ब्यवहारबाट आएका हुन् जो आदिवासी थारुहरुको थलो/ भूमि अर्थात् थरुहटमा एउटा प्रवासीको रुपमा जिविकोपार्जनको लागि केही वर्ष अगाडि आएर उक्त एतिहासिक भूमिलाई बलजफत आफ्नो भूमि तथा मधेश बनाउन एडी र शिरको पसीना एक गरिरहेका छन् ।

माओेवादीको स्वार्थ भनेको उसको आफ्नो संगठन तराइमा अर्थात् हाम्रो भूमि थरुहटमा विस्तार गर्न यी मधेशे प्रवासीहरुलाई खुस पार्न उनीहरुलाई मन पराउने मधेशरुपी अवधाराणाको बिजारोपन हाम्रो थलोमा गर्नु नै हो । यो अवधारणा पहिला मधेशी साथीहरुले ल्याएका होइनन । यो अवधारणा ल्याउने माओवादी पार्टीनै हो जो केही बुझ्दै नबुझीकन बिना प्रमाण निहीत स्वार्थबस् गलत अवधारणाको खेती थरुहटमा ल्याए । सही भएको भए मलाई केही आपत्ती थिएन तर गलत किसिमले थारुको श्रीसम्पति हनन गर्न माओवादीले थारुहरु प्रति ठूलो अन्याय गरेका हुन् ।

माओवादीका दिनानाथ शर्मा तथा देव गुरुङ्गहरुलाई धेरै कार्यक्रमहरुमा मधेशरुपी अवधारणाको प्रमाण मांग्यौ, तर उनीहरु त्यतिखेर निरुत्तर रहे । के यो मौनता थारुहरु प्रति सुनियोजित षडयन्त्र होइन र ? त्यस्तै यी हाम्रा दुधमुखे पत्रकारहरु वास्तविकता बुझदै नबुझीकन गलत अवधारणाको यति भ्रमपूर्ण खेती (प्रचारप्रसार) गरे र अन्तमा हाम्रा नवालक सरकार पनि आफना बेहासी अवस्थामै थारु संघसंस्थाहरुको बिरोधको बाबजूद पनि अन्तरिम संविधानमा मधेश अवधारणा ल्याई छाडे जसले गर्दा यो खोटो सिक्का गलत हुँदाहुँदै पनि नेपालको तराई बजारमा चल्न लागेको छ ।

पत्रकारहरु, राजनीतिकर्मीहरु तथा नेपाल सरकारसंग यो अनुरोध गर्दछु कि सही कुराको प्रचारप्रसार गर्नुस् तर गलत चीजहरुको खेती गरी अझै वढी मूर्ख न बन्नुस् । यसको साथसाथै हामी थारुहरु, थारु संघसंगठनहरु, थारु कल्याणकारिणी सभा, थारुका सांसद तथा अरु थारु जिम्मेवार मानिसहरु पनि केही हदसम्म यस घटनाका दोषीहरु हुन् जहा कोही आफ्नो स्वार्थबस, कोही डरत्रासले, कोही आफ्नो अल्छीपन्नाले, त कोही कुरो राम्ररी नबुझेर यो मधेशरुपी अवधारणाको त्यतिखेर जुन किसिमले विरोध गर्नु पर्ने थियो त्यो त्यतिखेर हामीहरु गर्न नसकेर पनि हो ।

अहिले पनि समय छ । अब हामी थारुहरु यस शुभकाममा अझै ढिलो गरयौ, विवेक पूयाएनौ भने यसपटक हाम्रो थलो पक्का अपहरित हुनेछ । त्यसकारण, अब पनि सबै थारुहरु आफ्नो थलो जोगाउने प्रयास तन-मन-धनले गर्नु पर्छ । यसमा धेरै बढी सोच्ने अब समय छैन् । यो काम अहिले त्यति सजिलो पनि छैन्, त्यसकारण अब थारुहरुले ठूलै मिहिनत गर्नु पर्छ र उनीहरुबाट आफ्नो थलोलाई जोगाउन निम्ति थारु कल्याणकारीणी सभा यस पटक सूयोग्य, कर्मठ, जुझारु, सभाको लागि आफ्नो समय र श्रम दिन सक्ने पदाधिकारीहरुको हरेक तह र तप्कामा छनौट गरी संगठन तल्लो तहसम्म विस्तार गर्नु पर्दछ र सबैलाई अत्यिधिक मात्रामा सभाको आवश्यकता र थारुको पहिचान र हालको स्थिति बारे धेरै प्रशिक्षित गरी सवैलाई वास्तविकताबाट परिचित गराउनु पर्दछ ।

