“महिला होस् वा पुरुष, अघि बढ्न कडा मिहिनेत चाहिन्छ!!” -एस.पी मीरा चौधरी

meera tc
हनुमानढोकामा एसपी मीरा चौधरीसँग कुरा गरेर निस्किएपछि उपल्ला दर्जाका प्रहरी अधिकृतको कोठामा छिर्‍यौं।
‘ए, मीरासँग नारी दिवसको सन्दर्भमा कुरा गर्न आउनुभएको,’ उनले भने, ‘हामी मीरालाई महिला प्रहरीमा गन्दैनौं।’
उनले खासमा मीराको क्षमता, मिहिनेत लगन र साहसको प्रसंशा गरेका हुन्। कुनै पुरुष प्रहरीभन्दा कम छैनन् मीरा भन्न खोजेका हुन्।
तर समस्या यहीँनेर छ- कुनै महिलाले व्यावसायिक जीवनमा पुरुषसरह वा त्योभन्दा राम्रो काम गरिन् भने हामी ऊ त महिलाजस्तै छैन भनिदिन्छौं। पुरुषभन्दा कम काम गर्‍यो भने महिलाले कामै गर्न सक्दैनन् भनिदिन्छौं।
जसरी पनि महिलालाई कम देखाउँछौं! कम आँक्छौं।
नेपाली समाजमा सक्षम महिलालाई बिना पूर्वाग्रह महिलाकै रूपमा स्वीकार्य बनाउन र सम्मान दिलाउन धेरै मीरा चौधरीहरू जन्मिनु पर्छ।
तर मीराहरू त्यसै बन्दैनन्
मीरा भन्छिन्- सफल हुन, प्रतिस्पर्धामा अगाडि बढ्न पुरुष होस् वा महिला कडा मिहिनेत र लगन जरुरी छ।
‘जसलाई अघि बढ्नु छ, केही गर्नु छ, कडा मिहिनेत गर्नै पर्छ। त्यसको विकल्प छैन।’
प्रत्येक दिन कम्तिमा १२-१३ घन्टा ड्युटीमा खटिने मीरालाई कडा परिश्रमको बानी र प्रतिस्पर्धाको भावना खेलकुदले बसालेको हो। कोही छोरा मान्छेभन्दा आफू कम होइन भन्ने भावना भने उनको दिमागमा आमाबुबाले सानैमा बसाइदिएका हुन्।
‘म घरकी जेठी छोरी, तर बुबा-आमाले मलाई कहिले पनि म छोरी हुँ, पुरुषभन्दा कम हुँ भन्ने शंका मेरो मनमा छिर्न दिनुभएन,’ उनी भन्छिन्, ‘लोग्नेमान्छेले गर्न सक्ने काम तिमी जे पनि गर्न सक्छौ भन्नुहुन्थ्यो।’
आमा अनपढ थिइन् तर जहिले पनि उनले मीरालाई ‘तिमी छोरासरह हौ’ भनेर हौस्याइरहिन्।
वीरगन्जमा मीराको पुर्ख्यौली घरअघि ठूलो खेल मैदान थियो। टोलका ‘दाइ’हरू खेल्न आउँथे। त्यतिबेला केटाहरू माझ भलिबल खुबै लोकप्रिय खेल थियो। दिदीहरू खेल खेल्न आउने कुरै थिएन।
दाइहरू खेलेको हेर्दाहेर्दै मीराको मनमा पनि खेल खेल्ने टुसा उम्रिसकेको थियो। वीरगन्जका पोखरीलाई जलकुम्भीले गाँजेजस्तै मीरालाई पनि खेलप्रतिको उत्सुकताले गाँज्न थाल्यो।
स्कुलमा जिल्लास्तरीय वीरेन्द्र रनिङ शिल्ड प्रतियोगिता हुन्थ्यो। उनी सहभागी हुन थालिन्।
उनको खेल जीवनले छिट्टै व्यापक आकार समात्यो। २०४० सालमा राष्ट्रिय महिला फुटबलको तयारीका सिलसिलामा वीरगन्जमा परीक्षण खेल भयो।
मीराका बुबाले हौस्याए- तिमी फुटबल खेल्न सक्छौ। छोरीको हात समाएर उनैले रंगशाला पुर्‍याए। मीरा पोखरामा हुने प्रथम राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न नारायणी अञ्चलबाट छानिइन्।
उनको फुटबल यात्रा त सुरु भयो। तर हात समाएर त्यो यात्रा सुरु गराइदिने बुबा भने त्यसको एक वर्षमै बिते। घरमा आमा, भाइ र आमाले ‘एडप्ट’ गरेको सानो भाइ थियो। खेतीको धानले खान पुग्थ्यो, तर आफू पढ्न र भाइहरूलाई पढाउन पैसा पुग्दैनथ्यो।
