चिरै। चरै। चिरै भजहर

chiraiनेपालमा आदिबासी थारु, संस्कृतिको धनी जनजाति मानिन्छ । यो जातिले बार्है महिना चाडपर्व, तरत्यौहार मनाइरहन्छ । देशमै संस्कृतिको धनी मानिने आदिबासी जनजाति थारुमा कैलाली एक अलग पहिचान बनाएर बसेको छ । त्यो अलग पहिचान भनेको यहाँ भएको धेरै थर, उपथर र संस्कृतिको बेजोड संगम हुनु हो । यसको मतलब अरु जिल्लामा यस्तो छँदैछैन भन्न खोजेको हैन, फेरी पनि कैलालीमा केहि त्यस्ता थारुहरुका थर छन्, चाडपर्व छन्, जुन अरु जिल्लामा छैन भन्दा फरक नपर्ला । तपाई कञ्चनपुरमा जानुहुन्छ भने चौधरी, राना थारु पाउनुहुन्छ भने कैलालीमा चौधरी, राना र कठरिया थारु पाउनुहुन्छ । धेरै ठाउँ, जिल्लामा नमनाउने त्यौहार तपाई कैलालीमा आउनुहुन्छ भने मज्जाले देख्न सक्नुहुन्छ, त्यसमा रमाउन सक्नुहुन्छ । त्यस्तैमध्येको एउटा त्यौहार हो, चिरै त्यौहार । त्यसैले आउनुस् चिरैं त्यौहारबारे यहाँ सानो चर्चा गरौं ।

परिचय ः

थारु भाषामा चिरैं भनेको चरा, पंक्षी हो । चरा स्वतन्त्र हुन्छन् वा हुँदैनन् यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर एक हिसाबले हेर्ने हो भने चरा, पृथ्वीको एक स्वतन्त्र जीव हो भनी मान्न कर लाग्छ । पंक्षीका बारेमा अध्ययन अनुसन्धान गर्ने चरा बिशेषज्ञहरुका अनुसार चरा एक देशबाट अर्को देशमा रमाउन, केहि समयको लागि पाहुनी खान अर्थात आगन्तुकको रुपमा हिंड्छन् रे । घोरीघोरा तालमा पनि हिउँदको बेला उत्तर एशियाबाट र बर्खा लाग्ने बेला समुन्द्र नजिक बस्ने चराहरु केहि समयको लागि रमाउन आउँछन् भन्ने उनीहरुको अध्ययनले देखाउँछ । चरा सम्बन्धमा हिन्दीमा तमाम गीत पनि छ, मै तो एक पंक्षी हुँ नील गगनका, चल उर जा रे पंक्षी जस्ता । हो, थारु समुदाय पनि चरालाई स्वतन्त्र रुपमा देख्यौ । चेलीबेटीहरु रमाउने यो दिनलाई, त्यौहारलाई समुदायका उदार गुरुवाहरु, भर्राहरु, जानकारहरु, भलमन्सा, बरघर, महतोहरु चिरै, चरै, चिरै भजहर भनी नाम दिए । त्यसैले भन्नै पर्छ, चिरैं त्यौहार कैलालीका थारुहरुले मनाउने एक त्यस्तो फरक त्यौहार हो, जहाँ चेलीबेटीहरु नै ग्राह्य हुन्छन् । जसलाई चिरै। चरै र चिरै भजहरको रुपमा चिन्ने गर्दछन् । बिशेषतः यो त्यौहारका मूल पात्र कन्या (अबिबाहित) केटी हुन्छन् । दोश्रो भर्खर बिबाह गरी ससुराल पुगेका नवबिबाहित चेलीहरु पनि यसमा सामेल हुन पुग्छन् । अन्य महिलाहरुलाई रमाउनबाट पनि कुनै रोकटोक हुँदैन । पुरुष भने यसमा सहभागी हुन सक्तैन । यस पावन दिनमा थारु चेलीबेटीहरु स्वतन्त्र हुन्छन् । गाउँभरीका चेलीबेटीहरु गाउँबाहिरको बगिया (बगैचा) वा रुखबरिख भएको ठाउँमा जम्मा हुन्छन्, दिल खोलेर हाँसखेल, राहरंगी गर्छन् । चिनजान नभएकाहरुबिच चिनजान हुने गर्दछ । तपाईं कल्पना गर्नुस्, त्यो क्षण, त्यो बाताबरण कति रमाइलो हुन्छ होला, जब गाउँभरीका चेलीबेटीहरु आफ्नै भेषभूषामा सज्जिन पुग्छन्, एकै ठाउँमा भेला हुन पुग्छन्, तारा चिरौवर, छुर, कोइली दिदी, अत्ता अत्ता पानी गंगा रानी जस्ता खेलहरु खेल्दछन्, नाच्छन्, गाउँछन् र रमाउँछन् । घरका आमा, बुवा, बाजे बज्यै वा अभिभावक त्यस दिन आफ्ना चेलीबेटीहरुलाई खुशी राख्नमा नै तल्लीन हुन्छन् । त्यसैले नै हो, यहाँका थारु बुद्धिजीविहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवस एवं नारी दिवसको रुपमा लिंदै आएका छन् ।

