बौद्धमार्गी थारु कसरी हिंसात्मक बने ? – कमल मादेन

थरुहट आन्दोलन भदौ ७ गते जब्बरजस्त आक्रमक र हिसांत्मक बन्यो । त्यहीदिनको आन्दोलन दौरानमा कैलाली टीकापुरमा भएको झडपमा एसएसपी लक्ष्मण न्यौपाने लगायत आधा दर्जन बढि प्रहरीको ज्यान गयो ।

आन्दोलनकारीले सुरक्षाकर्मीको ज्यान बरवर्तापूर्वक ढंगबाट लिए । त्यो संभवत् केही वर्षयता भएका हिंस्रक घटनामध्ये अघिल्तिर नै आउँछ होला । भदौ ८ गते कैलालीमा दिनदहाडै थारुका घर, होटल, रेडियो स्टेशन आदिमा आगो लगाइयो ।कर्फ्यू अवधिमा दिनभर थारु सम्पतिमाथि आगजनी भए । अर्कोतिर कैलालीका अतिरिक्त बाँके, बर्दिया, नवलपरासी, रुपन्देही लगायतका जिल्लामा कर्फ्यू र निषेधाज्ञा लागु गरिएको छ । त्यसैगरी कैलालीमा धरपकट गर्नेक्रम तिब्र रुपमा अघि बढेको छ ।
थारुले साउन १५ गतेयत पश्चिम तराईका जिल्लाहरुमा थरुहट प्रदेशको माग गर्दै आन्दोलन गर्दैआएका छन् । कैलालीमा भदौ शुरुदेखि नै कर्फ्यू र निषेधाज्ञा जारीहुँदै आएको थियो । आन्दोलनकारी निरन्तर कर्फ्यू र निषेधाज्ञाले अझ आन्दोलित र उत्तेजित हुँदै थिए । तिनीहरुले भदौ ७ गते कर्फ्यू र निषेधाज्ञा तोड्ने योजना बनाएका थिए ।
त्यसपछि कैलालीका केही सरकारी कार्यलयहरुमा थरुहट प्रदेशको बोर्ड झुन्डियाउने कार्यक्रम तय गरिएको थियो । तिनीहरुले अखण्ड वालाको बाधा अड्चन पुर्‍याउने अनुमान गरेका हुन सक्छन् । किनभने त्यसअघि नै अखण्ड र थरुहट कार्यकर्ताबीच हानाहान शुरु भई सकेको थियो ।
उता कर्णालीमा प्रदर्शनकारीले केही जिल्लामा पहिलेे प्रस्तावित प्रदेश ६ मा नरहने भन्दै सरकारी कार्यलयहरुमा चाहेको प्रदेश झल्किने बोर्ड टाँगेका थिए । त्यहाँका बासिन्दा कैलालीबासी जति आकोसित थिएनन् । तिनले उठाएका माग पनि कैलालीको जस्तो थिएन । त्यहाँ केवल असहज भूभागेल र विकासमा पछि पारिएको सन्दर्भ थियो । त्यसलाई सबैले सहानुभूति प्रकट गरे । सरकारी कर्मचारीले सहयोग गरेका थिए । प्रधानमन्त्री सुशिल कोइराला, केपी ओली र प्रचण्डले तिनका माग बमोजम सम्बोधन गरे । तिनका निम्ति भने जस्तै छुट्टै प्रदेश सीमांकन गरियो ।
यता कैलालीमा भने जातिगत रुपमा हेपिएको भन्ने सवाल हो । थारुलाई चिड्याउने गरी शेरबहादुर देउवाले अभिव्यक्ति दिए । त्यो पत्रपत्रिकामा खुबै प्रचार भयो । मधेसी नेताहरुले किस्सा नै बनाए कि देउवाले कञ्चनपुर, कैलालीलाई आफनो बिर्ता सम्झेका छन् । अर्कोतिर साउन २८ गते कांग्रेस सभासद अमरेशकुमार सिंहले कैलालीको भेलामा उत्तेजक भाषण गरे । त्यो भाषण प्रकरण संविधानमा छलफलको बिषय बन्यो । सभासद सिंहले थारुहरुलाई आफना अधिकार प्राप्तीका लागि हतियार उठाउन पनि पछि नपर्न सम्म भने ।
