कमजोर संघियता कि नेपालीको आत्मबिश्वास ?

सुशील चौधरी sushil chaudhary
कुनै पनि देशको सफलता त्यस देशको शान्ति तथा स्थिरताले तय गर्छ । भकारी र भान्छामा जति नै बढ़ी अन्न भएपनि बाँड्नेले सबैको थालमा बराबर नपस्केसम्म सबैको पेट भर्दैन । यहाँ समस्या असमान बितरण तथा सामुहिक पहिचानको हो न कि देशको समृधीको । देश धनी भएपनि बितरण प्रणाली गरीब छ । खलती तथा खातामा प्रशस्त धन राखेर पनि कुपोषणको शिकार भए जस्तै अवस्था हो यो ।

नेपाल के मा कम छ ?

बिश्वमा ब्राजील पछि दोश्रो जल श्रोतको धनी देश ;
प्राकृतिक सौन्दर्यले भरिएको एशिया स्विजरल्याण्ड;
बाह्रै महीना बाताबरण तथा मौसम अनूकूल हुने देश;
जड़ी बूटी तथा बन जंगलले ढाकेको देश;
सौर्य शक्तिले बाह्रै महीना कृपा गर्ने देश; आदि आदि।
तर अझै पनि बिकास नहुनुको कारण के ? आउनै लागेको पहिचान सहितको संघियता ?

हामी सबैलाई थाहा छ कि यही नेपालमा कसैले अघाउन्जेल खाएर पनि सात पुस्तासम्मको जोहो गरेर राख्न भ्याएको छ भने कसैले एक छाक पनि पेटभरी खान पाएको
छैन । किन ?

किनकी उत्पादन कार्यमा संलग्न समूहले जती नै बढ़ी उत्पादन तथा श्रोत परिचालन गरेपनि ती सबलाई सबै जनताहरुमा बराबर बितरण नगरी आ-आफ्नै लागि लुकाउदै सारा समय खर्चेका छन् । यसको राम्रो उदाहरण वा प्रमाण भनौ हालैको बिनाशकारी भूकंपपछि बिश्वभरीबाट प्राप्त साधन र श्रोतलाई समेत सफलतापूर्वक बितरण गर्नुको सट्टा गरिएको नौटंकीलाई नै लिन सकिन्छ । कसरी गोदामभित्र पर्याप्त सामग्री कुहिंदा पनि पीड़ितहरु भोक भोकै बस्न बाध्य थिए । जनताहरु खुल्ला आकास मुनि घाम-पानी खेप्दै गर्दा साधान र श्रोत बाड्ने जिम्मा पाएकाहरु नै कसरी लाइन बसेर त्रिपाल लुटेका थिए । भूकंप पीड़ितका नाममा आएको सहयोगबाट को को ले कति कति र कसरी कमाए भन्ने घटनाहरु त पटक पटक मीडिया तथा सोसल मिडियाहरुमा हामीले देखेकै हौं । आँखा अगाडी घटेको यो सानो दृश्य प्रयाप्त छैन त संजाल भित्रको जाल बुझ्न कि नेपाल भन्ने देश कसले र कसरी चलाएका छन भनेर बुझ्नलाई ?

यसरी देशमा उत्पादन नबढ्नु र बिकास सुचाङक माथि नउठनुमा राज्य सञ्चालनमा निहित स्वार्थी समूहको हाली मुहाली रहेको कुरा के अझै पनि लुकेको छ र ? माथिल्लो ओहदामा आसीन बर्गले हाइड्रो पावरको ठेक्कालाई कसरी आ-आफ्नो झोलामा थन्क्याउदै नेपालको जलश्रोतलाई पंगु बनाएको छ यो रहष्य के अझै पनि लुकेको छ र ?

यी सब कुरा जान्दा जान्दै देशको समस्याको सारा दोष आउन बाँकी रहेको संघीयतालाई दिनु कहाँसम्मको बठ्याइ हो भन्ने कुरा अब पनि नबुझ्ने नेपाली छन् होला त ? आफै आफै बिचार गर्नुस् ।

कर्मभन्दा भाग्यमा बढ़ी बिश्वास गर्ने नेपाली समाजलाई यहाँका बिज्ञ तथा नेताहरुले आफ्नो ईच्छा तथा योजना अनुसार डोरयाउन धेरै हदसम्म सफल भएको प्रमाण पटक पटक देखा पर्नु त सामान्य घटना भैसकेको छ । हल्लै हल्लाको देश नेपालमा कस्ले एउटा के फ्याट्ट ल्याउँछ सबै त्यसैको पछाडी लाग्छ ।

हिजोसम्म अमेरिका, क्यानाडा, अस्ट्रेलिया, ब्राजील, स्विजरल्याण्ड, जर्मनी, ऑस्ट्रिया, बेल्जियम, मलेशिया, स्पेन आदि जस्ता देशहरुमा संघियता सफल भएको देख्ने सचेत तथा चलाख आँखाहरु त अचानक सुडान र नाइजेरियाको असफल संघीयताको उदाहरण दिने भिमार्जुन आचार्य र हिजोसम्म संघियता बिना देशको बिकास असंभव देख्ने गगन थापाको आफ्नै मान्यताप्रती अचानकको अबिश्वासप्रति हो मा हो मिलाउन थालेका छन , क्या अचम्म ल हेर्नूस् त !

