भर्चुअल दुनियाँका सेलिबि्रटी – शिवानी सिंह थारू

जब मोडल abaran1ले नेपाल टेलिभिजनको पर्दामा आउने चर्चित कार्यक्रम ‘मेरो गीत मेरो सन्देश’ छाडिन्, तब उनलाई धेरैले बिर्सन थालिसकेका थिए। तर, झन्डै एक दशकपछि सहरमा उनको चर्चा पुनः चुलिएको छ, सोसल मिडियाकर्मीको अवतारमा। नौं महिनाअघि त्रिभुवन विमानस्थल अध्यागमन एकाइका कर्मचारीकै मिलेमतोमा बलात्कारको सिकार बनेकी सीता राईबारे समाचार पढ्नासाथ उनलाई अचानक यति रसि उठेछ कि माइक्रोब्लगिङ् साइट ट्वीटरमा तत्कालै दुई हरफको प्रतिक्रिया लेखिन्, जुन यस्तो थियो, ‘लथालिंग देशका भताभुंग प्रधानमन्त्रीसित के सुरक्षा मगाई भयो ? बलात्कारीको लिंग काट्ने महिला स्क्वाड बनाउन पाए बरू राहत हुन्थ्यो।’

‘ग्ल्यामरस’ पृष्ठभूमिबाट आएकी उनको यो ट्वीटलाई लिएर सोसल मिडिया त मज्जैसँग तात्यो नै, मूलधारका पत्रपत्रिकाले पनि त्यसलाई आफ्नो खुराक बनाए। उनी सम्झन्छिन्, “कसैले मेरो मोडलिङ् पृष्ठभूमिसँग जोड्दै उसको ध्यान नै लिंगमा गयो भनेर उडाए भने अर्काथरीले त्यति धेरै आक्रामक नहुन सुझाए।” शिवानीले ट्वीट गर्नुअघि त्यसको प्रभाव त्यतिधेरै होला भन्ने कत्ति सोचेकी थिइनन्। उनलाई लाग्छ, यसअघि ग्ल्यामर पृष्ठभूमिसँग जोडेर धेरैले उनलाई कोमल हृदय भएकी ‘स्विट गर्ल’ मात्र सोच्थे तर त्यसलाई सोसल मिडियाले बदलिदिएको छ। भन्छिन्, “म वास्तविक जीवनमा यस्तै स्वभावकी हुँ, जुन सोसल मिडियाका कारण मानिसले बल्ल बुझिरहेका छन्।” तर, ट्वीटरमा आएदेखि उनले एउटा नयाँ तथ्य बुझेकी छन्। भन्छिन्, “महिलाका विचारमा केही बहस हुन थाल्यो भने मानिसहरू उसका व्यक्तिगत जीवनसँग जोडेर आक्रमण गर्छन्, जुन पुरुषहरूको हकमा त्यति धेरै हुँदैन।”

शिवानीका धेरैजसो ट्वीट राजनीतिक र सामाजिक कुरीतिसँग जोडिएका हुन्छन्, त्यसमा ‘ह्युमर’ (हास्य) भन्दा पनि आक्रोश, असन्तुष्टि र विरोधभाव बढी देखिन्छ। उनको बुझाइ छ, “समाज र व्यवस्थाप्रति मानिसमा धेरै आक्रोश छ। कसैले त्यो विषय उठाइदेओस् र ताली पिट्न पाइयोस् भन्ने सोच्छन् उनीहरू।” सायद त्यसैले पनि हो, धेरै नसोची लेखिएका ट्वीटले बढी प्रतिक्रिया पाइरहेका हुन्छन्। सकारात्मक कुरा उठान गरिएका विषय भने त्यति धेरै बहसमा नआउने उनको अनुभव छ। आगामी वर्ष उपन्यास निकाल्ने गृहकार्यमा रहेकी उनी ट्वीटरमा आएपछि लेख्ने कलाको पनि विकास भएको अनुभव सुनाउँछिन्। भन्छिन्, “गणितीय रूपमा शब्दलाई खेलाउन ट्वीटरबाट सिकिरहेकी छु।”
Follow Shivani at https://twitter.com/shivanitharu

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.