थारु युवतीले नाच्ने सखिया नृत्य, सामाजिक र धार्मिक सद्भाव फैलाउदैँ

कञ्चनपुर, २७ असोज ।
मादलको तालसँगै कम्मर मर्काउँदै थारु युवतीले नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत छ । सामूहिक रुपमा सबैका घर घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्‍याउँछ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।
थारु समुदायले कृष्णजन्माष्टमीको दिनदेखि सखिया नृत्यको सुरुवात गरेर दसैँसम्म यसलाई निरन्तरता दिने गर्छन् । तर आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना गर्ने गरिन्छ । पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकामा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पट्यार लाग्ने भएपछि हाल सखिया नृत्यलाई छोट्याएर १० दिनदेखि १५ दिनमा सीमित गरिएको थारु अगुवाको भनाइ रहेको छ ।
थारु गाउँका भलाद्मी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाइन्छ । गुरुवा (झाँक्री)ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा–युवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको झलारी पिपलाडी नगरपालिका–३ जोनापुरका थारु अगुवा मनिराम चौधरीले बताए ।
सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिन्छ ।
नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भनिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य पस्कने गर्छन् जसलाई थारु भाषामा खोट (पैँया) भनिन्छ । थारु राजनीतिकर्मी दानसिंह दहितले भने– ‘पैँया २२ प्रकारको हुने गरेको भए पनि हाल मदारीहरुले आफैँ सिर्जना गरेर पैँयाको तरिकामा परिवर्तन ल्याएकाले यो बढी पनि हुन सक्छ ।’ यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतालासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेस गर्नुपर्ने हुन्छ ।
यस पौराणिक तर मनमोहक नृत्य हेर्नेहरुको समेत थारु गाउँमा निकै भीड लाग्ने गरेको छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ । अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भनिने उल्लेख गर्दै थारु संस्कृतिका जानकार परदेशी चौधरीले भन्नुभयो –‘यस दिन थारु समुदायले कुभिन्डोको भेडा बनाई बलि दिने परम्परासमेत रहेको छ ।’
पञ्चमीको दिन अघि सादा पोसाकमा यस नृत्यलाई पस्किने भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्छन् । नृत्य गर्ने युवतीले रङ्गीविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्छन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउनेसमेत गर्छन् । अष्टमीको दिन पछि रातमा नाचिँदै आएको सखिया नृत्य दिउँसो नाच्ने गरिन्छ । दिउँसो पख नाचिने सखिया नृत्यमा थारु युवतीले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्छन् ।
बचपनसे कान्हा गुल्ली डण्डा (खेलनै रे हाँ)
ओइसे तरपे जिया मोर हाई रे सँवारिया रे हाँ ।
तिरछी बइठी कान्हा (बसिया बजाबै रे हाँ)
ओइसे तरपे जिया मोरे साँबरिया रे हाँ ।
छतिया चिहुरी चिहुरी कान्हा (मामा मरनै रे हाँ)
कन्सा मुवल भैनक हात हाई रे सँवरिया ।
गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंश बध गरिएको प्रसङ्ग उल्लेख गरी परम्परागत तरिकाले आफ्नै लयमा गाइने गरिन्छ । यस नाचलाई दसैँका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घर घरमा गएर देखाउने भएकाले विगतका रिसराग बिर्सी सबैले हेर्ने गर्छन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ । दसैँपछि नृत्यमा सहभागी सबैलाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताउनुभयो जसलाई थारु भाषामा ‘ख्यारा’ खाने भनिन्छ ।
यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने पिपलाडीका वडघर नरेन्द्र चौधरीले बताउनुभयो । धार्मिक मान्यताअनुरुप यो नृत्यको आयोजना गरिए गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधी हट्ने र वर्षभरिका लागि अन्न खान पुग्ने विश्वास थारु समुदायमा रहेको छ ।
यसलाई अर्को शब्दमा थारु समुदायले ‘धर्ती जाग्ना’ भन्ने गर्छन् । सखिया नृत्यको आयोजना गरेमा धर्ती जाग्ने र प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ । विदेशी पर्यटकलाई समेत यस नृत्यले गाउँसम्म पुगेर फोटो खिच्न लोभ्याउँछ । सशस्त्र द्वन्द्वका बेला गाउँ जान छाडेका विदेशी पर्यटक अहिले यहाँका गाउँसम्म पुगेर सखिया नृत्यबारे चासो लिन थालेका छन् ।
युवा पिँढीले छाड्दै गएको यो नृत्यमा हाल आएर धेरैले चासो दिन थालेका छन् । थारु समुदायका पौराणिक धार्मिक मान्यता बोकेका गीत र नृत्य संरक्षणप्रति युवाले जागरुकता देखाउन थालेपछि संरक्षणमा टेवा पुगेको थारु सामाजिक कार्यकर्ता रेवन चौधरीले बताए । उनको भनाइ छ – ‘हराउँदै गएको संस्कृति जोगाउनका लागि युवा पिँढी अघि सर्न थालेपछि थारु समुदायको पहिचान जोगिएको छ ।’

तस्विर: सन्तोष दहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.