यमोसा पर्व र सांस्कृतिक अधिकारको सवाल – कारी महतो

यमोसा
यमोसा

पृष्ठभूमिः
हाम्रो देशको सन्दर्भमा सर्वस्वीकार्य र सर्वमान्य तथ्य कुरा के हो भने नेपाल एक बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । दर्जनभन्दा बढी धर्म, सयभन्दा बढी भाषाभाषी र जातजाति तथा त्यसभन्दा पनि कैयौं बढी रितिरिवाज, परम्परा, चालचलन, संस्कार तथा संस्कृतिहरु नेपालको गौरव र गरिमामय चिनारी हुन् । जातीय विविधता तथा सांस्कृतिक विविधता हामी सम्पूर्ण नेपाल र नेपालीको राष्ट्रिय पहिचान हो । त्यसकारण सबै किसिमका संस्कृतिहरु समान रुपमा हुर्कने र मौलाउने वातावरण देशमा हुन सकेको खण्डमा “सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” राष्ट्रगानको औचित्य हुनसक्छ । त्यसैले हाम्रा सबै किसिमका संस्कृतिहरुलाई एउटै प्लेटमा सजाएर “सलाद संस्कृति” को रुपमा विकास गर्नुपर्छ । जसरी सलादमा विभिन्न प्रकारका फलपूmल लगायत गाजर, मूला, काक्रो इत्यादि एउटै प्लेटमा पस्केर हरेक टुक्रा सलादको फरक स्वाद लिन पाइन्छ, त्यसैगरी एउटै स्थानमा थुप्रै किसिमका संस्कृतिहरुको विकास भएमा फरक फरक सांस्कृतिक स्वाद लिन र पस्किन पाइन्छ । तर यहाँ एकात्मवादी, महेन्द्रवादी तथा यथास्थितिवादी सोंच र चिन्तन बोकेका केही सघंसंस्था वा निकायका प्रमुख, शासक, प्रशासक तथा व्यक्तिहरुले अझै पनि एउटै भाषा, एउटै धर्म र एउटै संस्कृतिको जालो बुनीरहेका छन् । थारु समुदायमा स्वतन्त्र रुपमा हुर्कने र मौलाउने वातावरणको अभावमा लोपोन्मुख अवस्थामा रहेको एउटा अमूल्य सांस्कृतिक पर्व “यम्वासा वा यमोसा” अर्थात् पितृऔंसी पनि हो ।

यमोसा पर्वको परिचयः

थारु समुदाय सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको एउटा समुदाय हो । थारु जातिले वर्षभरिमा दर्जनौं चाडपर्व मनाउँछन् । हरेक पर्वहरुको आफ्नै विशेषता र आफ्नै महत्व हुन्छ । ती चाडपर्वहरु मध्ये “यमोसा” (पितृ औंसी) पर्व पनि एक हो । “यमोसा” चितवन र नवलपुरका थारु समुदायले मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृहरुलाई तर्पण गर्ने गर्दछन् र उक्त दिन औंसी पर्ने भएकोले यस पर्वलाई पितृआंैसी पनि भनिन्छ । यो पर्व असोज महिनाको औंसीको दिन पर्दछ । दशैंको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । यमोसा पर्व दुई दिन धुमधामसँग मनाइन्छ । यमोसाको अघिल्लो दिनलाई मछुवारी (माछा मार्ने) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिक रुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मार्ने चलन छ । खसी, बोका, हाँस, कुखुरा काट्ने गर्छन् । अर्को दिन अर्थात् यमोसाको दिन बिहानै पुरुषहरु आपूmले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करीब एक हात लामो कुचो बनाई धोई पखालेर घर अगाडि गाईको गोबरले पोतेको ठाउँमा पिर्कामा उक्त सिरुको मुठा राखी पितृ स्थापना (पहुनी बेठोइ) गरिन्छ । पहुनीलाई विभिन्न थरीका पूmलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखिन्छ । त्यस वर्षभरि कुनै परिवारको सदस्यको मृत्यु भएको छ भने अनिवार्य रुपमा बोका काटेर त्यसको रगत चढाउने गरिन्छ । तर मृत्यु भएको छैन भने त्यस दिन कुनै मारकाट गर्ने चलन छैन । त्यस दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाई कुशपानीले पितृगणलाई तर्पण गरिन्छ । नुहाइधुवाइ गरीसकेपछि नयाँ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोई) गरिन्छ । त्यसपछि मात्र खानपिन शुरु हुन्छ । सर्वप्रथम छोरी, ज्वाइँ वा कुनै पाहुना बोलाई खातिरदारीकासाथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई “पितरी बेठोई” भनिन्छ । पाहुनालाई खुवाइसकेपछि मात्र आपूmले खाने गरिन्छ । यता केटीहरुले पाहुनाको कपालमा तेल लगाई काइँयोले कोरीदिने गरिन्छ । त्यसपछि उल्टो नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई “पित्पित्रायन खेदई” भनिन्छ । उक्त दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउनुपर्छ । यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । उता गाउँका सबैजना एकैठाउँमा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पाँच छ वटा पिङ लगाइन्थ्यो । यता केटाहरुले साँझपख गाउँको बाटोको महत्वपूर्ण ठाउँमा “म्वाढ्हा” गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् ।
बेलुकीपख बालबालिका तथा केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा “यमोसा” खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौं परम्परागत गीत गाउँदै यमोसा खान्छन् । उनीहरुले गाउने केही गीतहरुका अंश यसप्रकारका छन् –