यही अनिश्चयको ढुलमुले प्रबृतीले के देखाउँछ भने नेपालीमा संभवत क्षमता जति नै भए पनि कार्य योजना र दृढ़ताको सच्चिकै नै अभाव पो छ कि !

हूँईयाको प्रबृति हॉबी भएको त छैन नेपालीहरुमा ?

एउटाले एउटा कुरा भन्छ त्यसैलाई हो त नि भन्दै सबै पछि पछि लाग्छन् । केहि समयपछि अर्कोले होइन भन्छ अनि हो त नि है भन्दै फेरी अर्कैको पछि लाग्छन् । तेस्रोले फेरी कुनै नयाँ कुरा गर्छ फेरी त्यसैको पछि । आखिर कहिलेसम्म यसरी जसले जे भन्यो त्यसैको पछि कूदने ? आफुभित्रको बिबेक तथा सकारात्मक पक्षलाई उजागर नगरी भाग्यबादी सोचमा कहिले सम्म बाच्ने ? नेपाल छोडेर जुन देशमा बसेको छ त्यही देशको साशन पद्धतिमा यो देश बाहिरबाट खोट औल्याउनेलाई बिश्वास गर्ने तर आफैले देख्दै भोग्दै आएका गुणहरुलाई देख्न र चिन्न नसक्ने हाम्रो खूबी पनि गज्जबकै छ जस्तो लाग्छ ।

आधारभूत बिकासको प्रयाप्त संभावना हुँदा हुँदै पनि किन नेपाल अझै गाँस, बास र कपासमै अल्झेको होला त ? अझै पनि बुझ पचाउन जरूरी छ र ?

बास्तबमा नेपालको समस्या केहि बर्ग र समूहले हाली मुहाली गर्दै देश दोहन गरेर राजकीय ठाट बाटका जिन्दगी बाँच्ने तथा आगामी सयौ पुस्ताका लागि सम्पति जोड्ने खेलमा लिप्त हुँदा सिमित ब्यक्तिहरु मालामाल बाँकी जनता कंगाल हुन गएका होइनन् र ? यसै कारणले गर्दा सही बितरण प्रणाली लागू हुन नसक्दा सर्ब साधारणहरु झन झन गरीब हुँदै पिडीत र शोषित हुँदै गएको के सत्य होइन र ?

एकात्मक राज्य प्रणालीको गुणगान गर्नेहरुले नेपालको दुर्दशाको लागि संघीयतालाई नै जिम्मेवार ठान्दै गर्दा बिगतका अढ़ाई सय बर्षको हिसाब किताब कसरी गर्नुहुन्छ नि ? आउदै नआएको संघीयतालाई दोष दिएर कतै बिगतमा झै भावी महाराजहरुको स्वीस बैंकमा गरीब नेपालीहरुको रागत पसिनाको कमाई जम्मा गर्ने षडयंत्रमा जानेर वा नजानेर सामेल पो हुन लाग्नु भएको त होइन ? बिचार गर्नु होला ।

साच्चीकै समस्या संघीयतामा छ कि धूर्त नेताहरू तथा तिनीहरुले परिचालन गर्ने संजालमा ? सम्पूर्ण राज्य प्रणालीनै भ्रष्टाचारको जालोमा फसेको यो देशमा कुनै पनि तह र तप्का शुद्ध छैन कि जस्तो भान हुन्छ । बर्गीय तथा ब्यक्तिगत स्वार्थका लागी जनता र देशको भबिष्यसंग खेलबाड़ गर्न पार्टीगत का साथै बिभिन्न बर्गीय तथा जातीय राजनीतिले राम्ररी नै सघाएको कटु सत्यले पनि हामीलाई छुन नसक्नु मनाबीयताको स्खलन हो भने प्रजातंत्र तथा सामजिक न्याय प्रतिको सामूहिक बलात्कार पनि ।

नेपालीहरुको आत्मबिश्वासको कमी र यो हुईयाँ प्रबृतीले मलाई त एउटा उखान पो याद आयो “नमच्चिने पिङको सय झटका ” । बीबीसीमा हालै प्रसारित भिमार्जुन आचार्य तथा गगन थापाको संघियता माथीको बहस सुनेपछि मेरो मनमा यस्तै कुरा खेलिरहेका छन् |
ग्लेन भ्यु, सिकागो, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.