राइर

भुलीलाई त्यतिखेर पीडा हुन्थ्यो, जतिखेर उनले जेठाजु र जेठानीलाई राति सँगै सुतेको देख्थिन्। जेठानीका दुई छोरी पनि उनीसँगै उनकै कोठामा सुत्थे। उनी आफ्नी छोरी र भतिजीहरूसँग सुत्थिन्। जेठाजु र जेठानीले हाँस्दै कुरा गरेको सुन्दा उनलाई ईष्र्या लाग्थ्यो। माटोको गारो भएको घरमा उनको कोठाको आवाज जेठानीको कोठामा र जेठानीको कोठाको आवाज उनको कोठामा सजिलै आउँथ्यो। राति छोरीहरू सुतिसक्थे, तर भुली निदाउन सक्दिनथिन्। कैयौँ रात जेठानी र जेठाजु जिस्केको उनले सुनिरहिन्, आफ्नो लोग्नेलाई सम्झँदै आँसु बगाउँदै जबर्जस्ती निदाइरहिन्।

एकपटक, मध्यरातमा भुलीको निद्रा खुल्यो, जेठानीको कोठाको चौकी (खाट)बाट निस्केको घ्याच–घ्याच आवाजले उनको ध्यान खिच्यो। उनले कान ठाडो पारेर सुनिन्। जेठानी ‘आहा’ र ‘उहु’को आवाज निकालिरहेकी थिइन्। जेठाजु  स्याँ–स्याँ गरिरहेका थिए। पाँच वर्षदेखि राइर (विधुवा) भएकी भुली जेठानी र जेठाजुको आवाज सुनेर आत्तिइन्।

उनले सास बिस्तारै लिइन्। कोल्टो फेर्न सकिनन्। उताको आवाजले भुलीको जिउका नसा एकाएक चल्न थाले। उनको मुटु जोडले धड्किन थाल्यो। उनलाई भित्रबाटै गर्मी लाग्यो। निधारमा पसिना आयो। उनी छटपटाउन थालिन्। उनले आफ्ना हात र गोडा ओछ्यानमा रगड्न थालिन्। टाउकोमुनि भएको तकिया जिउतिर ल्याइन् र हातले मुसार्न थालिन्। गोडा ओछ्यानमा रगड्दै घरी तकिया मुसार्थिन्, घरी आफ्नै तिघ्रा र तल्लो पेट मुसार्थिन्। तीव्र गतिको श्वासका कारण उनको छाती तल धसिने र माथि उठ्ने भइरहेको थियो। उनले आफ्ना हात आफ्नै गाला, ओठ, पेट, नाइटो, तिघ्रा, घाँटी र स्तनमा डुलाउन थालिन्।

अर्को कोठाबाट जति आवाज आइरहेको थियो, त्यति नै भुली आफ्नो कोठामा उत्तेजित भइरहेकी थिइन्। छोरी र भतिजीहरू गहिरो निद्रामा थिए, तर भुलीको आँखामा निद्रा थिएन।मनमा शान्ति थिएन, जिउ नियन्त्रणमा थिएन। आफ्नै हातले जिउ चलाइरहँदा उनलाई त्यति धेरै सन्तुष्टि भएन, जति सन्तुष्टिको अनुभव उनले आफ्नो लोग्नेसँग गरेकी थिइन्। जेठानी र जेठाजुको आवाजले उनको मनमा जुन उत्तेजना पलायो, त्यसलाई नियन्त्रण गर्न उनले साहस बटुलिरहेकी थिइन्। उनले लोग्नेको स्पर्श पनि बिर्सिसकेकी थिइन्। दिन बित्दै गएपछि सम्झना पनि मानसपटलबाट टाढिने रहेछ। केवल चाहनाको आकाश छ्यांग उघ्रेर उनलाई सताइरहेको थियो। यौवनको उन्मुक्तिमा उनी छटपटाइरहेकी थिइन्। मानौँ, उनको जिउमा आगो लागिरहेको थियो। अन्ततः बिस्तारै अर्को कोठाबाट आवाज आउन बन्द भयो, तर यता भुलीको जिउमा लागेको आगो निभाउन सहज थिएन। पाँच वर्षदेखि लुकेर रहेको कुण्ठा एक पलमा कसरी शान्त हुन सक्थ्यो ! उनी निदाउन सकिनन्, ओछ्यानमा छटपटाइरहिन्।