गीत नं. १ डौली डौली मोदवा देले दबकाई
बौरी बौरी मोदवा देले निसकाई
मोदहर्नीक मोदवा घुघुल बाजे ……

गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी ……

गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,
दाली परैय गेल, मासु परैय गेल,
यौर परल गजमोती जेवहुँ सभरे,
गोतियवा–गोतिनिया मन चितलाई……….

गवैया महिला पुरुषहरु भने त्यस रातभरि गाउँको कुनै एक घरमा जम्मा भई गीत गाउने चलन रहेको छ । तर अब ती गीतहरु, ती म्वाढ्हा र बरहाहरु, पितरी र पित्पित्रायनहरु, ती पहुनी र छाकीहरु…..सबै सबै लोप हुँदैछ । कालान्तरमा थारु समुदायले पनि यमोसाको सट्टा दशैं मात्र मनाउनेछ । किनकी हाम्रो देशमा यमोसा मनाउने वातावरण छैन । वातावरण बिगार्ने काम राज्यबाट भएको छ । थारु समुदायलाई आफ्नो संस्कृति, रितिरिवाज प्यारो लाग्छ तर बाध्य भई आफ्नो संस्कृति छोड्नु परिरहेको छ । किनकी यहाँ नाम मात्रको सद्भाव छ तर गहिरिएर हेर्ने हो भने साँस्कृतिक सद्भाव छैन ।

