फेनफेन आइ हमार गाउँ भादा ! (हाम्रो गाउँ भादा फेरिफेरि आउनु !)

Tharu community women performing cultural song and dance in Bhada Homestay
Tharu community women performing cultural song and dance in Bhada Homestay

[Blog by Raman Paneru Original Link : http://bit.ly/1Kzm2T0 posted with permission]

एकदिने होम स्टे सकिएपछिको विहानी प्रस्थानको तयारी हुँदै थियो । गाउँको चोखो आतिथ्यले विभोर भएको मनमा बसाइ लम्ब्याउने सुर भएपनि विविध कार्य व्यस्तताका कारण त्यसो हुन सक्ने स्थिति थिएन । त्यसैले विहानको नास्ता खाएर प्रस्थान गर्ने सुरमा सबै थिए । विहान सबेरै चिया र स्थानीय परिकारहरुको स्वाद लिँदै विदा हुने तरखरमा थियौं । एक रातको बसाइले मनमा निकै कुराहरु उब्जीएका थिए । संस्कृति माथि परिरहेको आधुनिकताको प्रभावले गर्दा सांस्कृतिक पहिचान नै गुम्न लागेको अहिलेको स्थितिमा यसरी संस्कृति संरक्षणलाई व्यावसायिक रुप दिने प्रयासलाई जति सरहाना गरे पनि कम होला । थारु संस्कृतिको बारेमा जान्न इच्छुकहरुका लागि र आफू बसेको भूमिको इतिहाँस जान्न चाहनेहरुका लागि भादा अद्वितीय गन्तव्य हुन सक्छ । थारु जातिहरु मात्रै बसोबास गर्ने भादा गाउँ आफैमा थारु संस्कृतिको संग्राहलयको रुपमा त छँदै छ त्यसको साथसाथै औलोको राज्य समाप्त गरेर यस तराईं क्षेत्रमा मानव बसोबासको सम्भावना देखाउने थारु समुदायको इतिहाँस, यस क्षेत्रको इतिहाससँग पनि गाँसिएको छ ।
कुमाउका इतिहास नामक एक हिन्दी पुस्तकमा उल्लेख भए अनुसार थारु जातिको परिचयलाई औलो माथि विजय प्राप्त गरेर तराईंमा आवादी सुरु गर्ने जातीका रुपमा उल्लेख गरिएको बाट पनि यस क्षेत्रको इतिहाँसको साक्षी चौधरी समुदाय भएको पुष्टि हुन्छ । प्राय गरेर शरद ऋतुको अन्ततिरमा विभिन्न संघ संस्थाहरुले बनभोज आयोजना गर्ने चलन निकै भइ सकेको छ । भादामा होम स्टेको विज्ञापन स्थानीय एफएमहरुले बजाएको धेरै भइसकेको थियो । त्यसैले यसपालि बनभोजको लागि गन्तव्य छनोटको क्रममा भादा गाउँ पर्‍यो । विविध जिज्ञासाहरुका साथ हामी निकै उत्साहित भएर एक नौलो सोचका साथ संचालित भादा गाउँको भ्रमणमा सरिक भयौं । धनगढी सदरमुकामबाट करीब १५ किमीको (राजमार्गको बाटो अलि लामो पर्छ) दुरीमा पर्ने गाउँका बारेमा धेरै कुराहरु सुनिसकेपछि त्यहाँ जाने र नयाँ अनुभव संगाल्ने कौतुहलताले सबै जना उत्साहित देखिन्थे । त्यसै उत्साह र कौतुहलताले बसको यात्रा सकिएको कसैले चालै पाएनन् । सबैजना भादामा प्रवेश गर्ने वित्तिकै आफ्ना अनुमान गरे अनुरुपका भादाको चित्रहरुसँग वास्तविक भादाको चित्र दाँज्न थाले ।
