भलमन्सा थारू पुरुष मात्रै किन ?

थारू समाज पनि पितृसत्तामा अडेको छ

मैले सुँगुर पाल्छु । त्यसको मोलमोलाइ गर्ने अधिकार छैन । कुखुरा पाल्छु । त्यो सानो जीव बेच्ने अधिकार मलाई छैन । घरको सबै काम– भात पकाउने, भाँडा धुने, लिपपोत गर्ने, सबैको लुगा धुनेलगायत  सबै काम म गर्छु, तर घरको कुनै पनि निर्णय प्रक्रियामा म अदृश्य हुन्छु ।

निर्णय लिनमा आफ्नै शरीरमाथि मेरो स्वायत्तता छैन । प्रजननको निरन्तरता या नियन्त्रणको छनोट गर्न मलाई छुट छैन । मेरो प्रजनन अधिकार हामी बस्ने सामाजिक नियम, हाम्रा समुदाय, हाम्रा परिवारको अधिनमा रहन्छ ।

र पनि धेरै अनुसन्धानले बोल्दन् थारू महिलाहरू धेरै कुरामा स्वतन्त्र छन् । कथित उच्च जातीय छेत्री बाहुन महिलासँगको तुलनात्मक अध्ययनले यस्तो निष्कर्षमा पुग्न सकिन्छ होला पनि । जुन पूर्ण सत्य होइन ।

थारू महिलाको स्वतन्त्रताका केही आंशिक यथार्थ पक्कै छन् । जस्तो महिला मासिकश्राव भएका वेला हिन्दू संस्कारमा जस्तो थारू समुदायमा बार्ने चलन छैन । महिनावारी हुनु र नहुनुले थारू महिलाको दैनिकीमा केही पनि भिन्नता रहँदैन । महिनावारी हुँदा छुन हुने र छुन नहुने, भित्र बाहिर गर्नेजस्तो केही व्यवहार वा व्यवस्था छैनन् ।

थारू समुदायमा विधवा विवाहलाई सहज रूपमा लिइन्छ । जसलाई थारू भाषामा रांर भोज भनिन्छ । श्रीमान्को मृत्यु हँुदा हिन्दू महिलाले जस्तो जीवनपरन्त सेतो कपडा लगाउनुपर्ने सामाजिक सांस्कृतिक व्यवस्था छैन । तर, श्रीमान्को नाममा लगाइने चुरियाटिक्ली (चुरा र टिकुली)चाहिँ वर्जित छन् ।

थारू समुदायमा श्रीमान्को मृत्युपश्चात् श्रीमान्को भाइ (देवर)सँग परिवारले नै विधवा महिलाको विवाह गराइदिने चलन थियो । मेरो आजा (जुजुबुबा) बित्नु भएपछि मेरो आजी (जुजुआमा)को विवाह उहाँको देवरसँग गराइएको थियो । मेरो आजी आफ्नो देवर (श्रीमान्)भन्दा जेठी हुनुहुन्थ्यो ।

थारू समुदायमा भौंर पैठ्ना चलन रहेको छ । यो चलनअनुसार थारू महिलाले आफूले मन पराएको पुरुष आफ्नो घरमा भित्र्याउँछन् । विशेषगरी, श्रीमान्को मृत्यु भइसकेको एकल महिलाले श्रीमतीको मृत्यु भइसकेको एकल पुरुषलाई आफ्नो श्रीमान्को रूपमा भित्र्याउने गर्छन् । उक्त पुरुषको छोराछोरी भएमा ती बालबच्चा पनि अपनाउने चलन छ । कुनै अवस्थामा यसरी भित्र्याउने श्रीमान् अविवाहित पनि हुन सक्छन् । यो चलन दुर्लभ छ ।

थारू समुदायमा यस्ता केही चलन हुँदैमा थारू महिला स्वतन्त्र छन् भन्ने निष्कर्षमा पुग्नु जायज हुँदैन । ऐतिहासिकतादेखि असमानता भोग्दै आएका थारू महिलामाथि न्याय गर्दैन यस्तो विश्लेषणले । निष्कर्षमा पुग्नुपूर्व थारू महिलाहरूको भोगाइसँग निकटको सम्बन्ध रहनुपर्दछ ।