कैलालीमा साउन ३२ गते हजारौंको संख्यामा थारुहरु आन्दोलनमा उत्रिए । थरुहट तराई पार्टीका सभासद गोपाल दहितका अनुसार त्यो मासलाई मिडियाले अखण्ड पक्षको र्‍याली भनेर देखाई दियो । अखण्ड पक्षधर थरुहटसँग मतभिन्नता राख्छ । तिनीहरु कैलाली, कञ्चनपुरलाई थारुलाई दिनु हुन्न भन्ने मान्यतामा छन् । साउन ३२ गते केही ठाउँमा अखण्ड पक्षथरले थरुहटको सभामा जाने व्यक्तिहरुलाई अवरोध गरेका थिए । त्यसपछि थरुहट र अखण्ड पक्षधरका कार्यकर्ताहरु लड्न थालेका हुन् । अखण्ड पक्षधरले पनि धनगढी-कैलालीमा मोटरसाइकल र्‍याली निकालेर शक्ति प्रदर्शन गरेका थिए ।
प्रहरीको असावधानी : भदौ ६ गते ४ दलको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार गर्जिएको समाचार त्यहीदिन अनलाइनखबरमा आएको थियो । गच्छदारले अब थरुहट मात्र होइन सिंगो मधेस एक प्रदेशसम्मको लागि आन्दोलन हुनसक्छ भनेर जंगिएका थिए । गच्छदार गर्जनपछि शीर्षनेताको बैठक भंगभयो । त्यसअघिसम्म गच्छदार ३ दलका शीर्ष नेताहरुप्रति नरम देखिन्थे । गच्छदार जसरी पनि संविधान जारी गर्ने पक्षमा थिए ।
गच्छदार कुर्लनको तात्पर्य थारुहरु बढि आन्दोलित हुँदैछ भन्ने संकेत थियो । संविधानसभामा थारुको सबैभन्दा ठूलो पार्टी गच्छदारकै छ । उता कैलालीमा थारुहरु कि गर कि मरको स्थितिमा थिए । त्यो स्थिति अझै बढ्दैछ । कैलालीमा थारुको संख्या सबैभन्दा बढि छ । २०६८ को जनगणना अनुसार कैलालीमा थारु ५ वर्षअघि नै ३ लाख २२ हजार १ सय २० को संख्यामा थिए
थारुहरुले भदौ ७ गते कैलालीमा विशाल जनप्रदर्शन गर्ने र कर्फ्यू र निषेधाज्ञा तोडी अघि बढ्ने योजना बुनेका थिए । एक घर एक आन्दोलनकारीका रुपमा जनप्रदर्शनमा सहभागी हुन थरुहट/थारुवान संघर्ष समितिको उर्दी जारी गरेको थियो । त्यो उर्दीमा बर्दिया र कञ्चपुरबाट समेत सहभागी हुने जनाइएको भए त्यो दिन कैलालीमा कति थारु भेला हुन्थे होलान ? कति संख्यामा थारुहरु कैलालीमा भेला भए, त्यस्को खाका आउन सकेन ।
आन्दोलनकारी कफ्र्यू र निषेधाज्ञा तोड्न अघि बढेको थियो । तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेले स्थितिको सहि मुल्यांकन गर्न सकेनन् । त्यो भिड भनेको सदियौंदेखि पिल्छेका समुदायलाई अहिले पनि त्यस्तै व्यवहार गरिएको महशुस गर्नेहरुको थियो । त्यो भिड भनेको फगत गणतन्त्र जिन्दावाद,……. फलानो मुर्दावाद…. भन्ने खालको थिएन ।
त्यो, थारु समुदायले आफना ठाउँ र समुदायका लागि हक अधिकार माग गर्दा तिमी थारुहरुलाई थरुहट दिन्नौ भन्ने मान्यताका बिरुद्धमा उठेको आक्रोशपूर्ण भिड थियो । अन्ततः त्यसले दुःखत घटनाको रुप लियो । त्यो भिडमा सुरक्षाकर्मी पुरा हात हतियार सहित भिड्न गएको भए सयौं आन्दोलनकारी मारिन्थे । त्यसरी नै सुरक्षाकर्मीको स्थिति कस्तो हुन्थ्यो होला भनेर अनुमान गर्नु उपयुक्त नहोला । जे भए पनि प्रहरी प्रशासन हदसम्मको लापरवाही पूर्वक अघि बढेको देखियो । मोबाइलमा नेटवर्क समस्या भने जस्तै सुरक्षा संजालमा कमजोरी देखियो ।
थारु किन आन्दोलनमा उत्रिए ?