१५ वर्षकै कलिलो उमेरमा मीराले परिवारको जिम्मेवारी आफ्नो काँधमा लिइन्। भन्छिन्- हिम्मत गर्नेको, जिम्मेवारी लिनेको काँध आफ्नै बलियो हुँदै जान्छ, सम्भावनाका ढोका खुल्दै जान्छन्।
मीराले वीरगन्ज नगरपालिकामा बहिदारको जागिर पाइन्।
पढाइ थियो, फुटबल थियो, परिवारको जिम्मेवारी थियो। उनले कुनैमा सम्झौता गरिनन्।
मिहिनेत गरे यी सबै पार लगाउन सकिन्छ भन्ने उनलाई लाग्थ्यो। कडा परिश्रम उनले त्यहीँबाट सुरु गरिन्।
‘म ४ बजे नै उठ्न थालेँ। बिहान एक घन्टा रंगशाला जान्थे। त्यसपछि अफिस अनि नाइट क्याम्पस जान्थेँ र मेरो दिन राति १० बजे सकिन्थ्यो,’ रोमान्चित हुँदै उनले त्यसबेलाको आफ्नो रुटिन सुनाइन्।
यति मिहिनेत गर्न तयार भएपछि असफल हुने कुरै थिएन। कोही पनि हुँदैन।
आफ्नो फुटबल ‘करियर’ अघि बढाउँदै मीरा महिला राष्ट्रिय टोलीको कप्तान भइन्। रात्रि क्याम्पस पढ्दै बिए पास गरिन्। त्यतिमा उनले चित्त बुझाइनन्- ठाकुरराम क्याम्पसबाट एमए र बिएड पनि गरिन्। भाइलाई पढाइन्, आमा पालिन्।
मनको कुनामा सानैदेखि एउटा सपना झांगिएको थियो, पुलिस अफिसर बन्ने।
लामो समयसम्म सपना साँच्दिनन् उनी, हराउँछ रे! २०५१ सालमा महिलातर्फको खुल्ला प्रतिस्पर्धामा भिडेर इन्स्पेक्टरमा नाम निकालिन्।
प्रहरी अधिकृत बनेपछि उनमा आत्मविश्वास झन् बढ्यो। उनले लगन झन् थपिन्।
‘मैले कमान्डो ट्रेनिङ गर्न पाएँ, यो एकदमै कठिन ट्रेनिङ हो,’ उनले भनिन् ‘त्यसपछि मलाई लाग्यो, मानिसको शरीर हो जसो पनि गर्न सकिन्छ, जे पनि सम्भव छ।’
के सम्भव छ, के छैन खासमा शरीरको होइन, मष्तिस्कको कुरा हो।
मैले सोधेँ, ‘तपाई महिला तथा बालबालिका सेलमा पनि बस्नु भयो। अहिले अपराध महाशाखामा हुनुहुन्छ। महिलामाथि हुने हिंसा र शोषण देख्नु भयो, किन धेरै महिलाले साहस बटुल्न सक्दैनन्?’
एकछिन गमिन् र भनिन्, ‘पहिलो र सबैभन्दा ठूलो कुरा त बाल्यकालमा बुबा-आमाले दिने आत्मविश्वास नै रहेछ, त्यसले मानिसलाई पछिसम्म धान्दोरहेछ।’
‘म फर्केर हेर्दा मेरो बाल्यकाल अत्यन्त खुसी र आत्मविश्वासी पाउँछु। त्यसको श्रेय मेरा बुबाआमालाई जान्छ। बाल्यकालको मेरो त्यो आत्मविश्वास र खुसी पछि कहिले पनि खल्बलिएन।’
नौजवान महिलाहरूलाई उनको सल्लाह छ- महिलाले पढ्न पछि पर्नु हुन्न, पढाइमा गजबको तागत हुन्छ। म गर्न सक्छु भन्ने सोच र मिहिनेत गर्ने बानी बसाल्नु पर्छ।’
आम नेपाली महिलाको सवालमा भने परिवारको सहयोगको ठूलो महत्त्व रहने उनको अनुभव छ। उनले कालिमाटीमा प्रहरीको महिला सेलको नेतृत्व गर्दाको दुईवटा अनुभव सुनाइन्-
एकदिन ५०-५५ वर्षकी एउटी आमा महिला सेलमा आइन्। उनका श्रीमान्‌ले चरम यौन दुर्व्यवहार गर्दा रहेछन्। मैले ५ बजेसम्म राखेर सम्झाएँ। कानुनी र अन्य उपचार खोज्न सकिन्छ, निवेदन दिनुहोस् भनेँ। भोलि आएर निवेदन दिने भन्दै उनी गइन्।
भोलिपल्ट आएर भनिन्- म उसलाई छोड्ने त भएँ तर निवेदनचाहिँ हाल्दिनँ। निवेदन हाले छोराले मलाई नै छोड्छु भन्यो।