मैले मेरो आजी, हजुरआमा, आमालाई सुन्दै र देख्दै आएको छु । मेरा आफ्नै पनि भोगाइहरू छन् । मेरो सुनाइ, देखाइ र भोगाइको अनुभवमा थारू महिलाहरू कति दलनमा थिए र छन् भन्ने यथार्थ गवाही हुन् । भन्नलाई त भनिन्छ, आदिवासी समाज मातृसत्तामा निर्मित हुन्छ । यो निकै प्राचीन कुरा भएकाले होला, आजको थारू महिलाको अनुभव मातृसत्ताभन्दा निकै फरक रहेका छन् ।

मेरी आजी निकै जवान हुँदा नै मेरो आजा बित्नुभयो । आजीको विवाह उहाँको देवरसँग भयो । मलाई लाग्दैन कसैले पनि मेरो आजीको चाहना बुझ्यो होला, उहाँलाई केटा मन परेको छ÷छैन भनेर । कैयाँै विधवा महिलाहरूको विवाह देवरसँग हुँदा, महिलाको उमेर देवरको भन्दा निकै जेठो हुन्थ्यो । कैयौँ विधवा महिलाको विवाह १०/१२ वर्षको बच्चासँग गराइन्थ्यो । एक परिपक्व महिलालाई विवाह वा दोस्रो विवाह गर्दा केटा छान्ने स्वतन्त्रता थिएन ।

कृषि प्रणालीमा बाँचेको समाजले घरायसी र खेतीपाती सम्हाल्नका लागि मात्र बुहारी भित्र्याउने चलन थियो । आफ्नो जीवनसाथी आफैँले छनोट गर्ने अधिकारलाई परिवार र समाजले अस्वीकार गर्दथे ।

भौंर पैठ्ना चलनबारे सतही रूपमा सुन्दा पितृसत्तालाई क्या चुनौती दिएजस्तो लाग्छ । महिलाले पुरुषलाई भित्र्याउने कुरा पुरुषले महिलालाई घरमा भित्र्याएजस्तो सहज हुँदैन । यी दुईमा आकाश–धरतीजत्तिको फरकपन छ ।

भित्र्याउँदाका बखत घरभित्र गरिने संस्कार गर्दा घरको सबै झ्यालढोका थुन्नुपर्छ । गाउँका मान्छेले पुरुष भित्र्याउने घरलाई घेरा हाल्छन् । लौराले सुसज्जित गाँउलेहरूले त्यो घरको भित्ता र छानोमा ठटाउँछन् । घरमा नोक्सान पुर्‍याउँछन् ।

जबकि छोरी मान्छेलाई विवाह गरी भित्र्याउँदा गाउँभरिकालाई डाकेर भोज खुवाइन्छ । पुरुषलाई भित्र्याउँदा घरमा क्षति पुर्‍याइन्छ । ती पुरुष र तिनका सन्तानलाई बाँचुन्जेल हेयका दृष्टिले हेरिन्छ ।

मेरो हजुरआमाको पालामा भर्खर मात्र केही स्कुल खुलेका थिए । अर्काको घर जाने जात भनेर हजुरआमालाई स्कुल पठाइएन । हजुरबुबाले भने प्राथमिक तहसम्म पढ्न पाउनुभयो । मेरी आमाको समयमा पनि छोरीले घरको काममा सघाउनुपर्छ भन्दै स्कूल जान दिइएन । मेरा बाबाले क्याम्पस लेभलसम्मको पढाइ गर्नुभयो, तर त्यही घरमा हुर्किएकी मेरी फुपू भने स्कुल जान पाउनुभएन । एउटी फुपूलाई अर्काको घरमा काम गर्न (कम्लरी बन्न) पठाइयो । फेरि पनि यी त पारिवारिक कुरा भए । तर, यो केवल एउटा परिवारको सत्य कथा होइन । समाजको वास्तविकता हो यो ।

