चौठीचाँद – कथा

– मुना चौधरी
पुरणी खेतबाट फर्किंदा उनकी छोरी संसारी उनलाई कुरेर देहरीमा (पिँढी) बसिरहेकी थिइन् । संसारी यति धेरै आसाले बसिरहेकी थिइन् कि उनलाई लागिरहेको थियो उनकी आमा पुरणीले उनको लागि केही न केही खानेकुराहरु ल्याइदिन्छिन् । तर हातमा हँसिया बोकेर पुरणी रित्तो हात फर्किन् । संसारी मुखमा भएको थुक निलिन् । उनको अनुहार उदास भयो तर उनी मनमनै खुसी भइन् आमालाई दखेर । उनी आमाको सारी समात्दै भनिन्, ‘धेरै ढिला आउनुभयो ?’ पुरणी संसारीको कुरा सुनेर भनिन्, ‘धेरै काम थियो खेतमा ।’ उनले कुरा अर्कोतिर मोड्दै भनिन् , ‘भोलि पावैन हो नि आमा ।’ उनले संसारीको कुरा सुनेर भनिन्, ‘हो चौठीचाँद हो भोलि ।’
उनी संसारीको मनको भाव बुझ्नै सकिनन् । बुझेको भए पनि केही गर्थिन् कि ? संसारीलाई  थरि थरिको परिकार खाएर चौठीचाँद मनाऔँ भनेर उनले आफ्नी आमालाई भन्न खोजिरहेकी थिइन् । तर उनी सानैदेखि अरु बच्चाहरु जस्तो माग कहिले आफ्नी आमालाई राखिनन् । आमाले जे पकाएर दिन्थिन् त्यही खान्थिन् । कुनै कुरा खान मन लागे भने पनि कहिले खान माग गर्दैन थिइन् । उनलाई थाहा थियो उनका बाआमा खेतको काममा व्यस्त हुन्छन् । घरमा भन्दा खेतको काममा उनका बाआमा बढी समय दिन्थे ।
बिहानै उठेर उनकी आमा खेत काम गर्न गइन् । उनी बिहानै आमालाई सोधिन, ‘आमा हाम्रो घरमा चौठीचाँद हुँदैन हो ?’ उनकी आमाले जवाफ फर्काइन्, ‘भाकल गरेको छैन । गाई, गोरु र भैँसीको सुस्वास्थ्यको लागि चाँद बाबासँग भाकल गर्नेले मात्र चौठीचाँद मनाउँछन् ।’ उनी आमाको कुरा सुनेर निरास भइन् । उनी चाहन्थिन उनको घरमा पनि चौठीचाँद मनाइयोस् । तर उनी केही भनिनन् । उनी खेल्न तिलुवाको घर गइन् । तिलुवा उनकै उमेरका उनको टोलका केटा साथी थिए । तिलुवाकी आमा एक कन्ती दुध उमालेर दही पौरन (दही बनाउन) दुध कन्तराहरुमा हालिन् । दुध सेलाएपछि त्यसमा जोरन (थोरै दही) हालिन् । जोरन हालेर सबै कन्तरा सिकमाथि टाँगेर राखिन् । यो सबै दृश्य संसारीले हेरिरहेकी थिइन् ।
तिलुवा दुधको डारही (कन्तीमा लागेको तर) खान रोइरहेको थियो । दुध कन्तरामा हालेर कन्ती खाली थियो । कन्तीमा डारही बाक्लै थियो । डारही देखेर संसारी थुक घुटुक्क निलिन् । उनलाई डारही खान मन लागिरहेको थियो तर उनले भन्न सकिनन् । तिलुवा रोएको देखेर उनकी आमा तिलुवालाई सम्झाउँदै भनिन, ‘देउतालाई नचढाइकन खानु हुँदैन नत्र चरक (कुष्ठ रोग जस्तो घाउ हुने रोग) फुट्छ वोनवीर काका जस्तै ।’
गाउँका वोनवीर काकाको जिउभरि सेतो दाग थियो । सबैले भन्थे वोनवीरले सानोमा चौठीचाँदको दही चोरेर खाएका थिए त्यसैले उनको जिउभरि चरक फुटेको थियो । ‘भोलि चौठीचाँद पावैन (पर्व) गरेर डारही  खान दिन्छु ।’ भनिन् तिलुवाकी आमाले तिलुवालाई तैपनि  तिलुवा चुप लागेनन् । तिलुवा रोएको देखेर उनलाई फकाउनको लागि उनकी आमा तिलुवालाई गुड (सख्र) दिइन् । तिलुवा भकाभक गुड खान थाले । तिलुवाले गुड खाएको देखेर संसारीलाई पनि गुड खान मन लाग्यो । उनी तीन, चार पटक थुक निलिसकेकी थिइन् ।  