कहिले पर्दछ चिरैं ?

उसो त चिरै त्यौहार, चैत महिनाको ओजरीया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि अपराध मानिंदैन । फेरी पनि गुरुवाहरु, जानकारहरुका अनुसार चैत महिनाको ओजरीया (शुक्ल पक्ष) को अन्तिम शुक्रबार नै चिरैंको लागि उत्तम मानिन्छ । कथंकदाचित अन्तिममा शुक्रबार परेन भने सोमबार, सोमबार परेन भने जुनसुकै बार भएपनि हुन्छ ।

के के गर्दछन् चिरैमा

चिरै त्यौहारमा घरका कन्या केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । त्यस दिन उनीहरु स्वतन्त्र हुन्छन् र घरको अरु कामसँग मतलब हुँदैन । घरका महिलाहरु नुहाई धुवाई गरी खाना र बरीया (पुरी), खुरमा (त्रिकोण र चौकोण आकारको पुरी) तयार गर्दछन् । खाना खाई, आफ्नो भेषभूषामा सजिएका केटीहरु घर घरबाट निस्कन्छन् र गाउँ भन्दा बाहिर बगिया (आँपको बगैचा), बरपिपल वा कुनै रुखबरीख जसको छहारी हुन्छ, जुन छहारीमा गाउँभरीका केटीहरु बस्न सक्छन्, रमाउन सक्छन्, खेल्न सक्छन्, त्यसलाई रोज्छन् र त्यहाँ आश्रय लिन्छन् । त्यहाँ उनीहरु पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि खेल खेल्दछन् । आ आफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिल खोलेर हाँस खेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् । उनीहरु एकदम स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वैच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री, सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने आम मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत (लक्ष्मीदेवीको कृपा) आउँछ भन्ने मान्यता छ ।
त्यस दिन घरका चेलीबेटीहरुलाई दुख लाग्ने, चित्त दुःखाउने कुनै कुरा गर्नुहुँदैन, उनीहरु खुशी रहे, देवी देवता खुशी रहन्छन्, रोगब्याध लाग्दैन, आपत्ति पर्दैन भन्ने आम मान्यता भएकोले उनीहरुलाई खुशी राख्नु हरेक अभिभावक आफ्नो कर्तव्य ठान्दछन् । चेलीबेटीहरु भोकभोकै नरहून् भनी घरका आमा, काकी, बज्यै वा कुनै पनि नाता पर्ने महिलाले उनीहरुका लागि मिझनी (दिउँसोको खाना, नास्ता), पानी लिएर उनीहरु भएको ठाउँमा जान्छन् र खुवाउँछन्, पिवाउँछन् । स–साना नानीहरुलाई ख्याल गरिदिन्छन्, यसो गर्नु, खेल्नु, झगडा नगर्नु, सिकाउँछन्, सम्झाउँछन् र आफू पनि बालापनको दृश्यावलोकन गरी धन्य हुन्छन् । रामायणमा जसरी राम, लक्ष्मण, भरत, शत्रुघनको बालापनबाट काक भुसुण्डी मन्त्रमुग्ध हुन्छन्, किंकर्तव्यबिमुढ हुन्छन्, दशरथ पुत्रहरु र काकभुसुण्डीको लुकामारी खेलबाट देवताहरु लालायित हुन्छन्, त्यसैगरी मिझनी दिन जाने महिलाहरु, चेलीबेटीहरु खेलेको, रमाएको देखेर मन्त्रमुग्ध हुन्छन् । त्यतिबेलाको क्षणले, बाताबरणले उनलाई मात्र होइन, स्वर्गका देवी देवताहरु पनि मन थाम्न सक्तैनन्, खुशी हुन्छन्, मोहित हुन्छन्, अदृश्य रुपमा उनीहरुसँग रमाउँछन्, आशिर्बाद दिन्छन्, कृपा गर्दछन् भन्ने जानकारहरुको बिश्वास छ ।
त्यसैले चिरैं त्यौहार, त्यो पावन त्यौहार हो, जसले केटीको आवश्यकता र महत्व दर्शाउँछ । जुन घरमा केटी हुँदैनन्, त्यो घरलाई त्यस दिन केटीको अभाव खट्कन्छ । चेलीबेटी नभएका घरले मेरो घरमा एक जना चेलीबेटी भएको भए म पनि पठाउँथे भनी पछुताउने गर्दछन् । कतिपयले छरछिमेक वा ईष्टमित्रका चेलीबेटीलाई बोलाई खानपिन, पोशाकको ब्यबस्था गरेर पनि आफ्नो घरको तर्फबाट चिरै भजहरमा प्रतिनीधित्व गराउँदछन् ।
चेलीबेटीहरु गाउँबाहिर जम्मा भैसकेपछि गाउँले पुरुषहरु गुरुवालाई लिएर चेलीबेटीहरु भएको ठाउँमा जान्छन् र पुजा गर्दछन् । यस सम्बन्धमा कैलालीको पूर्बी क्षेत्रमा बसोबास गर्ने गुरुवा सोमै डंगौरा भन्छन्, “चिरैंमा पूजा गर्दा ७ धजा (ध्वजा), ७ खप्पर, तीर धनुष, काजल, सिन्दुर, धूप, १ दिया, छाँकी (दारु, पानी वा ल्वाङ, पानी), गाईको दूध आवश्यक हुन्छ, यसमा देवी देवता र ७ बहिनिया (दुर्गा, कालिका, मरी, घोटैली, आदि ७) र उनीहरुको ७ लहराको पुजा हुन्छ, दिउँसो एकचोटी पुजा हुन्छ र साँझ पुनः पुजा गरी बाटोमा नघान (बाटोमा आगो बालेर नाघिने कार्य) काटी चेलीबेटीहरुलाई घर घर जाने अनुमति दिइन्छ ।” गुरुवाले पुजा गर्दा मन्त्र पढी चारै दिशा, आकाश र पातालतिर धनुषबाण चलाउँदछन् । जसले रोग, ब्याध, दुःखबिमार, अनिष्टको नाश गर्दछ र गाउँ समाजमा सुख शान्ति छाउँछ भन्ने जनबिश्वास रहेको छ ।