घरबाहिर हेर्दा थारू महिलाको स्थिति अझै भयानक छ । एकपटक मैले हजुरआमालाई सोधेको थिएँ, पहिले–पहिले कुनै महिला बलात्कृत हुँदा त्यो मुद्दा कसरी सुल्झाइन्थ्यो भनेर । उहाँको कुरा सुनेर म भावविह्वल भएँ । बलात्कृत हुँदा कुनै महिलाले उक्त घटना लुकाउन नसकेको खण्डमा गाउँको भलमन्सा वरघरलाई खबर हुन्थ्यो । अनि गाउँमा खेल (बैठक) हुन्थ्यो । उक्त खेलमा गाउँका पुरुष मात्र (एक घरबाट एक पुरुष अनिवार्य) उपस्थित हुन्थे । उनीहरूको निर्णय हुन्थ्यो बलात्कारीबाट डाँड लिने (फाइन तिराउने) । ऊ वेला रुपैयाँ पैसाको जमाना कम भएकाले डाँडका रूपमा सुँगुर, खसी आदि तिर्नुपर्ने । त्यसपछि सबै पुरुष मिलेर खाने । ‘का कर्ही, मेरो हजुरआमाको जवाफ थियो, डाँड टिराइट ओ गाउँक सक्कु थारू मिलके खाइट ।’ (के गर्थे र, फाइन तिराउँथे अनि गाउँका सबै पुरुष मिलेर खान्थे । )

थारू शब्दले विशेषतः थारू पुरुषलाई जनाउँछ । जसरी ‘मान्छे’ शब्दले ‘पुरुष’लाई मात्र समेट्छ । मान्छे भन्नेबित्तिकै पुरुषको इमेज जसरी बन्छ, थारू भन्नेबित्तिकै पनि पुरुषको इमेज बन्ने हो । थारू समुदायमा ‘थारू पुरुष’लाई इंगित गर्न ‘थारू’ शब्दको प्रयोग गरिन्छ । आफ्नो श्रीमान्लाई पनि ‘थारू÷थरुवा’ भनिन्छ भने श्रीमतीलाई ‘जन्नी’ ।

आफूमाथि भएको यौन हिंसाबाट महिला गर्भवती भएमा, उनलाई स्विकार्ने कुनै पुरुषको जिम्मा लगाइदिन्थ्यो समाजले नै । कुनै अवस्थामा भने उनीमाथि हिंसा गर्ने पुरुषकै जिम्मामा । आफ्नो बलात्कारीसँग विवाह भएको कल्पना गर्न सकिन्छ ? जहाँ जहिले पनि आफ्नो बलात्कारीलाई जबर्जस्ती हेर्न बाध्य पारिन्छ । उफ् !
मन मिलेर गर्भ रहनु र उसैको जिम्मा लगाइनु फरक प्रसंग हो ।

थारू समुदायमा आफ्नो गाउँको अगुवाइ गर्ने जिम्मेवारी महिलाले कहिल्यै पाएनन् । गाउँको भलमन्सा, बरघर जहिल्यै पुरुष मात्र बनिरहे । भर्खर मात्र थारू बस्ती, विशेषगरी कैलाली र कञ्चनपुरका केही गाउँहरूमा थारू महिलाहरू भलमन्सा बन्ने अवसर पाउँदै छन् । थारू गाउँहरूमा बाँडफाँड गरिने चिरक्या, गुरुवाको जिम्मेवारीमा महिलालाई कहिल्यै कल्पनासमेत गरिँदैन । तन्त्रमन्त्र जान्ने पुरुषलाई गुरुवाको उपाधि दिएर सम्मान गरिन्छ । तर, महिलाले तन्त्रमन्त्र जाने बोक्सिनिया (बोक्सी)को आरोप लगाइन्छ ।

पारम्परिक रूपमा पुरुषले ओगट्ने यी सबै पद शक्ति र ज्ञानसँग जोडिएका हुन्छन् । जस्तो, वरघर प्रत्यक्ष रूपमा शक्तिसँग जोडिन्छ । त्यस्तो शक्ति जसले सम्पूर्ण गाँउवासीलाई मोबिलाइज गर्छ । गुरुबा ज्ञानसँग जोडिन्छ । जसको प्रत्यक्ष सम्बन्ध तन्त्रमन्त्रसँग रहन्छ ।

महिलाले तन्त्रमन्त्र सिके बोक्सिनिया बन्छन् भन्नु महिलाले ज्ञान आर्जन गर्न हुँदैन भन्ने मान्यता हो । महिलाले ज्ञान आर्जन गरे त्यसको उपयोग गर्न जान्दैनन् । या त विनाशका लागि गलत प्रयोग गर्दछन् भन्ने पारम्परिक मान्यता छ ।