यसको साथसाथै, थारु कल्ययाकारिणी सभाले सबै थारु संघसंगठनहरुसंग समन्वय गरी सबैलाई एक सुत्रमा बाध्ने थारु सांसदहरुलाई थारुको हकहितमा लाग्न वाध्य गराउने, नेपाल सरकार तथा राजनैतिक पार्टीहरुसँग वार्ता तथा प्रचारप्रसारको माध्यमबाट थरुहट र थारुको हकहित प्रति जोडदार वकालत गर्ने । यो हाम्रो थलो थरुहट हो को सम्बन्धमा प्रशस्त अनुसन्धान गरी बढी भन्दा बढी सबुत प्रमाणहरु जुटाउने । आफ्नो सुरक्षार्थ स्वंयसेबककोरुपमा दक्ष थारु सेना बनाई शान्तिपूर्ण आन्दोलन गर्ने । त्यस्तै पहिचानका अर्का तत्वहरु संस्कृति र मातृभाषाको संरक्षण सम्बधर्नको लागि आर्थिक फण्ड÷कोष बनाई थारु संस्कृति, थारुको उत्पति, थरुहटमा भएका ऐतिहासिक गढहरु र थारु मातृभाषा बारे प्रशस्त अनुसन्धान गर्ने, थारु गीत, नृत्यहरु संकलन र प्रकाशन गर्ने, थारुभाषाको शब्दावली तयार गर्ने, क्षेत्रानुसार ब्याकरण तयार गर्ने र प्रकाशन गर्ने । क्षेत्रानुसार पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण, नियमित पत्र–पत्रिका प्रकाशन इत्यादि गर्ने, थारु मिडिया तथा सिनेमाहरु बनाउने । त्यस्तै चौथो, पांचौ तथा छैठो क्रमश अर्थ, शिक्षा तथा राजनीतिक तत्वहरु थारु पहिचानका अर्का आवश्यक पोषक तत्वहरु हुन । भनाई छ भुखे भजन न होही गोपाला अर्थात् भोकै भगवानको पनि भजन गर्न मन लाग्दैन भने थारु काल्याणकारिणी सभाको काम कसरी चल्छ ? स्वभाविक हो अर्थ चाहिन्छ-चाहिन्छ नै र त्यस्तै अर्को तत्व शिक्षा बिहीना नर पशु ही समाना अर्थात् शिक्षा पनि उतिकै महत्वपूर्ण र आवश्यक तत्व भएकोले सबैलाई पढन तथा पढाउन प्रोत्साहित गर्ने, गरीब र जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृतिको ब्यवस्था गर्ने र फेरि राजनीति पनि अहिलेको समयमा थारु पहिचानका लागि धेरै बलियो कारक भएको हुनाले राजनीतिलाई पनि त्यतिकै आवश्यक र महत्वपूर्ण पोषक तत्वको रुपमा लिएर राजनैतिक चेतना अभिवृद्धि गराउने काममा सभा लाग्नु पर्दछ ।

