माघी – थारु नया बर्ष

171

सन्दर्भ: थारु माघी र थारु नया बर्ष
थारु एउटा बहुभाषिक, बहुसांस्कृतिक समुदाय हो. थारु हरुको सांस्कृतिक बिबिधता उनीहरुले ठाउँ अनुसार मनाउने चाड पर्वबाट स्पष्ट बुझ्न सकिन्छ. पुर्व देखि पश्चिम तराईमा बसोबास गर्ने थारु हरुमा क्षेत्र र वर्गअनुसार चाडको महत्व फरक फरक छ. पुर्वका थारु हरु सिरुवा पवैनलाइ निकै प्रमुखताका साथ् तिन दिन सम्म मनाउछन भने त्यहि पर्व पश्चिमका थारु हरु “लावा साल” अथवा नेपाली पात्रो अनुसार को नया बर्षको दिन (बैसाख १ गते) को रुपमा मात्रै चिन्दछन. पश्चिमका दंगौरा, राना थारु हरुलाई जितिया र समा चखेवा के हो थाहा छैन तर चितवन देखि पुर्व तिर यसलाई प्रमुख चाड को रुपमा धुम धाम साथ् मनाउने गर्छन. होलि पर्व सबै थारु हरुले मनाउछन तर राना थारु हरुले जति महत्व होलि पर्वलाई दिन्छन, अरुहरुमा त्यति देखिदैन भने गुरही/अतवारी पर्व दंगौरा थारु बाहेक अरुलाई थाहा नभएको या न मनाइने चाडहरु हुन्.

 

माघी पर्व थारु सबैले (माघी/खिचारा/तिला सकरात को रुपमा) तथा धेरै जसो नेपालिले माघे सक्रान्ति को रुपमा मनाउने गरिन्छ. पूर्वमा माघी बिशेष परिकार हरु चिचर भात, परेवा को मासु, तिलवा, खिचडी, माछा आदि हुन्छन भने पश्चिम तिर त एउटा माघी गित नै छ “माघ लहैली सुरिक शिकार खैली… ” अर्थात् माघ नुहायौं, सुंगुरको मासु खायौं अर्थात बंगुर/सुँगुरको मासु अनिवार्य हुने गर्छ.

 

माघीलाइ पश्चिम का थारु हरुले बढी प्रमुखताका साथ् मनाउछन र विभिन्न माघी सम्बन्धित किर्याकलाप एक महिना सम्म पनि चल्दछ जसमा प्रमुख हो गएको बर्षलाइ विश्लेषण गर्ने र नया करार र अन्य महत्वपुर्ण कार्य हरु अन्त्य/शुरुवात गर्ने महिनाको रुप मा लिइन्छ. माघी को तयारि ६ महिना अगाडी देखि नै शुरु हुन्छ र यस अवसरको समयावधि एक महिना सम्म चल्ने गर्छ. पौष को अन्तिम दिन “सुअर मर्ना” अथवा “जिटा मर्ना” जसमा सुँगुर/बंगुर काटिन्छ पछि माघ १ गते को दिन बिहान सबेरै नजिक को नदि, कुलो अथवा तलाउमा गएर नुहाउने र पुजा आजा गर्ने गरिन्छ. नुहाएर आएपछि चामल र दाल छुने चलन छ. साथै चामल, दाल, नुन, पैसा, लत्ता कपडा आदि आफ्नो चेली हरुलाई “नीसराउ” को रुपमा दिने चलन छ. आफ्नो मान्यजन हरु संग सेवा ढोग गरेर आशिर्बाद लिने यस दिन को प्रमुख रित हो.
माघ २ गते देखि “माघी देवानी” शुरु हुन्छ जसलाई कहिँ कहिँ “खेल” पनि भन्ने गरिन्छ. यो भनेको गाउँ भरिको गरधुरिया (घर को मुली) हरु भेला हुनु र गाउँ सम्बन्धि गएको बर्ष को हिसाब र आगामी बर्ष को योजना बनाइन्छ. यसै भेला बाट “मह्तावा” (गाउँ को नेतृत्व गर्ने ), चिरक्या (चौकीदार), गुरुवा (पुजारी) आदि को काम विश्लेषण र छनौटको काम हुने गर्दछ. यसका साथै कुलो नाला को छिनोफानो, बुझाउने पर्ने दस्तुर र खर्च को हिसाब आदि को बार्षिक गतिबिधिको लेखा जोखा गरिन्छ. यसरि माघी गएको बर्षको हिसाब बन्द गरेर नया हिसाब शुरु गर्ने थारु नया बर्ष हो.
माघी देवानी को अर्को पक्ष कमैया/कम्लहरी सम्बन्धि छ. माघी कै बेला कमैया/कम्लहरीको बार्षिक “करार” नविकरण गरिने या चित्त नबुझे कमैया/कम्लहरी ले नया किसान रोज्न पाउने अथवा आफ्नो करार (धेरै जसो मौखिक) मा फेर बदल आदि गर्ने गरिन्छ. यसै बेला कुनै कमैया ले तिर्न नसकेको ऋण यदि अर्को किसान ले अलि बढी पैसा तिरेको खण्डमा उसकै घरमा कमैया बस्न बाध्य हुने गरिन्थियो. यो एउटा मानव बेच बिखनकै रुपमा र दासता बाट उम्कन नसकिने प्रथा को रुप मा देखियो. अहिले कमैया र कम्लहरी प्रथा बन्देज भैसकेको छ साथै कमैया र कम्लहरी मुक्त घोषित भइसकेका छन तर पनि माघी कै बेला कमैया/कम्लहरी को करार गरिने भएको भएर माघी वारी परि विभिन्न अधिकारकर्मी संस्था हरु चेतनामुलक कार्यक्रम, खबरदारी र अन्य तरिकाले यस प्रथालाइ जरै संग उन्मुलन गर्ने प्रयासरत छन.

 

यसरि माघी थारुहरुको लागि एउटा नया शुरुवात को संकेत हो, बितेका समय लाई केलाउने र नया शुरुवात गर्ने एउटा मौका हो. अब एउटा प्रश्न धेरै जनाको मनमा उठ्ने – नया बर्ष थारु सम्बत् कति हो? यहाँ यो जान्न जरुरि छ कि थारु नया बर्ष र थारु सम्बत् अलग बिषय हुन्. थारु सम्बत् बुद्ध को जन्म जयन्ति जुन कि बैसाख मा पर्छ संग सम्बन्धित छ भने थारु नया बर्ष माघ महिना मा पर्छ. गणना अनुसार २०७० को बुद्ध जयन्ति २३६७ औं हो. तर माघी र बुद्ध जयन्ति मा करिब ३ महिनाको २५ दिन अन्तर लाइ संयोजन गर्दा र यो माघी लाइ “नया” मान्नु पर्दा यसलाई नया बर्ष २३६८ मानिएको हो (वास्तव मा अहिले बर्ष २३६७ नै चलि रहेको छ तर नया बर्ष भन्न साथ् पुरानो बर्ष मा १ थपिनु भएको हुनाले माघी २३६८ भनिएको हो)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.