ऐतिहासिक पक्ष

हिन्दूहरुको ब्राम्हन, मुश्लिमको मूल्ला, क्रिश्चियनहरुको पादरी जस्तै थारु समुदायको देवी–देवताको पूजा गर्ने, गाउँ समाजलाई रोगब्याध, भूतप्रेत, अनिष्टबाट बचाउने भनी हरेक गाउँमा गुरुवा हुन्छ । गाउँ हेर्नेलाई भुईहार भनिन्छ । थारु समुदायमा जब भुईको सृष्टि भयो, मानव सृष्टि भयो, त्यसैबेलादेखि भुईहार पनि सृष्टि भए भन्ने भनाई छ । चिरै सम्बन्धमा एक किम्बदन्ती छ । परापूर्वकालमा कुनै गाउँमा दुःखबिमार एवं ठूलो बिपत्ति आइप¥यो । त्यतिबेला गाउँका भलमन्साले गुरुवालाई बोलाएर गाउँलाई ठिक पार, सुखशान्ति कायम गर, अन्यथा तिमीलाई पनि सजाय हुन्छ भन्दा गुरुवाले गुरैपाटी शुरु गरे । गुरुवा जानकार थिए । उनले रातभरी लगातार गुरैपाटी गरे, आछतबीरा हेरे । ध्यानलाई केन्द्रित गरी पुनः पाटीमा बसे र पुजाबिधि पत्ता लगाए । देबी–देवतासँग प्रार्थना गरे, भाकल गरे कि हे देवी, हे देव, मेरो गाउँ गिराउँको रक्षा गर, कुनै गल्ती भए माफ गर । चैत शुक्ल पक्षको अन्तिम शुक्रबार यहाँहरुको म पुजा गर्छु, गराउँछु । देवी रुप कन्याहरुको सम्मान गर्छुु । सपनामा पनि उनले देवी देवताबाट आदेश पाए, चैत महिनाको शुक्ल पक्षको अन्तिम शुक्रबार, शुक्रबार नभए सोमबार पुजाको लागि उत्तम छ, पुजा गर, चेलीबेटीको सम्मान गर । बिहान भलमन्साले गुरुवालाई सोधे के गर्नुपर्छ गुरुवा महाराज । गुरुवाले भने भलमन्सा ज्यू ‘भोली चैत महिनाको शुक्ल पक्ष र अन्तिममा शुक्रबार परेको छ, गाउँ भरीका अबिबाहित चेलीबेटीहरुलाई सोर्हो सिङ्गार गरेर गाउँबाहिरको बगिया, बगैचा, बर, पिपल, पकडिया छहारी भएका रुखहरु तल जम्मा हुन लगाउनुपर्छ, उनीहरुलाई खुशी पार्नुपर्दछ, उनीहरु खुशी भए भने देबी खुशी हुन्छन् । गाउँलेले कन्याहरुको सम्मानमा कञ्जुस्र्याई गर्नुहुँदैन । एक दिन उनीहरुको खुशीको लागि छुट्टयाउनुपर्दछ । गुरुवाले भने अनुसार भल्मन्साले गाउँलेहरुलाई गर्न लगाए र गाउँमा सुख शान्ति छायो । त्यसबेलादेखि चिरै÷चरै÷चिरै भजहरको शुरुवात भएको हो । त्यसैले अभिभावकहरु चिरैको दिनमा कन्याहरुलाई खुशी राख्नु आफ्नो कर्तव्य ठान्छन्, उनीहरुलाई दान गर्नु नारीको सम्मान ठान्छन् । उनीहरुले बाटो छेक्दा रित्तो हात फर्काउँदैनन् । बिशेषतः यो पर्ब कन्याहरुको स्वतन्त्रताको दिन भएकोले जानकारहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवसको रुपमा पनि अथ्र्याउने गरेका छन् ।