एकछिनपछि जेठानी र जेठाजु घ्याघ्र्यार गर्दै निदाएको आवाज आउन थाल्यो। तर उनी निदाउन सकिनन्। उनको मनमा हुरी चलिरहेको थियो। उनी जुरुक्क उठिन्। पेटीमाथि लोटामा राखिएको पानी पिइन् र ओछ्यानमा पल्टिन्। एकैछिनमा फेरि उनी पलङबाट जुरुक्क उठिन्। बिस्तारै ढोका खोलेर आँगनको कुनामा भएको पम्पमा पुगिन्। अरुको निद्रा नबिथोलोस् भनेर आवाज नआउने गरी बिस्तारै पम्प पेलिन्, चिसो पानीले हातखुट्टा र अनुहार धोइन्। उनको जिउ त शीतल भयो, तर मन शान्त भएन। मनमा दनदनी आगो बलिरहेको थियो। व्याकुल उनी ओछ्यानमा आएर घरी बस्थिन्, घरी पल्टिन्थिन्। अन्ततः उनी छटपटाउँदै निदाइन्।

भुली ३० वर्षकै उमेरमा राइर हुन पुगेकी हुन्। कमाउन विदेश गएका लोग्ने बाकसमा फर्किए। १४ वर्षको छोरो र १० वर्षकी छोरीलाई बाटो देखाउने जिम्मेवारी उनको काँधमा छ। तर, के उनको जीवन यति मात्र हो ? उनको जीवन फेरि रंगीन हुने दिन आउँदैन ? आँखा बन्द गर्दा पनि रंगीन सपना देख्ने उमेरकी उनले यो जीवन यत्तिकै बिताउने ?

बिहान उठ्दा जेठाजु आँगनमा बोलिरहेका थिए। उनले आफ्नो कोठाको ढोकाको कापबाट बाहिर चियाइन्। जेठाजुको अनुहार हेर्नै नहुने र छुन त झनै नहुने मान्यता छ। उनले यसअघि कहिल्यै जेठाजुको अनुहारतिर हेरेकी थिइनन्। ढोकाको कापबाट बाक्लो जुंगा, चौडा अनुहार, हट्टाकट्टा ज्यान देखेपछि उनीमा रहर जाग्न थाले। उनले मरिसकेका आफ्नो लोग्नेलाई सम्झिइन्, उनलाई जेठाजु नै सुन्दर लाग्यो। जेठाजुप्रति उनी आशक्त भइन्। एक प्रकारको तृष्णा पैदा भयो। छोरी र भतिजीहरूले थाहा पाउलान् भनेर उनी ढोकाको कापबाट चियाउन बन्द गरिन् र घुम्टो ओढेर बाहिर निस्किइन्। उनी आँगनको काममा व्यस्त भइन्। काम गर्दा, खाँदा, उठ्दा, बस्दा र सुत्दा पनि उनी जेठाजुको अनुहार सम्झिरहन्थिन्, नसम्झौँ भन्दा पनि। जेठाजुप्रति आशक्त हुनु गलत हो, यो बुझ्दाबुझ्दै पनि उनको मन जेठाजुतिरै जान्थ्यो।

भुली ३० वर्षकै उमेरमा राइर (विधुवा) हुन पुगेकी हुन्। कमाउन विदेश गएका लोग्ने बाकसमा फर्किए। १४ वर्षको छोरो र १० वर्षकी छोरीलाई बाटो देखाउने जिम्मेवारी उनको काँधमा छ। तर, के उनको जीवन यति मात्र हो ? उनको जीवन फेरि रंगीन हुने दिन आउँदैन ? आँखा बन्द गर्दा पनि रंगीन सपना देख्ने उमेरकी उनले यो जीवन यत्तिकै बिताउने ?