स्वभाविक हो, कुनै पनि काम गर्न अर्थ चाहिन्छ । त्यसकारण सभाको आर्थिक स्थिति मजबूत बनाउने सम्बन्धमा मेरो सुझाव के छ भने पहिले, थारु कल्याणकारिणी सभाले आफ्नै समुदायमा अर्थ संकलन अभियान शुरु गरने दोस्रो, सदस्य संख्या विस्तार गर्ने, तेस्रो आफ्नो जनगणना आफै संकलन गर्ने, चौथो थारु पत्रपत्रिकाहरुको प्रकाशन र वितरण गर्ने, पांचौ थारु सांसद, शिक्षक तथा कर्मचारीहरुबाट चन्दा संकलन गर्ने, छैठो बचत कोष खडा गर्ने, सातौ थारु संस्कृति भाषा अध्यनार्थ, गरिवी न्यूनिकरण र कमैया उन्मुन गर्न, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु र शिक्षण -प्रशिक्षण इत्यादि संचालन गर्ने तथा राजनीतिक कार्यक्रम गर्न राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थाहरु र नेपाल सरकार र अन्य दातृ संघसंस्थाहरुमा आर्थिक सहयोगको लागि प्रस्तावनाहरु पेश गर्ने र सो काम इमान्दारी साथ सम्पन्न गराउने । आठौं, आजीवन सदस्यतालाई विस्तार गर्ने हो भने मलाई लाग्छ थारु कल्याणकारिणी सभा पक्कै आर्थिकरुपमा सबल हुन सक्छ । यसरी अर्थ संकलनको लागि यी मध्ये केही कामहरु हाम्रा पूर्वाधिकारिहरुले पनि गरे तर सफल भएनन् किनकि कर्मठ, इमान्दारिता र लगनशिलरुपमा कसैले पनि सो काम गरेनन् नत्र अहिलेको समयमा यति राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्थाहरु छन् कि यसको रुपैया खर्चा हुन सकेको छैन् । उसले रुपैया कसलाई दिउ भन्ने मान्छे भेटिराखेको छैन् । यहाँ मात्र एक चीजको कमी छ इमान्दार, सक्षम तथा कर्मठ र प्रतिवद्घ ब्यतिको ।

मेरो ब्यक्तिगत तर प्रमाणित अनुभव अनुसार तराईमा अरु जातका मांग्नेहरु पनि थारु समुदाय बाहेक अरु समुदायमा मांग्न जादैनन्, उनीहरुले केवल थारु समुदायमै मात्र मांगेर प्रयाप्त कमाई गर्न सकिराखेका छन् तर हामी थारु पदाधिकारीहरुले थारु समुदायको विकासको लागि थारु समुदायबाट पनि केही अर्थ संकलन गर्न न सक्नु के कही न कही, कुनै न कुनै हामी पदाधिकारीहरुको पनि कमी-कमजोरी होइन र ? यो एउटै कमजोरी के हो भने विश्वास दिलाउन न सक्नु । यदि हामीहरुले यी कुराहरुमा थारु तथा अन्य राष्ट्रिय, अन्तरराष्ट्र्रिय दात्री संघ संस्थारुलाई आफनो काम र इमान्दारीताबाट विश्वास दिलाउन सक्यौं भने मलाई लाग्छ थारु कल्याणकारिणी सभालाई अर्थ/ रुपैयाको समस्या हुदैन र नवौ विकल्पको रुपमा म के भन्न सक्छु भने पहिचानका यी छवटै तत्वहरु थारु कल्याणकारिणी सभाले नै गर्नु पर्छ भन्ने जरुरी छैन । यहाँ विभिन्न थारु संघसंगठनहरु छन्, जसमा कोही थारु अनुसंधान तर्फ त कोही थारु संस्कृति तथा थारुभाषा विकास तर्फ त कोही गरिबी न्यूनिकरण र कमैया उन्मूलन त कुनै संस्था राजनीतिक चेतना अभिवृद्धि र शिक्षण प्रशिक्षण तिर लागेका छन् भने त्यस किसिमले थारु कल्याणकारिणी सभाले अन्य थारु संघ-संगठनहरुसंग समन्वय गरी ती संघसंस्थाहरुलाई परिचालन गरेर आफ्नो तथा थारुको पहिचान सुनिश्चित गर्न सकिन्छ र यदि थारु कल्याणकारिणी सभा वा अन्य थारु संघसंस्थाहरुले सो न गरी थारुको मौलिक पहिचान यस पटक पनि सुनिश्चित गर्न सकेन भने थारु गाद्दी जस्ता प्रभुत्वशाली संस्था त देखादेखि मृत्युवरण गर्यो भने थारु कल्याणकारिणी सभा वा अन्य थारु संघ-संगठनहरुको पनि त्यस्तै विचलन र विस्थापन नहोला भन्न सकिन्न …………….अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.