नेपालमा साँस्कृतिक विभेदको उदयः

विगत दुईसय वर्षभन्दा अगाडिदेखि राज्यले नै यस्तो नीति लिएर शासनसत्ता लाद्दै आइरहेको छ । पृथ्वीनारायण शाहले एकिकरण गर्दा साना राज्यहरुलाई आफ्नो राज्यमा विलय गराउने कामको शुरुवात त गरे । त्यसका साथै उनले आदिवासी जनजातिका रितिरिवाज र संस्कृतिलाई पनि खस संस्कृतिमा विलय गराउने कामको पनि थलनी गरेकै हो । हिन्दु वर्णाश्रमभित्र नपर्ने समुदायलाई पनि “चार जात छत्तिस वर्णको फूलबारी” भनी गैरहिन्दुलाई हिन्दु धर्मशास्त्र अनुसार विभाजनको सूत्रपात गरेकै हो । सन् १७९३ मा तत्कालीन राजा रणबहादुर शाहको पालामा नेपालमा मुलुकी ऐन जारी भयो । उक्त ऐन ब्राह्मणवादी तथा हिन्दुवादी धर्मशास्त्रबाट नै प्रभावित थियो । त्यस ऐनमा आस्था अथवा धार्मिक क्रियाक्रम सम्बन्धी व्यवस्था गरिएको थियो । जनताका परम्परागत अधिकारहरुमा थिति कर लगाइएको थियो । थिति अन्तर्गतका नीति–नियमहरुमा साँस्कृतिक र परम्परागत रीतिरिवाजका कामहरु पर्दथे । अर्थात खस संस्कृति मान्नै पर्ने कानून बन्यो । दशैं मनाउनै पर्ने हुकुम हुन्थ्यो । ती साम्प्रदायिक तथा जातीय कानून नमानेको खण्डमा थितिकरको नियम अनुसार जनताले ठूलो दण्ड जरिवाना र भारी कर तिर्नुपर्दथ्यो ।
राज्यले आदिवासी जनजातिको साँस्कृतिक सभ्यता र सम्पदालाई खस संस्कृतिमा विलय गराउनका निम्ति विभिन्न किसिमका रणनीति अपनाउँदै आएको छ । राज्यले कानूनी रुपमै आदिवासी जनजातिको संस्कृतिलाई बन्देज र व्यवहारिक रुपमा आदिवासी जनजातिको संस्कृतिको अवहेलना तथा खस संस्कृतिलाई बढावा दिदैं आएको छ । दुई सय वर्ष अगाडि राज्यले लिखित र व्यवहारिक रुपमा आदिवासी जनजातिको संस्कृति विरोधी मुलुकी ऐन जारी गरी सोही अनुसार ब्राह्मणवादी शासकहरुले शासनसत्ता चलाउँदै आए भने हाल आएर लिखित रुपमा आदिवासीका संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने भनिए तापनि व्यवहारिक रुपमा हिन्दु खस ब्राह्मणवादी संस्कृतिलाई मात्र बढावा दिने तर आदिवासी जनताहरुका सभ्यता र संस्कृतिलाई उपहास र उपेक्षा गर्ने गरिएको छ । दशैंमा पन्ध्र–पन्ध्र दिनसम्म शिक्षण संस्थाहरुमा विदा हुने, त्यति मात्र नभई कर्मचारीहरुलाई उक्त चाड मनाउन एक महिनाको तलब बराबर दशैं खर्च शीर्षकमा भत्ता पनि प्रदान गर्ने तर थारुको यमोसा जस्तो गरिमामय सांस्कृतिक चाडपर्वमा एकदिन पनि विदा नहुनुको मतलव थारुहरुलाई यमोसा मनाउन अघोषित प्रतिबन्ध लगाउनु हो । त्यति मात्र होइन, प्याब्सन र सोसेब्स जस्ता शैक्षिक माफियाहरुको संगठनले त हरेक वर्ष यमोसाकै दिनमा पनि त्रैमासिक परीक्षा लिने गर्दछ । यस किसिमको सांस्कृतिक थिचोमिचो थारुहरुले भोगीरहेका छन् । तर गैरथारुहरुले भन्ने गर्छन् — हामीले एक अर्काको धर्म, संस्कार तथा संस्कृतिलाई सम्मान गर्छौ । मुखमा राम राम बगलीमा छुरा ।

साँस्कृतिक अधिकारको सवालः

नेपालको अन्तरिम संविधानले पनि धारा १७.३ मार्फत् भन्दछ —“नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, साँस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हक हुन्छ ।” नयाँ संविाधानको धारा (३२) को भाषा तथा संस्कृतिको हकको उपधारा (२) मा “प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ ।” र उपधारा (३) मा “नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ ।” भनी लेखिएको छ । कागजी रुपमा संरक्षण र संवद्र्धन गर्ने अधिकार उल्लेख भए तापनि व्यवहारिक रुपमा कुनै हक अधिकारको अनुभूति समुदायले गर्न सकेका छैन । किनकी संस्कृति, रितिरिवाज, संस्कार, चलन इत्यादि नयाँ पुस्तालाई हस्तान्त्रण हुन नसकेमा कुनै पनि हालतमा संरक्षण हुन सक्तैन । नयाँ पुस्ता भनेको बालबालिकाहरु हुन् । तिनीहरुले प्रत्यक्ष रुपमा आफ्ना संस्कृति अनुभव गर्ने समय नपाउँदा बुझ्न र सिक्न पनि सक्दैनन् । फलस्वरुप संस्कृति हस्तान्त्रण हुन नसकी लोप हुनेछ । त्यसैले संविधानमा लेखेर मात्र पुग्दैन त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्छ ।

आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको धारा ८.१ अनुसार “आदिवासी जनजाति तथा व्यक्तिहरुलाई बलपूर्वक विलयन नहुने वा आफ्नो संस्कृतिको विनाश नगराउने अधिकार छ ।” त्यस्तै धारा ११.१ अनुसार “आदिवासी जनजातिलाई आफ्नो सांस्कृतिक परम्परा र प्रचलनहरु मान्ने तथा तिनलाई पुनः जीवन्त तुल्याउने अधिकार छ ।” उक्त अधिकार व्यवहारिक रुपमा स्थापित गर्नका लागि थारु समुदायले निरन्तर रुपमा सांस्कृतिक आन्दोलन नै गर्नुपर्ने देखिन्छ । किनकी संघर्ष विना कसैले पनि कुनै किसिमको हक अधिकार स्थापित गरेको रेकर्ड छैन ।