परिवारमा होस् या त समुदाय, माथिका यथार्थताले थारू समुदायमा असमानताको मोडेल कति जटिल अवस्थामा थियो÷छ भन्ने बताउँछ । यस्तो भेदभाव र स्टिरियोटाइप थारू समाजको संरचना र अभ्यासमा व्याप्त छन् ।

थारू महिलाहरू आफ्नो परिवार, आफ्नो समुदाय र समग्रमा राष्ट्रको कल्याणका लागि अभिन्न छन् । गाउँसमाजको अगुवाइ गर्नेबाट आफू वञ्चित भए तापनि आफ्ना प्रियजनका लागि अवसर सिर्जना गर्छन् । भलमन्सा, चिरक्या, गुरुबा हुने प्रत्येक पुरुषका घरायसी काममा अधिक सहयोग पुर्‍याउने महिलानै हुन् । तथापि महिलाको योगदानलाई मूल्यांकन गरिँदैन, न त मुआब्जानै दिइन्छ । आफ्नो समुदाय र देशका लागि थारू महिलाहरूले लगातार काम गरिरहे, तर समुदाय र देशले तिनका लागि के गर्‍यो ? न्यायिक आवाजसमेत उठाइदिँदैन कसैले । थारू महिलाको वास्तविक स्थिति पुष्टि गर्ने जानकारी बरु लुकाइन्छ ।

घरेलु काममा महिलाको प्रतिनिधित्व, तर त्यसको विपरीत, सार्वजनिक जीवनमा उनीहरूको सहभागिता ज्यादै न्यून भएका कारण पुरुषहरू प्रभावशाली हुन्छन् । सार्वजनिक जीवनमा पुरुष र महिलाको विभेदात्मक सहभागिताले महिलाको भूमिकालाई भन्दा पुरुषको उच्च मूल्यांकन गर्छ । थारू महिलाप्रति थारू समुदाय उदार रहेको बताइएजस्तो भोगाइ थारू महिलाहरूको छैन । थारू समुदायमा पनि पुरुष र महिलाका क्रियाकलाप अविभाज्य छन् । मानौँ थारू महिलाका काम भात पकाउनु मात्र हो । घरका सबैले खाएको थाल धुनु मात्र हो । मैले देखेको, भोगेको र सुनेको थारू महिलाप्रति थारू समाजको दृष्टिकोण यही हो । मेरी हजुरआमाको पनि यही हो । मेरी जुजुआमाको पनि यही हो ।

कथित उच्च जातको महिलाले भोग्नेभन्दा खासै फरक भोगाइ छैन थारू महिलाहरूको । पितृसत्तात्मक परिवारमा भोग्नुपर्ने ती सबै असमान रीतिस्थिति र नीति–नियममा बाँधिनुपर्छ थारू महिलाले । थारू महिलाको नियति पनि उही हो, जहाँ महिलालाई केवल चुलोचौकाको ड्राइभर र बच्चा जन्माउने मेसिनको रूपमा लिइन्छ । अनि घरभित्र विशेष ध्यानकेन्द्रित गरी एक पितृवादी स्त्री आदर्श प्रतिनिधित्व गर्न लगाइन्छ ।

थारू समुदायमा पुरुष र महिलाको सम्बन्ध प्रभुत्व र अधिनताकै हो । घरायसी सम्पूर्ण काममा महिलाको प्रतिनिधित्व भए पनि प्रभुत्व पुरुषकै रहन्छ । घरायसी र सार्वजनिक जीवन दुवै अवस्थामा । सामाजिक काममा असंलग्न बनाउन महिलालाई बहिष्करणमा पारिन्छ । आखिरमा थारू समाज पनि पितृसत्तामा अडेको न छ ।

आदिवासी समाज मातृसत्तामा आधारित हुन्छ भनेर अधिक वकालत गरिन्छ । त्यसोभए मातृसत्ता भनेको सधैँ महिलाले भात पकाउनुपर्छ भन्ने हो ? सबैले खाएको भाँडा महिलाले माझ्नुपर्छ भन्ने हो ? कि घरायसी सबै काम गरेर पनि खेतबारी र बाहिरको अन्य काम गर्नु हो ? नेपालको कुनचाहिँ आदिवासी समाजमा महिला र पुरुष दुवैले बराबर रूपमा घरायसी काम गर्छन् ? बरु घरबाहिरको काम महिला–पुरुष दुवैले बराबरी गर्दा हुन् ।

