दमन समस्या को निकास होइन।

-दिलबहादुर थारू

केही समय खुशी देखिएकाहरु अहिले थाम (थारू, मधेशी) आन्दोलनले गर्दा दुःखी देखिएका छन् । बाहिर देखावटी अनुहार हँसिलो बनाउन खोजे पनि उनीहरुको चेहरा मुर्झाएको छ । यस्तो हुनुको मूल कारण परिवारका आफ्नै सदस्य रुष्ट र असन्तुष्ट हुनुले हो । परिवारका आफ्नै सदस्य दुःखी भएपछि घरका मुखिया र मुखियाका सन्तानहरुले देखावटी रुपमा चेहरा जति हँसिलो बनाउन प्रयास गरे पनि भावभंगीले स्पष्ट हुनेरहेछ, भएको त्यही हो ।

आज मधेशीहरुले आन्दोलन गरिरहेको सय दिन नाघिसक्यो, थारूहरुको आन्दोलन एक सय दश दिन भन्दा बढी भइसक्यो । तर थारूहरुको भन्दा मधेशीहरुको आन्दोलन सशक्त छ, बलिदानीपूरर्ण छ अहिले । थारूहरुको आन्दोलन पहिलेको भन्दा अहिले सुस्त भएको छ । सुस्त हुनुको मूल कारण आन्दोलनमा रहेका एमाओवादी र फोरम लोकतान्त्रिक सरकारमा जानु र सरकारले बढी दमन गर्नुले हो । यसमा शंका गर्न आवश्यक छैन । तर सुस्त हुनु र आन्दोलन सकिनु फरक कुरा हुन् । आन्दोलन सुस्त भएको छ, सकिएको छैन ।

सहमति पुरा भयो त ?
सरकारमा रहेका दलहरुका सांसदहरुलाई उनीहरुको नैतिकताले सदनमा नाराबाजी गर्न दिइरहेको छैन, नैतिक बन्धनले बाँधिएका छन् । सरकारमा गएकै कारण जनस्तरमा अहिले प्रश्न उठेको छ कि फोरम लोकतान्त्रिकले गरेका ८ बुँदे सहमति पुरा भयो त ? समय सीमा के हो ? सहमति कार्यान्वयन नभए पनि फोरम लोकतान्त्रिक सरकारमा बसिरहन्छ ? फोरम लोकतान्त्रिकले सरकारमा जानुको कारण प्रष्ट पायो, पारेन थाहा छैन, तर सरकारमै गएको कारण बारा, पर्सा, सिराहा, सप्तरीका तमाम नेता तथा कार्यकर्ता पार्टी परित्याग गरेको समाचारमा आयो । यसले फोरम लोकतान्त्रिकलाई पक्कै पनि सोच्न बाध्य पारिरहेको होला ।

त्यसैगरी एमाओवादी दलले उठाएको जातीय स्वशासन र आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेशको नारामा बशीभूत भएर यो देशमा एक दशक बढी जनयुद्ध चल्यो । जसमा १५ हजार भन्दा बढी नागरिकले ज्यान गुमाए । जनयुद्धमा दशौ हजारलाई मर्न र मार्न लगाउने एमाओवादीले थारूहरुले हामीलाई हाम्रो क्लष्टरमा मात्र राखिदिनुस्, हामीलाई नफोडिदिनुस्, हामीलाई तिमीहरुले फलाकेको जातीय स्वशासन चाहिंदैन भन्दा पनि अनसुना गर्न मिल्छ ? एमाओवादीमा यदि रत्तिभर पनि नैतिकता छ भने यतिबेला आन्दोलनमा रहेका जाति, समुदाय, बर्गको आवाजलाई अनसुना गर्न मिल्दै मिल्दैन । किनकि पहिले युद्धमा संलग्नता तिनैको थियो, जो राज्यबाट बहिष्कृत थिए । आज पनि संसारको सबैभन्दा उत्कृष्ट प्रचारित संबिधानबाट तिनै जाति, समुदाय, बर्ग असन्तुष्ट छन् र आन्दोलित छन् । ५५ जना जतिले बलिदानी गरिसके ।