यमोसा पर्वमा विदा गर्न थारु समुदायको मागः

यमोसा अर्थात् पितृऔंसीमा विदाको व्यवस्था हुनुपर्छ भनी थारु विद्यार्थी समाज चितवनले अनेकौं पटक आग्रह ग¥यो । पूर्वी चितवनमा थारु विद्यार्थाी समाज, थारु राष्ट्रिय मुक्ति मोर्चा र सोसेब्स्(सोसाइटी अफ इस्टर्न चितवन बोर्डिङ्ग स्कुल) बीच वार्ता र सहमति पनि भएकै हो । तर गद्दारहरुले सहमति उल्लघंन ग¥यो र दोष थोप¥यो प्याब्सनको थाप्लोमा । तर अर्को वर्ष पनि प्याब्सनले यमोसामा विदा दिन आवश्यक ठानेन बरु सोही दिन परीक्षा संचालन ग¥यो र उसले जिल्ला शिक्षा कार्यालयलाई दोषी देखायो । थारु विद्यार्थी समाज र थारु कल्याणकारिणी सभाले जिशिकालाई ज्ञापनपत्र नदिएको होइन । जिशिकाले प्याब्सन, सोसेब्स लगायत सम्पूर्ण विद्ययालय र कलेजहरुलाई निर्देशन जारी गरी उक्त एकदिन स्थानीय विदाको लागि परिपत्र जारी गर्न सक्थ्यो । तर गरेन । ‘ज्ञापनपत्र शिक्षा मन्त्रालयमा गएर दिनू’ जस्ता गैर जिम्मेवारीपूर्ण जवाफ दिएर टार्ने कोशिश गरियो । यसरी पटक पटक चरणबद्ध रुपमा थारुहरुले यमोसा पर्वमा विदाको सवाल उठाएको दश वर्ष बित्यो । अब उप्रान्त थारुहरुले यमोसा पर्व आफ्नो घर–आँगनमा होइन सडकमा मनाउने सल्लाह गर्दैछन् । यमोसा पर्व चितवन र नवलपुर क्षेत्रका थारुहरुले मात्र मनाउने चाडपर्व भएकाले उनीहरुले राष्ट्रिय विदाको सवाल उठाएकै होइन । स्थानीय विदाको सवाल उठाएको हो । तर सरोकारवालाहरुले बलमिचाई गरेर थारु सभ्यता र संस्कृति विलय वा विनाश गराउन चाहन्छ भने त्यसको परिणाम ती सबै सरोकारवाला संस्थाहरुले भोग्नुपर्ने हुन्छ । जंगली पशुपंक्षी लोप हुँदा चिन्तित हुने राज्यले आदिवासी जनजातिका संस्कृति लोप हुँदा त्यतिकै चिन्तन गर्नुपर्छ । यदि समतामूलक समाजको परिकल्पना गर्ने हो भने आदिवासीका चाडपर्व मनाउन आदिवासी कर्मचारीहरुलाई भत्ता दिन सक्नुपर्छ । नसके यमोसा जस्ता साँस्कृतिक चाडपर्वमा विदाको व्यवस्था हुनुपर्छ ।

सन्दर्भसूचि :
१. लक्ष्मण प्रसाद चौधरी, यम्वासा, चितवन थारु संस्कृति स्मारिका–२०६३
२. डा. विष्णु प्रसाद घिमिरे, चितवनका आदिवासी जनजातिको सामाजिक र साँस्कृतिक अध्ययन
३. लीना चौधरी, थारु समाजमा हराइरहेको पितृऔंसी (यम्वासा), शहीद स्मारिका–२०६३
४. प्रदीप चौधरी, थारु जातिक पाबनी सबह, हमार चिनारी
५. नेपालका राजाहरु तथा तराईका थारुहरु
६. नेपालको अन्तरिम संविधान–२०६३
७. नेपालको संविधान–२०७२
८. आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र

लेखक थारु पत्रकार संघ चितवनका अध्यक्ष हुन्

3 thoughts on “यमोसा पर्व र सांस्कृतिक अधिकारको सवाल – कारी महतो”

  1. औधी राम्रो आलेख। यमोसा चाँडमा स्थानीय बिदा त हुनै पर्छ। समतामूलक समाजको निर्माण गर्ने हो भने आदिवासीका चाँडपर्व मनाउन आदिवासी कर्मचारीहरुलाई सरकारी भत्ता दिनै पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.