धेरै दिनसम्म उनले लोग्नेलाई बिर्सन सकिनन्। लोग्नेका सम्झना ताजा बनाएर दिनहरू बिताइरहेकी थिइन्। तर, प्राकृतिक शारीरिक आवश्यकताले उनलाई शान्त बस्न दिँदैन। उनीभित्र जीवन्त चाहना छन्। छोराछोरीकै लागि आफ्ना चाहनालाई मार्ने ? मातृत्वले भनिरहेछ– छोराछोरीको मुख हेरेर बाँच्नुपर्छ। नारित्वले भनिरहेछ– मैले आफ्नो जीवन पनि बाँच्नुपर्छ।

उनको मनमा कैयौँपटक अर्को बिहे गर्ने इच्छा आयो, तर कसले पूरा गरिदिने ? छोराछोरीको अनुहार हेरेर सिंगो जीवन बिताउन सकिन्छ र ? छोराछोरी उनको जीवनको सहारा होलान्, तर पूर्णता नहोलान्। उनको जुन शारीरिक चाहना थियो, त्यो कसले पूरा गरिदिने ? उनको भावना कसले बुझिदिने ? दोस्रो बिहे गर्ने विचार कैयौँपटक आए पनि उनी व्यक्त गर्न सक्दिनथिन्। भुली मात्र होइन, गाउँका बरियारपट्टीवाली, बन्दीपुर, गणेशपुर, दुहबी र जनकपुरवालीजस्ता ६–७ स्वास्नीमान्छे राइर भएका थिए, त्यो पनि उमेरै नपुगी। उनीहरू अहिलेसम्म छोराछोरीको अनुहार हेरेर एकल जीवन बिताइरहेका छन्। के उनीहरूलाई भुलीलाई जस्तै हुँदैन ?

भुलीले मनमनै जेठाजुलाई मन पराउन थालिन्। जेठाजुलाई सम्झेर उनी धेरै खुसी हुन्थिन्। उनको दिमागमा धेरै दिनदेखि जेठाजुप्रति तृष्णा पैदा भइरहेको थियो, तर उनी आफूलाई नियन्त्रण गरेर बसिरहेकी थिइन्। जेठाजु र आफूबीच कुनै अनर्थ घटना नघटोस् भनेर उनी अर्को बिहे गर्ने निर्णयमा पुगिन्। भोलिपल्ट उनी जेठानीलाई केही नभनी लमीको घर गइन्। ‘म अर्को बिहे गर्छु’ भन्दै उनले आफ्ना लागि केटो खोजिदिन लमीसँग आग्रह गरिन्। आफू केटोको घरमा नबसी केटो आफ्नो घरमा बस्नुपर्ने पनि उनले लमीलाई बताइन्। लमीलाई भुलीको कुरामा विश्वास लागेन। अचम्म मान्दै लमीले सोधे, ‘तँ विवाह गर्छेस् बुहारी ?’

भुलीले ‘हो’को भावमा  टाउको हल्लाइन्। एकछिनको मौनतापछि लमीले हाँस्दै भने, ‘मेरो कामै हो केटो खोज्ने, खोज्छु।’