भोट बैंक मात्र सम्झिने
ठूला दलले जो होचो, उसैको मुखमा घोचो को नीति अंगिकार गरेका छन् । तराईलाई आफ्नो ठान्ने, तर तराईका थारू लगायतका आदिबासी जनजाति, मधेशी, मुश्लिमलाई मात्र भोट बैंक सम्झिने, दोश्रो दर्जाका नागरिक सम्झने, अधिकार दिन नचाहनेमा अहिले एक नं. मा एमाले, दुई न.ं मा काँग्रेस, त्यसपछि अरु देखिएका छन् । तर यिनी बिना अहिले न संबिधान संशोधन हुने अबस्था छ, न त पुनर्लेखन नै । समस्या समाधानमा ३ दलको मेलमिलाप, सहमति, ईच्छाशक्ति नभएसम्म समस्या समाधान हुन गाह्रो नै छ । समस्या समाधान गर्ने वा नगर्ने चाबी यिनको हातमा छ । त्यसैले समस्याको कारक पनि यिनै हुन् भन्दा फरक पर्दैन ।

यथार्थ के हो भने घरको कचिङ्गल घरभित्रै ठामठुम पार्नुपथ्र्यो । घरमूली, तिनका सन्तानहरु र आसेपासेहरुले नरमगरम मिलाएर असन्तुष्टहरुलाई सन्तुष्ट पार्न सक्नुपथ्र्यो, तर प्रयास भइरहेको छैन । कचिङ्गलले छिमेकमा रहेका दुई परोसीका निद्रा भंग हुन पुग्यो । एउटा भलादमी पाराले चूप रह्यो, भने अर्को चाहिं रात दिन के कचकच गर्छौ यार, मिलेर बस भनी मुख खोलिहाल्यो । अब घरमूली, घरमूलीका सन्तानहरु, तिनका नातेदारहरु, तिनका हितैषीहरु परोसीमाथि खनिंदैछन्, बाझिंदैछन्, गाली गर्दैछन् भएको त्यही हो ।
तर हामीले बिस्र्यौं कि आपसमा नमिलेसम्म परोसीलाई गाली गरेर समस्या समाधान हुँदैन भन्ने कुरा । घरमूलीले घरका अन्य दाजुभाईहरु, तिनका परिवारलाई माया ममता र अंश भागको उपभोगको अधिकार नदिएरै आपसमा मिलेको र राम्ररी परिवार चलेको इतिहास छैन । मेलमिलाप बिना परिवारको उन्नति र प्रगति भएको पनि कहीँ छैन ।

आज देशमा घरमूली, घरमूलीका सन्तानहरु, तिनका आसेपासेहरु अन्तरक्रिया, गोष्ठी, सम्बाद, सभा, सम्मेलनमा बोलेर, मिडियालाई प्रयोग गरेर आफ्नै अन्य भाईहरुलाई दमन गर्न कम्मर कसिरहेका छन् । साथै परोसीहरु र जान्ने सुन्ने, मान्यगणहरुलाई हामी जे गयौं, ठिकै गरेका छौं, मिलाएर राखेका छौं भनी भ्रम छरिरहेका छन् । तर अन्यायमा परेका असन्तुष्ट सदस्यहरु पनि सँगसँगै, पछिपछि जाँदै त्यो कुराको खण्डन गरिरहेका छन् र भनिरहेका छन् कि हामीलाई अझ पनि अन्याय भएको छ, जालझेल भएको छ, हामी मान्दैनौं । यो अबस्थामा भारत होस् या चीन या संसारका कुनै देश होस्, संयुक्त राष्ट्र संघ होस्, कोहि पनि एकपक्षीय ढंगले घरमूली र तिनका सन्तानको पक्षमा वकालत गर्नै सक्तैनन् । कि कि परिवारमा अपहेलित सदस्य पनि अधिकारका लागि उनीहरुसँगै पुगिसकेका छन् ।

सीमांकनमा अड्किएको कुरा
झगडा सीमांकनमा अड्किएको छ । देशका घरमूलीले अमिनै नबोलाई आफै अमिन भएर ६ प्रदेशको घोषणा गरे, संघीय आयोगको आवश्यकता परेन, सगोत्रीहरुले तीन, चार दिन आन्दोलन हुँदा, प्रदेश संख्या ६ बाट ७ पुग्यो । संघीय आयोग चाहिएन, अनि थारू र मधेशीहरुले सीमांकनको कुरा गर्दा संघीय आयोगको कुरा गर्नुले यिनको असली नियत, चेहरा प्रष्टिएको छ । त्यो नियत र चेहरा, परोसीहरु र संयुक्त राष्ट्र संघ सबैलाई राम्ररी थाहा छ । घरमूली र तिनका सन्तानका कुरा पनि उनीहरु बुझेका छन् भने अन्यायमा परेका परिवारका असन्तुष्ट सदस्यहरुका कुरा पनि उनीहरु बुझेका छन् ।