अन्तिममा के भन्न सकिन्छ भने चिरैं÷चरै÷चिरै भजहर बिशेषतः चेलीबेटीहरुको पर्व हो, त्यौहार हो । तर कतिपय गाउँमा यसलाई चेलीबेटीहरुले नै बिकृत बनाए । कतिपय गाउँमा आफूलाई जानकार ठान्नेहरु बिकृत बनाए । बाटो छेक्ने, जबर्जस्ती रकम टोकेर माग्ने, नदिन चाहने ब्यक्तिलाई दबाब दिने, कसैको खेतबारीमा चना केराऊ भए बढी नै खाइदिने कार्यले कन्या दिवस, सखी दिवस बिकृतीको रुपमा पनि देखियो । त्यसैले यसलाई राम्रो बनाउने कार्य तपाई हामी सबैको हो, जिम्मेवार ब्यक्ति सबैको हो । यसलाई मान्ने, मनाउने हरेकले चाडपर्वप्रति जिम्मेवार बन्नुपर्छ । हाँस, खेल, राहरंगी गर्नुपर्छ, रकमको लागि दबाब दिन हुँदैन । हरेक जानकार ब्यक्ति, सचेत ब्यक्तिहरुले चेलीबेटीहरुको सम्मान गर्न पछि पर्नुहुँदैन । उनीहरुको सम्मानबिना घरमा, गाउँमा शान्ति हुन सक्तैन भन्ने कुरालाई बिर्सन हुँदैन । कतिपय मित्रहरु फागुनमा मनाउने चालचलन चैतमा मनाउने, चैतमा मनाउने परम्परालाई बैशाखमा धकेल्ने गरेका छन् । यसरी महिनालाई बदलेर, धकेलेर संस्कृतिको संरक्षण र सम्बद्र्धन हुँदैन । परम्परालाई तोडमरोड गरेर संस्कृतिको आफ्नो पन रहँदैन । यसमा सबैको ध्यान जान आवश्यक छ । धन्यवाद !

(Top Image Credit: Bronwyn8)

01dil

– Dil Bahadur Chaudhary

2 thoughts on “चिरै। चरै। चिरै भजहर”

  1. Sir,
    Mali tharu ko stick dance barema kehi bises janakari dinu hunako lagi anurodh gardxau.

    Lal Bahadur Gurung
    Principal-Vidhya Sadan Secondary School, Birgunj
    Contact – 98550 28639

    1. Tharu stick dance सदियो देखि चली आएको नाच हो, पाहिले थारुहरुले आफुले जे प्रयोग गर्यो त्यसैलाइ लिएर नाचने चलन थियो, गाई बस्तु चराउने क्रममा हातमा लौरो लीइन्छ त्यसैलाई प्रयोग गरेर नाचने क्रममा लाठिहवा नाच प्रचलनमा आएको हो।

Leave a Reply to Vivek Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.