प्रदेशको सीमांकनको रेखा कोरिदा ४ दलले सहमति गर्दा गरेको सामथ्र्यका ४ र पहिचानका ५ आधारलाई पूर्णरुपमा लत्यिाइयो । पहिचानका ५ आधार मान्ने भनेर जसरी १६ बुँदे सम्झौतामा चर्चा गरियो । प्रस्तावित प्रदेश ५ मा थारुको पहिचानलाई बेवास्ता गरियो । थारुलाई पहाड जिल्लामा मगर जातिको बाहुल्यता रहेको जिल्लाहरुमा लगेर मिसाइयो ।
त्यसबाट थारुलाई सीमांकनको धर्सोले पूर्ण रुपमा बेवास्था गरेकोे महशुस भयो । थारुको बसोबासको भूगोल, अहिलेको जनसंख्या, तिनको भाषा, संस्कृति अस्तित्व अझ संकट पर्ने जस्तो गरी सीमांकनको धर्सो कोरिएको छ । प्रदेश थप्ने कामले थारुलाई अझ आन्दोलनमा होमिन प्रेरित गरेको छ ।
सरकारले कर्णाली वालाको चित बुझायो । थारु नेताहरुकै शव्दावलीमा भन्दा कर्णाली सजातीयहरुले गरेका आन्दोलन थियो । पर्साको ठोरी पनि सजातीय समूहको माग थियो । दुवैका मागलाई पुरा गरियो । तर, थारु सजातीय थिएनन् । त्यसैले थारुलाई बेवास्ता गरियो ।
थारुलाई चित दुखाइयो । पर्साका ठोरी बासिन्दाको गुनासो सुनियो । कैलाली र कञ्चनपुरका थारुलाई अझ हेपियो । निच देखाउने कृयाकलाप गरियो । सरकारले राजनीतिक सम्बाद र सहमति गर्नुपथ्र्यो । सरकार दमनको बाटो तिर लाग्यो । सरकार कर्फ्यू र निषेधाज्ञामा रमाउन थाल्यो ।

थरुहट भूभाग
थारु संघनरुपमा बसोबास भएको क्षेत्रलाई थरुहट भन्ने गरिन्छ । थारुको बसोबास झापादेखि कञ्चनपुरसम्ममै तराईका २० जिल्लामै छ । तिमध्ये कोशी पूर्वमा सुनसरी जिल्लामा थारु कुल जनसंख्याको ११.९८ प्रतिशत (९१,५०० संख्यामा) छ । प्रस्तावित प्रदेश २ को सप्तरी जिल्लामा ७३,६९७ अर्थात सप्तरीको कुल जनसंख्यामध्ये ११.५२ प्रतिशत छ । पर्सा, रौतहट, सिराहा, सर्लाही, चितवनमा जल्लामा क्रमशः ४५,६२०, ३०,८११, २३,३८६, २१,७७८, ६३,३५९ संख्यामा छन् ।
नवलपरासीदेखि कन्चनपुरसम्मका ८ जिल्लामा थारु अत्याधिक संख्यामा छन् । प्रतिशतका आधारमा सबैभन्दा बढि थारु बर्दियामा छन् । बर्दियाको कुल जनसंख्यामध्ये थारु ५३ प्रतिशत छन् । तर, संख्याको हिसाबले सबैभन्दा बढि थारु कैलाली जिल्लामा छन् ।
दाङदेखि कञ्चनपुरसम्मका ५ जिल्लामा थारुको संख्या कुल जनसंख्याको ३२.१५ प्रतिशत छ । ८ वटै जिल्लामा भने थारुको संख्या १८.०४ प्रतिशत छन् । थारु नेपालको चौथो धेरै जनसंख्या भएको जाति हो । थारु देशभर कुल जनसंख्याको ६.५६ प्रतिशत छन् । थारुले माथि उल्लेखित ८ जिल्लाको तराई र चुरे सहितको भूभाग थरुहट हुनुपर्छ भनेर आन्दोलन गर्दै आएको छ ।
तराईमा थारु