गाउँ प्रवेश गरेपछि थारु संस्कृति अनुरुप अतिथि संस्कारका लागि सबै जना पाहुनालाई उनीहरुले भव्य स्वागत गरे । पहिले देखि नै उनेर राखेका हजारी फुलका मालाहरु पहिर्‍याउने क्रम सुरु भयो । ठेट थारु पोशाकमा सजिएका थारु महिलाहरुले अतिथिहरुलाई आत्मीय मुस्कानका साथ फुलमालाहरु पहिर्‍याइ स्वागत गर्दा सबैको मन गदगद भएको थियो । फूलहरु बिरलै देख्न पाइने यो समयमा सबैले घाँटिमा हजारीका माला लगाउन पाउँदा चकित अनि हर्षविभोर भए । कुनै ठूलो विजय प्राप्ती पछिको विजयोत्सवमा सरिक भएसरि हामी सबैको स्वागतमा कुनै कमी राखेनन् भादावासीले । हो पनि हामी नजिकको तिर्थ हेलाँ भन्ने लोकोक्तिले कोरेको साँध मिच्दै भादा भ्रमणका लागि आइपुगेका थियौँ । उनीहरुको स्वागत चलनचल्तिको सोचमाथिको विजयोत्सव झैँ पनि लाग्यो । अम्खोराको पानीले सुकेको आँत भिजाउँदै हामी उनीहरुले गर्न लागेको तयारी तर्फ नजर डुलाउँन थाल्यौं ।
उज्जर गोनीया(सेतो धोती), लाल विलाउज(रातो ब्लाउज) अनि कम्मरमा पेटी बाँधी नचनीयाँ (नृत्याङ्गनाहरु) मघौटा नाचको लागि तयार देखिन्थे । मन्दरीया (मादल बजाउने व्यक्ति) पनि स्त्री नै थिइन् । अनि मन्दरीया सँगै एक अर्कि स्त्री पनि नृत्य गरिरहेकी थिइन् । मघौटा नाचमा जसको समुह भयो त्यसैले मन्द्रा(मादल) बजाउने चलन रहेछ । अर्थात पुरुषहरुले मघौटा नाच्ने बेलामा मादल बजाउने र बीचमा नाच्ने पनि पुरुषै रहने अनि स्त्रीहरुको नृत्यमा सम्पूर्ण रुपमा स्त्री नै संलग्न रहने । दाङबाट आएकाहरुले गाउने भएकोले यसलाई डंगुवा÷मघौटा भन्दा रहेछन् । दांग–देउखुरी तिर गाउने गित लगभग समान हुने रहेछ । मघौटा विशेष गरि माघका बेलामा गाउने गरिएको भएपनि अचेल बेला मौकामा स्वागतार्थ यस गितलाई गाउने चलन रहेछ । माघका बेलामा गाइने गितमा माघका परिकारका बारेमा अनि अन्य घरव्यवहारका बारेमा गाइँदो रहेछ । स्वागत कार्यका लागि गाइने गितमा विशेष गरेर स्वागतका शब्दहरु राखेर नै गाइँदो रहेछ । अनौठो पदचापमा नाचीरहेका नृत्यांगनाहरुका चालहरुलाई टिप्ने कोशिसमा टोलीका केही महिला साथीहरु अघि बढे । थोरैले मात्रै भेटाउन सके, धेरैले सकेनन् । मघौटाको स्वागत सबैलाई मन पर्‍यो । मघौटा नृत्यकै क्रममा दर्शकका अघि एक कपडा ओछाइयो । नृत्य मनपरेका जति सबैले आफूले सक्दो भेटी त्यहाँ राखे । अनि त्यसरी राखेको भेटीलाई नृत्य गरिरहेकी स्त्रीले पेट बाहिर पर्ने गरि उत्तानो निहुरिएर मुखले कपडामा राखिएका भेटीहरु टिपिन् । टोलिसदस्यहरु निकै रोचक मानेर हेरिरहे ।