छोरालाई आमाको पीडाभन्दा आफ्नो ‘नक्कली’ इज्जत ठूलो भयो।
अर्की एक महिला आफ्ना श्रीमान् परस्त्रीगमनमा लिप्त भएको गुनासो लिएर आइन्। मैले त्यस्तो श्रीमान्‌सँग के बस्नुहुन्छ, छोडिदिनुस् भने। उनले छोड्न त सक्दिनँ भनिन्।
‘महिलाहरू आफ्नो खुट्टामा उभिएनन् भने पुरुषको भर पर्नुपर्छ, सम्झौता त्यहीँबाट सुरु हुन्छ,’ उनी भन्छिन्।
गाउँमा नपढेका, आर्थिक हैसियत नभएका महिलाहरू त बाध्यतावश जीवनसँग सम्झौता गर्छन्, छिट्टै बिहे गर्छन्। तर सहरका पढे-लेखेका कतिपय केटीहरू पनि आफ्नो खुट्टामा उभिनेबारे सोच्दैनन्। ११-१२ पढ्दै गर्दा बिहे गरेर जान तयार हुन्छन्।
‘तिनीहरूलाई देख्दा मलाई साह्रै खल्लो लाग्छ,’ उनी भन्छिन्, ‘यसमा पनि बाउ-आमाको भूमिका छ।’
मैले सोधेँ- तपाईलाई के लाग्छ, महिलाहरूका लागि बिहे साँच्चै एक असमान ‘इन्स्टिट्युसन’ हो?
‘आपसी विश्वास र समझदारी सकिएपछि त त्यो असमान नै हुन्छ,’ उनको जवाफ थियो।
मीरा ४५ वर्षकी भइन्।
तपाईं बिहे नगर्ने?
थोरै हाँसिन् र भनिन्, ‘यही जीवन सहज भइसक्यो। बाँकी जीवन पनि यस्तै सजिलो हुन्छ जस्तो लाग्छ।’
उनकी आमा भने बिहेको कुरा कहिलेकाहीँ निकाल्छिन्। उनी टारिदिन्छिन्। ‘मैले आमाले भनेको नमानेको यही एउटा कुरा मात्रै हो।’
बाँकी जीवनका लागि पनि उनको ध्येय त्यही जसका साथ उनी आजसम्म बाँचिन्- डटेर आफ्नो काम गर्ने। इमानको सौदा नगर्ने। हार नमान्ने।
तपाईं नेपाल प्रहरीमा कहाँसम्म पुग्नुहुन्छ?
‘२० वर्ष भइसक्यो जागिर खाएको, अब १० वर्ष बाँकी छ। नेपाल प्रहरीको यही संरचना कायम रहेमा म आइजी त बन्न सक्दिनँ। तर एआइजी/डिआइजी त पक्कै बन्छु।’
तपाई प्रहरी सेवामा कति माथिसम्म पुग्नुहुन्छ भन्नेले कति महत्त्व राख्छ जीवनमा?
‘राख्दैन,’ उनले भनिन्, ‘म के गर्छु भन्नेले राख्छ।’
प्रहरी सेवामा छिरेपछि आफूलाई ट्रेनिङ दिने गुरुहरूको ठूलो छाप छ रे मीरामा।
उनी भन्छिन्, ‘पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह राना, वरिष्ठ प्रहरी अधिकृतहरू प्रकाश अर्याल, शैलेस थापा, नीरज शाहीले प्रहरीको निष्ठा र कर्तब्यबारे भनेका कुरा मेरा प्रेरणा हुन्।’
के यो समाजमा एकजना पनि यस्तो व्यापारी वा राजनीतिज्ञ वा कुनै व्यक्ति छैन, जसले भन्न सकोस्- मीराले पनि कुनै दिन आफ्नो इमानसँग सम्झौता गरेकी छन्?
‘कसैले भन्न सक्दैन,’ एकछिन थामिएर उनले सच्याइन्, ‘पछाडि त मानिसले के-के भन्लान्, तर मेरो आँखामा हेरेर कसैले यस्तो भन्न सक्दैन।’
उनले भनिन्- म मस्त काम गरेर, थाकेर गएपछि ओछ्यानमा तुरुन्तै निदाउन सक्छु। सम्झौता गरेको मानिस त्यसरी निदाउन सक्दैन। मेरा लागि अविचलित निदाउन सक्नुले जीवनमा धेरै महत्त्व राख्छ।
from setopati.com
प्रकाशित मिति: आइतबार, फाल्गुण २४, २०७१ ११:१६:४४

One thought on ““महिला होस् वा पुरुष, अघि बढ्न कडा मिहिनेत चाहिन्छ!!” -एस.पी मीरा चौधरी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.