घरभित्रको यथार्थ के हो भने, थारू महिलाले थारू भएकोमा हेपिनुपर्दैन । तर, एक महिला शरीर लिएर जन्मेकोमा सबै प्रकारका लैंगिक भेदभावको सामना गर्नुपर्छ । घरबाहिर निस्किएपछि भने जातीय र लैंगिक पक्षपातको छेउमा बनेको आफूप्रतिको धारणाको सामना गर्नुपर्छ । घरबाहिर जात व्यवस्थामा आधारित समाज छ । जहाँ नश्लवाद र सेक्सिजम एकैसाथ मिल्दछ । जसको प्रभाव विनाशकारी हुन्छ ।

यस्तो नश्लवादी र सेक्सिस्ट समाजमा थारू महिलाले त्रुटिपूर्ण वा अपूर्ण कथाको सामना गर्नुपरेको छ । हिजोदेखि आजसम्म । थारू समुदायको आकांक्षा थारू पुरुषले मात्र वर्णन गरेका छन् । थारू समुदायको गौरव गर्ने इतिहास कतै लेखिए पनि त्यसका प्रतिनिधित्व केवल थारू पुरुषले मात्र गर्दछन् । थरूहट भूमि उर्वर बनाउनुमा पनि केवल आजा (जुजुबुवा), बुडु (हजुरबुबा), बुबाको योगदान मात्र उल्लेख हुन्छ । आजी (जुजुआमा), बूढी (हजुरआमा), डाइ (आमा)को योगदान लोप पारिन्छन् । थारू समाजको इतिहास पनि पुरुष न्यारेटिभले सुसज्जित भेटिन्छन् ।

जब हामी (महिला) थारू महिलाका अहिलेसम्म नलेखिएका यथार्थता खोतल्छाँै, हाम्रो अधिकार उल्लंघन गर्ने सामाजिक संस्था र संस्कारह पर्दाफास हुन्छ । हाम्रा आवाजले पुरुषका पारम्परिक मानदण्डलाई चुनौती दिन्छ । अनि हामीलाई कुनै न कुनै रूपमा दोषी बनाइन्छ । कलंकित बनाइन्छ । चुप लगाइन्छ ।

तर, कुनै न कुनै माध्यमबाट हामी यो मौनता तोड्न चाहन्छौँ । हामीमध्ये धेरैलाई थाहा छैन कि हामीसँग अधिकार छ । त्यसैले हामी हाम्रो अधिकार दाबी गर्न असमर्थ छौँ । यदि हामीले मौनता तोडिदियौँ भने, हाम्रो अधिकारको संरक्षण हुनेछ । हाम्रा कथाले वास्तविकतामा आधारित नयाँ, तर बिलकुल यथार्थ न्यारेटिभ निर्माण हुनेछन् ।

हो, पुरुषहरू लैंगिक समानताको विचारलाई अँगाल्न पहिलेभन्दा धेरै सक्रिय छन् । तर कुरा जब घरायसी श्रमको आउँछ, परम्परागत मूल्यमान्यताहरू हाबी हुन्छन् । यसैले बताउँछ, लैंगिकताका बारेमा हाम्रो विश्वास वास्तवमै कति कडा छ ।

महिलाहरू घरबाहिरको करिअर निर्माण गर्नुमा सर्वव्यापी समर्थन देखिन्छ अहिले । तर, पनि समाजमा महिलाका लागि प्रतिबन्ध अझै अवस्थित छ, जसले बताउँछ कि गर्नुपर्ने अझै धेरै छ । कुनै पनि समुदायको महिला शसक्त र स्वतन्त्र हुन सार्वजनिक जीवनमा कति सक्रिय छन् भन्ने एउटा पाटो त हो नै । घरायसी काममा लैंगिक समानता अनि बरोबर हिस्सेदारी नभई सही अर्थको स्वतन्त्रता लैंगिक समाजले महसुस गर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.