मघौटा नृत्यको स्वाद भुल्न नपाउँदै हाम्रा अघिल्तिर फेरि अर्को टोली देखा पर्‍यो । मघौटा नृत्य भन्दा केही फरक पोशाकमा सजिएका महिलाहरुको समूह सखिया नाचका लागि त्यहाँ आइपुग्यो । सखिया नाचको लागि स्त्रीहरु लेहेंगा, ब्लाउज, गुरिया(पोते), गटैय्या माला(चाँदिका पैसा जडित माला), सुतिया(चाँदिको मोटो गलावरिपरि पुग्ने माला), बाँका(चाँदिले बनेको हातको तलपट्टिको बाला), बिजायत(चाँदिले बनेको हातको माथिपट्टिको बाला) र झिलमिलीया(चाँदिको लामो कानमा लगाउने झुम्का) लगाएर आँगनमा प्रस्तुत भए । नृत्यांगनाहरु आँगनमा लहरै लागेर उभिँदा आँगनमा नयाँ उमंग छायो । दुई जना मन्दरीया (पुरुष मादल बजाउनेहरु) र बाह्र जना नचनीया(नृत्यांगना)हरुले सखियाको गितमा नृत्य गर्न सुरु गरे । धोती, झुलुवा(सर्ट), गम्छा(काँधमाको रुमाल) र टोपी लगाएका पुरुष मन्दरीयाहरुले मादलको अनौठो तालसँगै आफ्ना पाउहरु मिलाउँदै जान थाले । स्त्रीहरु गित गाउँदै नाच्न थाले । पहिले त सिरीजाला जलथल धरती सिरीजी त गइला कइली कुसदाप सिरीजी त गइला अन्न कै विरुवा आइ त गइल खेतीक दिनुवा कव जइवे इस्रुहर बनाइ ? मोर लाग मयरी खाना बनाउ….. (यो संसारमा पहिले माटो उब्ज्यो त्यसपछि हरियो कुश पलायो त्यसपछि अन्नको विरुवा पलायो खेती गर्ने दिन आयो कति बेला तयारी (हलो र जुवा बनाउने) गर्न जाने ? आमा मलाई खाना बनाऊ….) त्यहाँका वृद्ध जमातले सखियाका बारेमा जानकारी लिन खोज्दा उनीहरुले माथि उल्लेखित गित गाएर सुनाए । उनीहरुले पहिले र अहिलेका थारु नृत्यमा आएको फेरबदलका बारेमा पनि जानकारी गराए । पहिले पहिले सखियामा कृष्ण जन्मेदेखि कंशबध सम्मका लीलाहरु गान गर्ने चलन थियो रे ! तर अहिले त्यो केही परिवर्तित भएको छ । ती गितहरुमा समसामयिक कुराहरुलाई समावेश गर्ने गरिएको छ । सखिया नाच बेलाबेलामा आयोजना हुने उत्सवहरुमा पनि देखाइने गरेकोले आजभोलि यसलाई परम्परागत शैलीमा भन्दा केही फरक पारामा नाच्ने गरिन्छ । परंपरागत रुपमा भने यो नृत्य कृष्ण जन्माष्टमी देखि दशैं सम्म नाच्ने गरिँदो रहेछ । अझै पनि त्यो परम्परा यदाकदा कायम छ । पहिलेपहिलेका सखिया नृत्यहरुमा गाइने गीत कृष्ण जन्माष्टमीमा फरक लयमा र दशैं सम्म आइपुग्दा फरक लयमा गाइने गरिन्थ्यो रे ! अहिले भने ती गीतहरुमा केही फेरबदल भएको छ ।
साँझ छिप्पिन लागि सक्दा उनीहरुले प्रस्तुत गरेको सखिया नृत्य ज्यादै रोचक थियो । सखियाको मज्जा लिन टोलिसदस्यहरु पनि पछि परेनन् । उनीहरुले समेत सखिया नाचको तालमा ताल मिलाउने सकभर प्रयास गरे । निकै रमाइलो भयो । सखिया नाचपछि फेरि नयाँ टोली आइपुग्यो । नयाँ टोली झुम्रा नाचको लागि उपस्थित भए । उनीहरु आइपुग्दा सम्म झमक्क साँझ परिसकेको थियो । नाच हेर्नेहरु साँझको बढ्दो जाडोका कारण न्यानो कपडामा बेरिएका थिए । झुम्रा नाचको ताल रन्किँदै गएपछि भने सबैमा एकाएक जोश थपियो । सबैले आफू सक्दो सिको गर्न थाले । नाचमा सहभागी स्त्रीहरुले