संसारी तिलुवाकी आमातिर हेरिन् । उनकी आमा काम गर्न व्यस्त थिइन् । संसारी केही बोलिनन् । तिलुवाको छेउमा गइन् । तिलुवालाई भनिन्, ‘गुड कस्तो छ ? मिठो छ हो ?’ तिलुवा खान व्यस्त भएकाले केही बोलेनन् । उनी कपाकप खाइरहेका थिए । संसारी तिलुवाको मुखतिर हेरेर थुक निलिरहेकी थिइन् । उनी जसरी पनि तिलुवाको गुड थोरै भए पनि चाख्न चाहन्थिन् । उनी तिलुवाको गुडतिर एक टकले हेरेको हेरै थिइन् । तिलुवालाई अर्को कुरामा लगाएर उनी गुड खान चाहन्थिन् तर उनलाई माग्न सकिनन् । तिलुवा बदमास थियो । अरुको खानेकुरा खोसेर खाइ दिन्थे तर आफ्नो खानेकुरा कसैलाई नदिने खालका थिए ।
तिलुवालाई तिर्खा लाग्यो । छेउमा भएको कचौरामा तिलुवा गुडको सानो डल्लो राखेर पानी पिउन थाले । तिलुवा पानी पिउँदै गर्दा संसारीले गुडको डल्लामा औंलाले कोप्रिदै थोरै गुड खाइन् । तिलुवा पानी पिउँदै एउटा आँखाले हेरिरहेको थियो । तिलुवा पानीको गिलास भुँइमा राख्दै संसारीको पिठ्युमा एक लात हान्यो । संसारी भुइँमा पछारिईन् तर रोइनन् । उनको कुहिनामा चोट लाग्यो । उनी हतपत उठ्दै औँलामा लागेको गुड आफ्नो फ्रकमा पुछिन् । तिलुवाकी आमाले संसारीले गुड कोप्रेर खाएको थाहा पाएर संसारीलाई रिसाउँदै भनिन्, ‘जा आफ्नी आमालाई माग । मेरो छोरोको जे पनि चोरेर खाइदिन्छे यो केटीले । जा आफ्नो  घर जा ।’ संसारी उनको कुरा सुनेर त्यहाँबाट उठिन् । गुड खाएर उनलाई मुख गुलियो लागिरहेको थियो । उनी जिब्रोले ओठहरु चाट्दै त्यहाँबाट निस्किन् । आफ्नो घर आइन् । उनकी आमा खेतबाट घर आइपुगेकी थिइनन् । उनी आमालाई घरमा नदेखेर निरास भइन् ।
भोलिपल्ट सबैको घरमा दही, खिर र तेलपौर रोटी पाक्यो । तर उनको घर सुनसान थियो । केही पाकेको थिएन् । उनको घरमा चौठीचाँद नभएको हुनाले उनलाई घरमा बस्न रमाइलो लागेन । सबैको घरमा रमझम थियो तर उनको घरमा रमझम थिएन । सुनसान घरमा उनलाई बस्न मन लागेन । हिजो तिलुवाले लातले हानेको कुरा बिर्सिसकेकी थिइन् । उनी एक अबोध बालिका थिइन् । बालबालिकामा आफ्ना र पराई छुट्याउने क्षमता नै कहाँ हुन्छ र ? उनको टोलमा उनको उमेरका खेल्ने साथीहरु पनि थिएनन् । उनका साथी थिए त केवल तिलुवा । उनी फेरि तिलुवाको घर गइन् । तिलुवाकी आमा चौठीचाँद पर्व गरिरहेको संसारीले तिलुवाको छेउमा ओसरामा बसेर हेरिरहिन् ।  पूजा गरिसकेपछि तिलुवाकी आमाले तिलवालाई खिर, दही, तेलपौर रोटी र तरकारी खान दिइन् । तिलुवाले खाइरहेको संसारीले हेरिरहेकी थिइन् । उनी तिलुवाको थालतिर हेर्दै थुक घुटुक्क निलिन् । थुक निल्दा उनको घाँटीका हड्डीहरु तलमाथि चलेको देखियो । तिलुवाको छेउमा बसेर उनको खानातिर हेर्दै गरेको देखेर तिलुवाकी आमाले भनिन्, ‘संसारी तेरो आमाले चौठीचाँद मनाउनु भएन हो ?’ तिलुवाकी आमाको कुरा सुनेर संसारीले विस्तारै मनाउनु भएन भनेर टाउको हल्लाइन् । तर जवाफ केही दिइनन् । तिलुवाकी आमा पनि एउटी आमा थिइन् । उनले संसारीको अबोध मन बुझिन् । संसारीको मन बुझेर तिलुवाकी आमाले सानो थालमा संसारीलाई एउटा तेलपौर रोटी र तरकारी खान दिइन् । तर खिर र दही दिइनन् । उनलाई खान दिएर तिलुवाकी आमा भान्सा घरमा काममा व्यस्त भइन् । संसारी पटक पटक तिलुवाको थालमा भएको दही र खिरतिर हेरिरहेकी थिइन् । उनलाई खिर र दही खान मन लागिरहेको थियो तर उनी अन्तरमुखी स्वभावकी भएकीले तिलुवाकी आमालाई उनले खिर र दही माग्न सकिनन् । तिलुवाले खाँदै गरेको खिरमा उनले चोर औला चोपिन् । उनी तुरुन्तै खिरबाट औला हटाएर मुखमा हालिन् । उनको औँलामा लागेको खिर मिठो र स्वादिलो लाग्यो । आफ्नो थालको खिरमा औला चोपेर खाएको देखेर तिलुवा पुरै थाल घोप्टाएर रुन थाल्यो ।
तिलुवाले घोप्टाएको थालको छेउबाट दही भुँइमा पोखिएको थियो । तिलुवा रिसाएको संसारीलाई थाहा भएन । भुँइमा पोखिएको दहीमा संसारी चोर औँला चोप्दै मुखमा हालिन् । दही पनि उनलाई मिठो लाग्यो । तिलुवा रोएको देखेर तिलुवाकी आमा भान्साबाट आइन् । तिलुवाले थाल घोप्टाएको देखेर उनकी आमाले  तिलुवाालाई भनिन्, ’किन थाल घोप्टाइस् ? के भयो ? तँलाई ?’ तिलुवाले जवाफमा भने, ‘संसारीले मेरो खिर खाई ।’
तिलुवाकी आमाले संसारीको थालतिर हेरिन् । संसारीको थालमा तेलपौर रोटी र तरकारी छँदै थियो । तिलुवाको खिर खाएको हुनाले तिलुवा संसारीलाई हान्न गए । त्यतिकैमा तिलुवाकी आमाले तिलुवालाई समात्दै संसारीलाई भनिन्, ‘संसारी तँ यहाँबाट जा । नत्र तिलुवा तँलाई पिट्छ ।’ संसार केही बोलिनन् । उनी डराएर खाँदै गरेको थाल लिएर त्यहाँबाट फुत्त उठिन् । घर गइन् । उनी उदास थिइन् । तर खिर र दहीको स्वाद उनलाई औधि मिठो लागेको थियो ।
संसारीको मनको कुरा तिलुवाकी आमाले पनि बुझ्न सकिनन् । संसारीलाई रोटी मात्र होइन् खिर र दही पनि चाहिएको थियो । थोरै खिर र दही संसारीलाई दिएकी भए संसारी उदास हुने थिइनन् । उनी घर आउँदा उनकी आमा भात पकाइरहेकी थिइन् । संसारी ओसरामा बसेर तिलुवाकी आमाले दिएको रोटी खान थालिन् । उनकी आमाले सोधिन्, ‘कसले रोटी दियो ?’ संसारीले ‘तिलुवाकी आमाले’ जवाफ फर्काइन् । संसारीकी आमाले उनको अबोध मन बुझ्न सकिनन् । बेलुकी संसारीकी आमा उनलाई भात खान दिइन्, संसारीले त्यतिवेला फेरि आमालाई भनिन्, ‘आमा हाम्रो किन चौठीचाँद भएन ?’ उनकी आमाले फेरि त्यही जवाफ फर्काइन्, ‘तँलाई कति भन्ने ? भाकल गर्ने मान्छे मात्र चौठीचाँद गर्छन् । हामीले भाकल गरेका थिएनौँ त्यसैले चौठीचाँद गरेनौँ ।’ भाकल नगरे पनि उनकी आमाले त्यो दिन उनको लागि दही र खिर बनाइदिन सक्थिन् तर अहँ, भाकल गरेकी छैन भनेर संसारीलाई अलमलाइरहिन् । उनको चित्त बुझाउन सकिनन् ।