घर झगडा चरमचूलीमा पुगेको छ, स्वार्थका कारण सदाबहार शासन सत्तामा बसेकाहरु, सबैको अधिकार खाइपाई आइरहेका घरमूलीका सन्तानहरु पनि अधिकार चाहियो भनेर किचलो गरिरहेका छन् । उनीहरु अन्यायमा परेका आफ्नै दाजुभाईहरुलाई अधिकार दिन, सम्मान गर्न हिच्किचाइरहेका छन् । न्यायलाई आत्मसात गर्नुको साटो दुनियाँलाई बेबकूफ बनाउन भएभरको शक्ति खर्च गरिरहेका छन् । उनीहरुको प्रचार अनुसार कहिले राष्ट्रियता संकटमा पर्दैछ, कहिले देश बिखण्डनतिर जाँदैछ । तर दुनियाँ यति अगाडि गइसकेको छ कि उ यिनका कुरा, तर्क सुनेर पनि लज्जित भइरहेको छ । आफू नाच्न जानिरहेका छैनन्, आँगन टेढो छ भनी दोष दिइरहेका छन् । त्यतिले पुगेको छैन, आफ्नै अन्यायमा परेका दाजुभाईहरुलाई बिखण्डनकारी भनिरहेका छन् ।

घरमूलीको अन्यायी बोली
घरमूलीको अन्यायी बोली, ब्यबहारले एकै घरका सदस्य मधेशी, थारू, जनजाति, दलितको स्वर एक भएको छ । ब्यक्तिगत रुपमा कोही कतै समर्थन गर्नु बेग्लै कुरा हो, तर संस्थागत रुपमा आदिवासी जनजाति महासंघ, दलित गैर सरकारी संस्था महासंघ पनि बर्तमान संबिधानको बिरोध गरिरहेको छ । यस अबस्थामा अन्यायमा परेकाहरुको मेलमिलाप भएको देखेर जलन हुन्छ भने कसको भन्नु के छ र ! अधिकार नदिएरै दमन गर्छु भन्छौ भने पनि केहि छैन । तर दमन, समस्याको निकास होइन, सत्य यही हो । समस्या समाधानको सही उपाय परिवारमा रहेका सबै दाजुभाईबिचमा माया, ममता, अधिकारको बाँडफाँड गर्नु र आपसमा मिलेर बस्नु नै हो ।

दमन यदि समस्या समाधानको उपाय भएको भए अधिकारको लागि मधेशमा ५५ जना नागरिक मरेपछि, सयौंको संख्यामा घाइते भएपछि भैहाल्थ्यो । मास उर्लेर आउने थिएन । कैलालीमा ५८ जनामाथि मुद्दा चलाएपछि, २१ जनालाई कारागारमा थुनेपछि, प्रहरी हिरासतमा राखेपछि समस्या समाधान भैहाल्थ्यो । तर आन्दोलन रोकिएको छैन । पहिलेको थारू भएको भए आन्दोलन सकिन्थ्यो, तर त्यस्तो छैन । उनीहरु कारागारभित्रै पनि बडो साहसका साथ भनिरहेका छन्, हामीलाई भित्रै सड्न दिनोस्, तर आन्दोलन नरोक्नुस् । म सलाम गर्छु ती बीर शहिदहरुलाई जसले तराई मधेशको अधिकारको लागि बलिदानी गरिरहेका छन्, जसले थारूहरुको अधिकारका लागि तानाशाही सरकारसँग लडिरहेका छन्, गिरफ्तारीमा परिरहेका छन् र कारागार थुनामा बस्न बाध्य छन् । के सय बर्ष अगाडिको तराई मधेश, सय बर्ष पछि पनि त्यस्तै रहने हो ? सय बर्ष अगाडिका मधेशी, थारू सय बर्षपछि पनि त्यस्तै रहने हुन् ? अनि थारू र मधेशीहरुलाई भारतले उचालेको भन्न मिल्छ ? थारूहरुलाई मधेशीहरुको बहकाउमा लागेर आन्दोलन थालेको भन्न मिल्छ ?