थारुहरु तराईका सबैभन्दा पुराना बासिन्दा हुन् । थारु कहिलेदेखि बस्दै आएका हुन् यकिन गर्न सकिन्न । केही लेखहरुमा जनाइए अनुसार थारु तराईमा रामापिथेकसकोपालादेखि नै बसेका हुन् । तर, त्यसलाई पुष्टि गर्ने आधारहरु भेटिएका छैनन् । रामापिथेकस नभए पनि थारुहरु आफूहरु तराईमा गौतम बुद्ध भन्दा अगाडिदेखि बसेको दाबी गर्छन् ।
अर्कोतिर थारु र गौतम बुद्ध एकै बंश भएको लिखतहरु भने भेटिन्छन् । ती दुवै शाक्यमुनीहरु थिए । कपिलवस्तुतिरबाट काठमाडौं छिरेका बौद्धमार्गीहरु अझै शाक्यकै रुपमा चिनिन्छन् । तराईका शाक्यमुनीहरु थारु भएका छन् । त्यसो हो भने थारुहरु पक्कै बौद्ध धर्मलवम्बी हुनु पर्ने हो । तर, थारुहरु अत्यन्त थोरै मात्रामा बौद्ध धर्मलवम्बी छन् । केही दशक यतादेखि थारुहरु बौद्ध धर्मलवम्बी हुन थालेका हुन् ।
थारुहरु किन बौद्ध धर्मलवम्बी भैरहन सकेनन् भन्ने पनि रोचक इतिहास छ । इतिहास कोट्याउँदा कपिलवस्तुको छिमेकी एक विरोधका नाम भएका हिन्दू राजाले कपिलवस्तुमा इसापूर्व ४/५ सय वर्ष अगाडि आक्रमणगरी ३० हजार बौद्ध धर्मलवम्बीहरुलाई मारेर एउटै तालमा फालेका थिए । थरुहट तराई पार्टी नेपालका सभासद गोपाल दहितको भनाई अनुसार ती मारिएका बौद्ध धर्मलवम्बीहरु सबै त्यसबेलाका थारु थिए । सभासद दहितले जनाए अनुसार त्यो ताललाई अहिले संग्रहवा ताल भनिन्छ । त्यो कपिलवस्तु जिल्लामा अझै छ ।
त्यसैरी नै मुश्लिमहरुले १३-१४ औं शताव्दिमा आक्रमण गरेका थिए । पटकपटक आक्रमणले गौतम बुद्ध जन्मस्थलपछि कैयौं शताव्दिसम्म ओझेलमा परेको थियो । गौतम बुद्ध नेपालमा जन्मेको भन्ने प्रमाण ओझेलमा परेको थियो । गौत्तम बुद्ध जन्मस्थल लुम्बनी पुरै घना जंगलले ढाकेको थियो । त्यो आजभन्दा मात्र १ सय १९ बर्ष अघि पत्ता लगाइएको हो ।
जनरल खड्ग शमसेर राना र जर्मन पुरातत्व विज्ञ एलोस एन्टोन फुअहे्रअ (१८५३-१९३०) ले लुम्बनी स्थित अशोक पिलर १ डिसेम्बर १८९६ मा पत्ता लगाएका हुन् । राणा र फुअहे्रअद्वयले गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित गरेका हुन् ।
हिन्दू र मुश्लिमहरुको आक्रमणले बौद्धमार्गी मात्र होइन, पुरै गौतम बुद्ध जन्म स्थल र बुद्धको वंश आसिन भएको दरबार क्षेत्र लोप भइसकेको थियो । भारतमा सरसस्वती नदी पुरै भूमिगत भएको छ । त्यो कहाँ बग्थ्यो भनेर अहिले उत्खनन् हुुँदैछ । त्यसरी नै बुद्धसँग सम्बन्धि कुराहरु लुम्बनीमा पनि बिगत केही वर्षदेखि उत्खनन् जारी छ ।