थारु पोशाकमै नृत्य प्रस्तुत गरिरहेका थिए । केही जाडो हुन सुरु भइ सकेको भए पनि उनीहरु आधा पाखुरा सम्म छोप्ने ब्लाउजमै पुरा जोशका साथ नाचिरहेका थिए । झुम्रा नाच स्त्री÷पुरुष जो सुकैले पनि नाच्न सक्ने अनि यो जुनसुकै बेला पनि नाच्न सकिन्छ भनेर नाच हेरिरहेका पाका व्यक्तिहरुले जानकारी गराए । झुम्रा नाच विहान, दिउँसो र साँझ जुन बेलामा नाचिएको हो त्यही अनुसारको गीत गाइने चलन रहेछ । तत्पश्चात हामीहरुले होम स्टेका लागि छुट्टयाइएका घरहरुमा जानुपर्ने भयो । चारचार जनाको समूहमा बाँधिएर हामी फरक फरक घरहरुमा रातीको खानाका लागि गयौं । हामी पुगेका घरहरुमा हाम्रो आगमनलाई प्रतिक्षा गरेर बसीरहेका गृहिणीहरु हामी आएको चालपाउने बित्तिकै घरभित्र पसेर हाम्रो खानाको लागि तयारीमा जुटिन् । हामी घर छेउको अगेनामा आगो ताप्न बस्यौं । यसरी भादावासीहरुको आत्मीय आथित्य स्वीकार गरिसकेपछि उनीहरुले होम स्टेका लागि निर्धारित गरेका घरहरुमा जानको लागि छुट्टिनु पर्ने भयो ।
चार÷चार जनाको टोली बनाएर हामीहरु आ–आफ्ना घरतर्फ लाग्यौं । हामी उनीहरुले निर्धारित गरेको घरमा पुग्दा घरका गृहणीहरुले आत्मीय मुस्कानका साथ हामीलाई स्वागत गरेर आफू हाम्रा खानाको बन्दोबस्त गर्न तर्फ लागे । हामी घर छेवैको आगो ताप्नको लागि बनाइएको घरमा गयौं । अगेनाको छेउमा बुढी आमै र बुढा बा बसेका थिए । उनीहरुसँग हामीले भादा गाउँमा भएको परिवर्तन प्रतिको उनीहरुको धारणा जान्ने कोशिस गर्‍यौँ । उनीहरुले अपेक्षा गरे भन्दा बढि राम्रो भएको भनि बताए । होम स्टेका कारण धेरैले रोजगार पाइरहेको अनि गाउँ घरमा उत्पादित कृषि उत्पादनका लागि बजार खोज्ने झन्झटबाट पनि भादा बासी मुक्त भएको जानकारी गराए । उनीहरुको एकै गुनासो भादा सम्म पुग्ने सडक सम्बन्धि थियो । उनीहरुले भादा सम्मको सडक सुदृढिकरण गरिदिएको भए भादामा पर्यटक आगमनमा सघाउ पुग्ने थियो भनि उनीहरुले जानकारी गराए । कुराकानी गर्दा गर्दै हामीलाई खाना तयार भएको जानकारी प्राप्त भयो । हामीहरु खाना खानको लागि भित्र पस्यौं ।
धान राख्ने ठूलो भकारी अनि छेउछाउमा हाँस– कुखुरा आदि बस्ने बनाइएको ठूलो कोठामा पुग्यौँ । धानका ठूला डेहरीहरु (धान राख्ने माटाले बनेको ठूला भाँडा)ले विभाजन गरेर भान्छा कोठा र खाना खानको लागि छुट्टै कोठा बनाइएका थिए । घरमुली पनि हामी सँगै बसेर भोजनका लागि तयार भए । पहिले पाहुना जति सबैलाई हात धुनको लागि पानी र एउटा बाटा राखियो । त्यसपछि विस्तारै भात, आलु काउलीको तरकारी, सिन्कीको अचार, लोकल कुखुराको मासु अनि इच्छा गर्नेलाई मौव्वाको रक्सी ल्याइयो । कुखुराको मासु खानेले धेरै दिनपछि मासुको असली स्वाद पाएको जिकिर