लमी र भुलीबीचको कुरा लमीकी स्वास्नीले सुनेकी थिइन्। भुलीले अर्को बिहे गर्न लागेको कुरा उनले हावाझैँ टोलभरि फैलाइन्। भुलीका जेठाजु र जेठानीको कानमा समेत कुरा पुग्यो। जेठानी र जेठाजु भुलीदेखि धेरै रिसाए। ‘चरित्रहीन रहिछेस्’ भनेर जेठानीले गाली गरिन्। भुलीले अर्को बिहे गर्ने सुनेको दिनदेखि उनका जेठानी र जेठाजुले अलग्गै भान्सामा खाना खान थाले। तैपनि भुली हिम्मत हारिनन्। आफ्नो निर्णय बदलिनन्। टोलका मान्छेले भुलीविरुद्ध उनका छोरालाई भड्काए। भुलीको चरित्रमाथि औँला उठाए। छोरी सानै भएकीले केही भनिनन् तर छोरो बुझ्ने भएकाले भुलीसँग बोल्नै छाडे। यस्तो व्यवहार आफ्नै परिवारले गरेको देखेर उनको चित्त साह्रै दुख्यो।

उनलाई आफूले लिएको निर्णय गलत लागेन, बरु समाज गलत लाग्यो। गाउँका राइरहरूको व्यथा कसले बुझिदिने ? राइरको पनि मन हुन्छ, चाहना हुन्छ, इच्छा हुन्छ। उमेर भएका राइरमा यौनेच्छा पनि हुन्छ। उनले के निर्णय लिन्छिन्– आफ्नो जीवन कसरी चलाउने अधिकार समाजले मलाई नै दिनुपर्छ।

एक महिना भइसकेको थियो। छोरो भुलीसँग बोलेका थिएनन्। जेठानी, जेठाजु अलग भइसकेका थिए। उनीहरू भुलीसँग बोल्ने कुरै आएन। उनी एक्लै वाक्युद्ध लडिरहेकी थिइन्, परिवार र समाजसँग। जिउँदाका जन्ती र मुर्दाका मलामी छिमेकी पनि उनको घर आउन छाडे।

एक दिन दिउँसो भुली जनकपुरवालीको घर पुगिन्, जो उनीजस्तै राइर थिइन्। यी दुई साथी थिए। भुलीले दोस्रो बिहे गर्न लागेको हल्ला सुनिसकेकी जनकपुरवालीले भुलीलाई सम्झाउन खोजिन्। तर भुलीले उल्टै जनकपुरवालीलाई सोधिन्, ‘तेरो मनमा लोग्नेको चाहना आउँदैन ?’

उनको कुरा सुनेर जनकपुरवालीले भनिन्, ‘आउँछ नि। आएर के गर्नु ? कसको लोग्नेलाई समातेर ल्याउनू ?’

उनले अनुमान लगाइन्, जनकपुरवालीलाई पनि लोग्नेको मायाको खाँचो छ तर समाजको डरले चुप लागेर बसेकी छे। जनकपुरवालीको कुरा सुनेर भुलीको मनमा झनै ऊर्जा थपियो। अर्को बिहे गरेरै समाजसँगको लडाइ जित्ने निष्कर्षमा पुगिन् भुली।

भुली एक शक्तिशाली स्वास्नीमान्छे थिइन्, सजिलै हार मान्ने खालकी होइन। उनी समयलाई कुरिरहेकी थिइन्। समयले नै परिवार, छिमेकी र आफूबीचको गहिरो खाडल पुरिदिन्छ भन्ने उनलाई विश्वास थियो।

बिहानै लमी भुलीको घरमा आए, र केटो खोजिसकेको, केटो भुलीकै घरमा बस्न तयार रहेको बताए। स्वास्नीको मृत्यु भइसकेको छिमेकी गाउँका समतलाल भुलीसँग बिहे गर्न तयार भएका थिए। समतलालका छोराछोरी थिएनन्, उनी भुलीभन्दा दुई वर्ष जेठा थिए। लमीको कुरा सुनेर भुली खुसी भइन्। उनले बिहेको निमन्त्रणा छपाइन्। छिमेकी, नातेदार र माइतीलाई आफ्नो बिहेको निमन्त्रणा पठाइन्।