थारु शव्दः थेरवाद (Theravada Buddhism) बौद्ध धर्मको एक शाखा हो । त्यो मुलत नेपाल, श्रीलंका, कम्बोडिया, थाईलैण्ड, लाओस र म्यान्मारमा अवलम्बन गरिन्छ । नेपालमा काठमाडौ (आनन्दकुुटी बिहार, बलम्बु बिहार), पाटन, तानसेन, बुटवल, भोजपुर, धरान, बाग्लङ, नारायणघाट लगायतका बुद्ध बिहारहरुमा थेरवाद बौद्ध धर्मलवम्बीहरु छन् ।
थेरवाद मान्ने थेरवादीहरुलाई माया गरेर बोलाउँदा थेरु भन्ने गरिन्छ । थेरवादीहरुलाई थेरु भन्दाभन्दै त्यसबाट कालान्तरमा थारु शव्द उत्पति भएको हो मान्यता विकास भएको छ । त्यसले पनि के संकेत गर्छ भने पहिले तराईमा थेरवाद अवलम्बन गर्नेहरु प्रशस्त थिए होलान । विभिन्न कालखण्डमा हिन्दु र मुश्लिम आक्रमणका कारण थारुहरु बौद्ध धर्मलवम्बी भैरहन सकेनन् । आज तिनीहरु हिन्दू धर्म लवम्बी भएका छन् ।
राना थारु : थारु जातिले बोल्ने भाषा एकै भए पनि तिनीहरु ठाउँ अनुसार थोर बहुत फरक-फरक छन् । भाषा विज्ञानमा एकै भाषा तर थोरै फरक भए त्यसलाई भाषिका (Dilects) भनिन्छ । थारु भाषाका ९ भन्दा बढि भाषिका छन् । तिमध्ये कैलाली र कन्चनपुरका केही थारु समुदायले राना थारु भाषिका बोल्छन् । राना थारु भाषिका बोल्ने थारुहरु नै राना थारुहरु हुन् । राना थारुहरु आफूहरु महाराना प्रताप सिंहका बंशज हो भनेर आत्म गौरब गर्दछन् ।
महाराना प्रताप सिंह भारतको राजस्थान स्थित मेवारमा सन १५७२-१५९७ ताका शासन गर्थे । इतिहासकारहरुले एक युद्धमा महाराना प्रताप हारे पछि तिनका रानीहरु कैलाली कञ्चनपुरतिर लुकेर बसेका थिए भन्ने लेखेका छन् । तिनीहरु फर्केर जान सकेनन् । कालान्तरमा त्यही जन्मेका तिनका थारुतर्फका सन्तानहरुलाई राना थारु भनिन थालियो ।
रानीहरु राजस्थानको थार मरभूमि आसपासका क्षेत्रबाट आएका थिए । थार मरभूमिबाट रानीहरु आएका थिए । थार मरभूमिबाट आएका बासिन्दाबाट जन्मिएका सन्तानलाई कालान्तरमा थारु भन्न थालिएको हो भन्ने मान्यता पनि प्रशस्त मात्रामा पाइन्छ । राना थारुहरु भारतस्थित नैनीताल (उत्तराखण्ड), उत्तर प्रदेशको खेरी आदि ठाउँमा बसोबास छ ।
कथोरिया थारु : कथोरिया थारु भाषिका बोल्ने थारुहरु कथोरिया थारु हुन् । तिनीहरु मुलत कैलालीको हसुलिया, उदासीपुर, लाल्बोझी, तारापुर, जोशीपुर, मुनुवा, दुर्गाउली, पथरिया, चौहा, पहलमानपुर आदि क्षेेत्रमा बसोबास भएको पाइन्छ ।
दंगरुवा थारु : दंगरुवा थारु भाषिका बोल्ने थारुलाई दंगरुवा थारु भनिन्छ । तिनीहरु दाङ, बर्दिया, बाँके, सुर्खेत, कैलाली, कन्चनपुर, रुपन्देही र कपिलवस्तु जिल्लामा छन् । तिनीहरुलाई दाङगाहा, दाङगाली, दाङगोरा, दाङगुरा आदि पनि भन्ने गरिन्छ ।
कोचिला थारुः चितवन पूर्वका थारुलाई कोचिला थारु भनिन्छ । तिनीहरु मुलत सप्तरी, बारा, पर्सा, रौटहट, सर्लाही, महोत्तरी, उदयपुर र सुनसरी जिल्लामा छन् ।