छोरी कुटेर बुहारी तर्साउने काम
साध्यबहादुर भण्डारी, चित्रबहादुर केसी, सीपी. मैनाली, भीम रावल, रमेश लेखक जस्ता संकीर्णवादीहरुले तराईमा २ प्रदेश माग्दा बिखण्डन हुन्छ, सुरक्षास्थितिमा खतरा हुन्छ भन्नु के हो ? थारू र मधेशीहरुलाई बिखण्डनकारी भनेको होइन ? शासकहरुको सोच, बिचार हामीले सोचेको भन्दा कति गुणा निच रहेछ भन्ने कुरा यतिबेला प्रष्ट भएको छ र जिन्दगीमा पहिलो चोटी थारूहरु यति दुःखित भएका छन् । शासकहरुलाई थाहा रहेनछ कि नवलपुर, सुस्ता मिचिंदा को अगाडि सर्छ ? सिक्किमको कुरा गरेर राष्ट्रबादी भएको भ्रम नछरे हुन्छ । यो छोरीलाई कुटेर बुहारी तर्साउनुबाहेक केही होइन । त्यत्तिबेलाको सिक्किम स्वतन्त्र थियो, त्यहाँका सांसदहरु, ब्यबस्थापिका संसदले निर्णय गरेर कसैमा बिलय गराउन सक्ने हैसियत राख्थ्यो । तर तराई स्वतन्त्र देश होइन । नेपालका शासकहरुका चरनका रुपमा प्रयोग हुने, आन्तरिक उपनिबेशको रुपमा ब्यबहार पाउने, शोषण र दमन पाउने समथर भूभाग हो । थारू र मधेशीहरु त्यही धर्तीमा देश होइन, २ प्रदेश मागेका मात्र हुन् । जातीय स्वशासन होइन, सबैको शासनको, समानुपातिक समावेशीको, समानुपातिक निर्वाचन प्रणालीको माग, जनसंख्याको आधारमा निर्बाचन क्षेत्रको माग मात्र गरेका हुन् ।

त्यसैले, नक्कली राष्ट्रबादको भ्रम छरेर, दमन गरेर समस्याको समाधान हुँदैन । आफू आपसमा नमिल्दासम्म बाहिरकालाई गाली गर्नु न्यायोचित हुँदैन । मेलमिलाप र एकताले मात्रै बाहिरियासँग लड्न सकिन्छ । मेलमिलाप र एकता हुनलाई अधिकार, माया, ममताको सही बाँडफाँड र आपसमा बिश्वास हुनुपर्छ । यदि कसैले थारू र मधेशीलाई बिखण्डनकारी देख्छ, तराईलाई २ प्रदेशमा बाँड्दा सुरक्षाको हिसाबले खतरा देख्छ भने थारू र मधेशीले पनि देख्ने त्यही हो । मान, सम्मान एकोहोरो हुँदैन, दोहोरो हुन्छ । अहिलेसम्म थारू र मधेशीले गल्ती गरेका छैनन् । हालसम्म असमान सन्धि सम्झौता गर्ने, नागरिकता बाँडफाँड गर्ने गल्ती, जसले अढाईसय बर्षसम्म शासन गयो, उनीहरुले नै गरेका हुन्, थारू, मधेशीले हैनन् ।

अहिले फेरी पुलिस, प्रशासन, सेना लगाएर, दमन गरेर समस्या समाधानको कुरा आइरहेको छ । त्यसले केही समयको लागि थामथुम गर्न सकिएला, तर स्थायी समाधान त्यो हुँदै होइन । जसको पुलिस, सेना, प्रशासन वा राज्यमा कोही छैन, उसलाई भुट्न सजिलो होला, तर स्थिति बिग्रियो भने सम्हाल्न धेरै गाह्रो होला । किनकि राज्यप्रति उसलाई बिश्वास छैन, अपनत्व छैन । उ यही बुझ्दछ कि पुलिस, सेना उसलाई र उसको समुदायलाई थिचोमिचो र दमन गर्ने निकाय हो । यसले समस्या झन बल्झिन पुग्नेछ र हिंसाउन्मुख हुन सक्नेछ । राज्य यस्ता कुराप्रति गम्भिर हुनुपर्छ । दमन, समस्याको निकास होइन । चेतना भया ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.