बिहेको दिन आयो। निम्तो पाएर पनि उनको बिहेमा छिमेकी, आफन्त र माइतीबाट कोही आएनन्। कोही नआएकाले भुली उदास भइन् तर आफ्नो निर्णयमा अडिग थिइन्। लमी, भुली र समतलाल तीनजना मात्र मन्दिर पुगे। माला हेरफेर गर्दै साधारण तरिकाले बिहे गरे।

यसरी बिहे गरेर भुलीले समतलाललाई आफ्नो घर ल्याइन्। उनीहरूलाई कसैले स्वागत गरेनन्। जेठाजु, जेठानी र छोरो पहिलेदेखि नै बोल्न छाडिसकेका थिए। छिमेकीहरू आए, तर निम्तो मान्न होइन, तमासा हेर्न। जम्मा भएका छिमेकीहरू कसैले ‘बिहे गरेर राम्रै गरी’ भने, कसैले ‘चरित्रहीन’ भने, कसैले ‘लाजै नभएकी स्वास्नी मान्छे’ भने, कसैले ‘पापिनी’ भने। मानौँ, बिहे गरेर भुलीले ठूलै अपराध गरेकी थिइन्। आफ्नो इच्छा अनुसार गर्दा अरुको आँखाको कसिंगर बन्नुपर्ने ! छिमेकीको कुरा सुनेर भुलीलाई रिस उठ्यो। आफ्नो आँगनमा जम्मा भएका छिमेकीलाई उनी रिसाउँदै ठूलो स्वरमा भनिन्, ‘हजारौँ अपराधी खुलेआम घुमिरहेका छन्। मैले अर्को बिहे गरेर के बिराएँ ? कसैको लोग्नेसँग नाजायज सम्बन्ध राखेकी छैन। सुधार्नु छ भने त्यो समाजलाई सुधार, जसले विधुवालाई बिहे गर्न वर्जित गरेको छ, तर विधुरलाई बिहे गर्न स्वीकृति दिएको छ। सुधार्नु छ भने अरुका नाबालिग छोरी र स्वास्नीलाई बलात्कार गर्ने बलात्कारीलाई सुधार। खुलेआम घुमिरहेका बलात्कारी पुरुष राम्रो तर मैले बिहे गर्दा नराम्रो ? मैले नराम्रो के गरेँ ? जसलाई मेरो घर आउनु छ आऊ, आउनु छैन नआऊ। मलाई तिमीहरूजस्तो छिमेकी चाहिँदैन।’ भुली रिसाएर कराएको सुनेर त्यहाँ जम्मा भएका सबै छिमेकीहरू चुप लागेर घर फर्के।

घर फर्केर पनि छिमेकीहरू चुप लागेर बसेनन्। पञ्चायत बोलाएर पञ्चैती बसे। विधुवा भएर पनि अर्को बिहे गरेकाले भुलीलाई समाजले बहिष्कार ग¥यो। पञ्चायतले भुलीको हुक्कापानी (आवतजावत र आगोपानी लिन–दिन रोक) बन्द गरे।

भुलीप्रति समाज यति क्रूर कसरी बन्न सक्यो ? भुलीले गर्दै नगरेको गल्तीको सजाय किन पाइन् ? उनी समाजमा परिवर्तन ल्याउन खोजेकी थिइन् तर परिवर्तनको परिणाम यस्तो हुन्छ भनेर उनले सोचेकै थिइनन्। अब त छिमेकी मात्र होइन, गाउँभरिका मान्छेहरू भुलीको घर आउन छाडिसकेका थिए।

भुलीको बिहे भएको एक सातापछि, जेठानीले सत्यनारायण भगवान्को पूजा गरिन्। टोलभरिका मान्छेलाई भोजको चुलै निम्तो दिइन्, तर आफ्नै देउरानीलाई बोलाइनन्। उनका छोराछोरी समेतलाई बोलाइनन्। जेठानीको घरमा सबै छिमेकी जम्मा भएर रमझम थियो, तर भुलीको घर अँध्यारो थियो।