लाम्पुच्वा थारुः मोरङमा बसोबास गर्ने केही थारुलाई चाम्पुच्वा थारु भनिन्छ । तिनीहरुको भेषभुषा अन्य थारुभन्दा थोरै फरक हुन्छ । लाम्पुच्वा थरुनीले पुच्छर जस्तो पहिरण लगाउने गर्छन् । त्यो पहाडे समुदायका महिलाले लाउने पटुकी जस्तो तर पछाडि पट्टि अलिकति बाहिर निस्किएको हुन्छ । लाम्पुच्वा थारुलाई सुनसरीमा मोरङगिया थारु भन्ने गरिन्छ ।
चितौनिया थारुः सिन्धुली, चितवन र नवलपरासीका केही थारुहरुलाई चितौनिया थारु भनिन्छ ।
पश्चुहान थारुः रुपन्देही र कपिलवस्तुका थारुलाई कतैकतै पश्चना थारु पनि भन्ने गरेको पाइन्छ ।
रौतार थारुः रुपन्देही र नवलपरासीका थारुलाई रौतार थारु पनि भनिन्छ ।
सोन्हा थारुःkamal-maden सुर्खेत जिल्लाका थारुहरुलाई सोन्हा थारु भनिन्छ ।
अर्जुन गुनरत्नेले ‘थारु र राज्य : प्रजातन्त्र, राज्य र जनजाति पहिचान’ (सन २००६) शीर्षक लेखमा ‘विभिन्न समुदायमा विभाजित सबै थारु एउटै पुर्खाका सन्तान हुन भन्ने पनि कुनै प्रमाण नपाइएको’ लेखेका छन् । गुनरत्ने थप लेख्छन-विविध कारणवश शताब्दीयौंदेखि तराईमा बसाइ सर्दैै आएका अनेक मानिसहरु मिसिएर थारु जातिको उत्पति भयो । अहिले थारुहरु मेची देखि महाकालीसम्मका तराई भूभागमा बसोबास गरेका छन् ।
संसदमा थारुः संंविधान सभामा जातिय हिसाबले सबैभन्दा बढि संख्या हुनेमा थारु तेस्रौ स्थानमा छ । थारु विभिन्न पार्टीवाट दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ १९ जना चुनिएका छन् । त्यसैगरी समानुपातिक तर्फ २३ जना सभासद छन् । वर्तमान संविधानसभामा थारु ६.९ प्रतिशत (प्रत्यक्ष र समानुपातिक मात्र) छन् । अघिल्लो संविधानसभामा थारु मनोतित संख्या सहित जम्मा ३६ जना (६.० प्रतिशत) थिए ।
त्यसैगरी २०४८, २०५१ र २०५६ को संविधान सभामा थारु सांसद क्रमशः ८.३, ६.८ र ३.९ प्रतिशत चुनिएका थिए । त्यसबेला संसदमा जम्मा २०५ सांसद हुन्थे । जनसंख्या प्रतिशत भन्दा बढि प्रतिशतकै दरमा थारु, सभासद हुँदैआएका छन् । २०५६ को चुनावमा मात्र जनसंख्या प्रतिशत भन्दा कम ३ं.९ प्रतिशत थारु सांसद/सभासद थिए । उसो त पहाडे बाहुन २०५१, २०५६ र २०४८ सालको संसदमा क्रमशः ४३.४, ३७.१ र ३६.६ प्रतिशत थिए ।
थरुहटको मागः थारुको आन्दोलन ३ वटा बुँदामा केन्द्रित छ । कञ्चनपुरदेखि नवलपरासीसम्म चुरेसहित तराईका ८ जिल्लालाई थरुहट स्वायत प्रदेश बनाउनु पर्ने थारुहरुले पहिलो माग हो । त्यो माग स्वीकार गर्न बिशेषगरी प्रधानमन्त्री सुशिल कोइराला र गृहमन्त्री बामदेव गौतमलाई प्रतिकुल हुने बताइन्छ । यस्तै सर्वसाधरणको बुझाईमा कञ्चनपुर, कैलाली जिल्लालाई पहिले प्रस्तावित प्रदेश ६ र अहिले ७ मा राख्न शेरबहादुर देउबा, लेखराज भट्ट, भिम रावलहरुको पनि उत्तिकै जोड छ ।