संसारीको यतिकैले चित्त बुझेन । दिउँसो भात खाएर जब उनकी आमा खेत काम गर्न गइन् । त्यतिवेला उनी आँगनमा सिन्काले रेखा कोरेर घर बनाइन् । घरमा भएको पुरानो भाँडाकुटी ल्याइन् । बालुवामा पानी हालेर बालुवा गिलो बनाइन् । गिलो बालुवाको खिर र दही बनाइन् । बारी गइन् । बारीबाट चुलो पोत्नको लागि भिजाइएको माटो थियो । भिजेको माटो ल्याइन् । माटोको ससाना डल्ला बनाउँदै रोटी बनाइन् । माटाको थाल बनाइन् । बालुवाको तरकारी पनि पकाइन् । उनी आकाशतिर हेरिन् । सूर्य अस्ताइसकेको थियो । भाद्रको आकाशमा बेलुकी चन्द्रमा देखिरहेको थियो । उनी चन्द्रमा आकाशमा निस्केको देखिन् । चन्द्रमा निस्केको देखेर उनी खुसी भइन् । उनी माटाकै सानो लोटा बनाइन् । उनी थालमा बालुवाको खिर, रोटी र दही हालिन् । लोटामा बालुवाको पानी हालिन् । भर्खर निस्केको पाँचौ दिनको चन्द्रमातिर बालुवाको दही, रोटी र खिर भएको थाल अँजुलीमा बोकेर चन्द्रमातिर देखाइन् । फेरि भुइँमा राखिन् । अँजुलीमा लोटा बोकेर चन्द्रमातिर बालुवाको पानी देखाउँदै भुँइमा पानी खन्याइन् । तिलुवाकी आमाले चौठी चाँदको पूजा गरेझैं उनी चौठीचाँद पूजा गर्न थालिन् । फेरि थाल अँजुलीमा बोकिन् । चन्द्रमालाई देखाइन् । थाल फेरि भुँइमा राखेर चाँदलाई बालुवाको पानी खुवाइन् । पूजा गरिसकेपछि उनी आँखा चिम्लेर चाँदलाई ढोगिन् । ओठ चलाउँदै आफ्नो गाई र गोरुको सुस्वास्थ्यको कामना गरिन् । उनको प्रार्थना चन्द्रमाले सुनेजस्तो लाग्यो उनलाई । उनी आँखा खोलिन् ।
आँखा खोलेर भाँडाकुटीको थालमा बालुवाको खिर, दही, माटोको रोटी र तरकारी पस्किन् । उनी तल्लो बङ्गारामा बालुवाको दही, रोटी र खिर खाँदै कुचुकुचु आवाज निकालिन् । उनी झुठैको बालुवाको खिर, दही र रोटी खाइन् । खाएर अघाइन् । उनकी आमाले चौठीचाँद नमनाए पनि उनी अबोध मनले चौठीचाँद गरेर भगवानलाई खुसी पारिन् । गाई, गोरुको सुस्वास्थ्यको कामना पनि गरिन् । बालुवाको परिकार पनि खाइन् । उनलाई खान नदिने तिलुवा थिएनन् । उनी भित्रि मनबाट खुलेर चन्द्रमाको पूजा गरिन् । उनले चौठीचाँद मनाएर इच्छा पूरा गरिन् ।
आमा खेतबाट घर फर्किँदा संसारी आँगनभरि सिन्काले कोरेर घर बनाएको र बालुवा, माटो भिजाएर आँगन फोहोर पारेकीले उनकी आमा रिसाउँदै भनिन्, ‘खेलेर यो केटीले आँगनै फोहोर पारी ।’ झिसमिसे साँझ परिसकेको थियो । उनकी आमा कुच्चोले आँगन बढार्न थालिन् । बालुवाको दही, खिर र रोटी आमाले बढारेर फालेको देखेर संसारीले भनिन्, ‘आमा मेरो रोटी र खिर नफाल्नुहोस् न ।’ संसारीको कुरा सुनेर उनकी आमा रिसाउँदै भनिन्, ‘बालुवाको तेरो खिर र रोटी नफाले के गर्ने ? तेरो खिर, रोटीले आँगन फोहोर भएको छ ।’ बालुवाको सबै दही र खिर रोटी संसारीकी आमाले बढारेर फालिन् । आँगन सफा देखियो तर संसारीको मन धमिलो भयो । बढारेर बालुवाको दही, खिर र रोटी फालेको देखेर संसारी रुन थालिन् । उनी रोएको देखेर उनकी आमा माटोको एउटा रोटी संसारीतिर फाल्दै भनिन्, ‘ला, यो तेरो रोटी ।’ फाल्दा रोटी दुई टुक्रा भयो । माटोको रोटी दुई टुक्रा भएको देखेर हिक्का छोड्दै संसारी रुन थालिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.