समतलाललाई लाग्यो– यस्तो बेला स्वास्नी र छोराछोरीलाई साथ दिनुपर्छ। उनले बेलुकी मिठाई र दही–केरा किनेर ल्याए। भुलीले तीन–चार थरीका परिकार पकाइन्।उनले आफ्नै घरमा भगवान्को तस्बिरमा पूजा गरिन् र छोराछोरीलाई मिठाई लगायत परिकार खुवाइन्। छोराछोरी पनि घरमै भोज खाएर रमाए।

समतलालले बिस्तारै छोराछोरीको मन जित्दै गए। उनले अर्को सन्तानको चाहना राखेनन्। भुलीका छोराछोरीलाई आफ्नो सन्तानझैँ माया र हेरचाह गर्न थाले। यही हेरचाहले भुलीका छोराछोरीले समतलाललाई मन पराउन थाले।

भुलीको परिवारलाई गाउँलेले इनार र पम्पबाट पानी ल्याउन पनि रोक लगाए। उनको घरमा पम्प थिएन। उनी पोखरीबाट पानी ल्याएर त्यही पानी तताएर खान्थिन्। गाउँको मिलमा धान कुटाउन बन्द गरियो। उनी धानको बोरा बोकेर एक घन्टा हिँडेर बजारमा रहेको मिलमा जान्थिन्, जहाँ उनलाई कसैले चिन्दैनथे। कहिलेकाहीँ अप्ठेरो पर्दा छिमेकीसँग नुन, तेल पैँचो पनि नपाउने भइन् उनले।

पूरैगाउँ आफ्नो विरुद्धमा भएको देखेर भुली पहिलेभन्दा दुब्लाइसकेकी थिइन्। उनको अनुहार र जिउ सुक्दै गएको थियो। घाँस काट्न खेत जाँदा उनलाई चक्कर लाग्थ्यो।आफू कमजोर हुँदै गएपछि उनले समाजलाई वास्ता गर्न छाडिन्। आफ्नो परिवारसँग मात्र रमाउन थालिन्।पैसा जम्मा गरेर आफ्नै आँगनमा पम्प राखिन्। गाउँमा भोजभतेर हुँदा पूरा गाउँ जम्मा हुन्थ्यो, भोज खान्थ्यो तर भुली र भुलीको परिवारलाई बोलाउँदैनथ्यो। गाउँमा भोजभतेरको दिन उनले छोराछोरीलाई आफ्नै घरमा माछा, मासु र मिठाइका परिकार खुवाउँथिन्।

समाजले जति उपेक्षा गरे पनि भुलीले हिम्मत हारिनन्, समाजसँग लडिरहिन्।

पाँच वर्षपछि समाजसँग गरेको संघर्ष र विद्रोह देखेर उनका जेठानी र जेठाजुले भुलीसँग माफी मागे। शालीन र मिलनसार स्वभावका समतलाल र आत्मविश्वासी भुलीले समाजको मन जित्दै गए। छुट्टै खाना खाइरहेका जेठानी र जेठाजु भुलीसँगै खाना खान थाले। भुलीका जेठाजु समतलाललाई भाइ मान्न थाले।

भुली र समतलालबीच औधि प्र्रेम थियो। उनीहरूले छोराछोरीको पनि उत्तिकै हेरचाह गर्थे। भुलीको परिवारमा यति गहिरो माया थियो कि समाजमा उनीहरू उदाहरणीय परिवार बने। विरोध गर्ने मान्छेले बिस्तारै प्रशंसा गर्न थाले। भुलीप्रति सहानुभूति प्रकट गर्न थाले। गाउँमा बुढाबुढीको झगडा प-यो भने ‘लोग्ने स्वास्नीको जोडी भनेको भुली र समतलालको जस्तो हुनुपर्छ’ भनेर उदाहरण दिन थाले।

लेखक : मुना चौधरी
श्रोत : नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.