त्यसैगरी थारुहरुको दोस्रो माग ‘संघीय व्यवस्थापिका संसद र प्रदेश सभा जनसंख्याको अनुपातमा सदस्य संख्या र निर्वाचन क्षेत्र निर्धारण हो । ‘हरेक संरचनाको प्रत्येक तहमा संघीय र प्रदेशमा रहेका जातजातिको जनसंख्याको आधारमा प्रतिनिधित्व र रोजगारीको संबैधानिक सुनिश्चितता’ थारुहरुको तेस्रो माग हो । अहिले थारुले उल्लेखित ३ मध्ये पहिलो मागलाई प्राथमिकता दिएको छ ।
को-को छन् थरुहट आन्दोलनमा ?
थरुहट आन्दोलनमा मुलरुपमा थारु सभासद संघर्ष समिति, थारु कल्याणकारी समिति र थरुहट संयुक्त संघर्ष समिति छन् । त्यसका अतिरिक्त वैद्य माओवादीका थारु राष्ट्रिय मोर्चा (इन्द्रजीत थारु) र भानुराम थारुको थरुहट तराई पार्टी नेपाल पनि संलग्न छ ।
पाँच समुहले थरुहट/थारुवान संघर्ष समिति निमार्ण गरेका छन् । त्यो संघर्ष समिति झट्ट सुन्दामाथि उल्लेख भएको थरुहट संयुक्त संघर्ष समिति जस्तै भए पनि ती दुई फरक हुन् । पाँच वटा समूहबाट बनाइएको थरुहट/थारुवान संघर्ष समितिको संयोजक भने स्पष्ट तोकिएको छैन ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट कैलालीका सभासद रामजनम चौधरीले थारु सभासद संघर्ष समिति संयोजन गर्ने जिम्मा लिएका छन् । एमाले थारु सभासदहरु थरुहट आन्दोलनको बिपक्षमा छन् ।
रुपन्देहीका धनिराम चौधरीले थारु कल्याणकारिणी सभाको नेतृत्व गरेका छन् । उनी थारु कल्याणकारी सभाको अध्यक्ष पनि हुन् । थारु कल्याणकारिणी सभा थारुहरुको जातिय संस्था हो । थरुहट संयुक्त संघर्ष समिति मिनराज चौधरी र रमेश चौधरीले संयोजन गरेका छन् । त्यो समितिमा थारुसँग सम्बन्धित २२ वटा संघसंस्था आवद्ध छन् ।
सारांस
संविधान सभामा संशोधित संविधानको मस्यौदा उपर छलफल शुरु भएको छ । जति बहस गर्ने भनिए पनि हिजो (प्रचण्ड), आज (सुशील कोइराला) र भोलि (केपी ओली) का तीन प्रधानमन्त्रीहरुले नै कति थपघट गर्ने हो, त्यो तय गर्नेछन् । जनताले चाहे अनुसारको परिमार्जन त अब कतिसम्म आन्दोलन बढ्ने हो, त्यसले निर्धारण गर्नेछ । शीर्ष नेताहरु जनताको भावना होइन, आन्दोलनको ताप मात्र बुझ्छन् । प्रस्तावित प्रदेशको खाका सार्वजनिक गरिए यता देशले १५ जना जतिको शहादात प्राप्त गरिसकेको छ । शीर्ष नेताले अरु कति शहादात प्राप्त गर्न खोजेका हुन् ?

Source: Onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.