गरे । गाउँमै उत्पादित कुखुराको मासु स्वादिलो नहोस् पनि त कसरी ? अनि मौव्वाको रक्सी खानेले पनि एकै घुट्कीमा चाल पाए की बोतलका रक्सीमा नभएको दम त्यहाँका खोरीयामा छन् । आफू साकाहारी परियो अनि सिन्किकै स्वादमा रमाएँ । घरमा भन्दा तीन गुना बढि खाना खाएँ । जति खाए पनि अझै खान पाए हुन्थ्यो झैँ लाग्ने । सबै तुष्ट भए । बेलाबेलामा घरमुली स्वयं पनि सँगै खाना खाइरहेकाले प्रतिकृया लिइ रहेका थिए । हामीले मन खोलेर प्रशंसा गर्‍यौँ ।
खानपीन पछि फेरी टोली सदस्यहरु भेला हुने भनिएको थियो । सबै भेला भयौँ भेट हुने बित्तिकै सबैले आ–आफ्नो घरहरुमा ख्वाइएको फरक–फरक परिकारको बारेमा चर्चा गर्न थाले । कसैले सिन्किको अचार असाध्यै मनपर्‍यो भनि भन्न थाले भने कतिले ढिक्रिका कुरा गर्न थाले । अनि मौव्वा लागेकाहरुले पनि आफ्नै किसिमको प्रतिक्रियाहरु दिन थाले । आँगनमा सानो आगो बालियो । आगाको ओरिपरि डोरीका खाटहरु लगाएर सबैजना बस्यौं । सबैले गितहरु गाएर रमाइलो गरे । अबेर रातसम्म त्यसै गरि बस्यौं । मन त अझै बस्ने भन्थ्यो तर निन्द्राले मानेन । भोलिपल्ट विहान नास्ता खाएर भेट्ने भन्दै छुट्टियौं । सबै आ–आफ्ना फरक फरक घरहरु तर्फ लाग्यौं । घरका सदस्यहरु प्राय सुतिसकेका थिए । हामी आफ्ना लागि भनिएको कोठाहरुमा प्रवेश गर्‍यौँ । न्याना बिछौनाहरु हाम्रा प्रतिक्षामा थिए । पल्टने बित्तिकै निद्रा लाग्यो ।
विहान उठ्दा गाउँको स्वच्छ हावाले फोक्सामा आनन्द भयो । नित्य कर्म सिध्याएर गाउँको ताजा कागती हालेको चिया पियौँ । त्यसको लगत्तै विहानको नास्ताको रुपमा हामीलाई अघिल्लो रातको खाना खाएकै कोठामा उसै गरि लगियो । हाम्रा अगाडि क्रमैसँग ढिक्रि, बयरको अचार, मासको बरिया, आलुको तरकारी, खरिया (चामलको पीठो, मेथी, आदि मिलाएर बनाएको ) र रायोको साग खानको लागि दिइयो । सबैले मज्जा मानेर खायौँ । बरिया र खरिया हाम्रा लागि नौला थिए । ढिक्रिका बारेमा त थारु समाजसँगको सामिप्यताका कारण अनभिज्ञ थिएनौं । बयरको अचारको स्वाद पनि जिब्राको लागि नौलो थियो । समग्रमा रमाइलो भयो । भादाको एकदिने होम स्टेले थारु संस्कृतिसँग नजिकिने मौका दियो । एकदिने बसाइलाई हामीले थारु संस्कृतिसँग नजिकिने सबैभन्दा उत्तम अवसरका रुपमा लियौँ । बिदाइ गर्दा समेत उनीहरुले आउँदाको जस्तै फुलमालाहरु पहिर्‍याएर विदाइ गरे । आउँदाको आत्मीय मुस्कान अझै पनि मुहारहरुमा छँदै थिए । खालि एउटा आग्रह थपिएको थियो ः फेन फेन आइ हमार गाउँ भादा (हाम्रो गाउँ भादा फेरि फेरि आउनु) !

One thought on “फेनफेन आइ हमार गाउँ भादा ! (हाम्रो गाउँ भादा फेरिफेरि आउनु !)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.