विरोध सभामा थारू नेताको उद्घोष- ‘जातीय सद्भाव बिग्रन दिँदैनौं’ (Via Nagariknews)

Tharuhat Andolan
Tharuhat Andolan

मसुरिया (कैलाली)- थारु नेताहरुले शान्तिपूर्ण आन्दोलनमार्फत अधिकारको लडाइँ जारी राख्ने जनाउँदै सामाजिक सद्भाव बिग्रन नदिने प्रण गरेका छन्। थरुहट/थारुवान स्वायत्त प्रदेश पक्षधरको आन्दोलनमा आठ जना सुरक्षाकर्मी र एक नाबालक मारिने गरी कैलालीको टीकापुरमा भदौ ७ गते भएको हिंसात्मक घटनापछि सोमबार पहिलोपटक पूर्वपश्चिम राजमार्गअन्तर्गत मसुरियामा आयोजित विरोध सभामा उनीहरुले जातीय सद्भावका पक्षमा ऐक्यबद्धता जनाएका हुन्।


सभामा बोल्नेहरुले आफ्नो आन्दोलन कसैविरुद्ध नभई राज्यसँग अधिकार माग्न भएको प्रस्ट्याए ।’घटनापछि थारु र पहाडी त्रसित भएका छन्। प्रशासनबाट सामाजिक सद्भाव कायम गर्न टीकापुरमा कार्यक्रम गर्नुपर्छ,’ थरुहट/थारुवान संयुक्त संघर्ष समिति संयोजक लाहुराम चौधरीले सभामा भने, ‘सामाजिक सद्भाव कायम गर्न हामी गम्भीर छौं।’

टीकापुर घटनापछि बिग्रन लागेको सामाजिक सद्भाव कायम गर्न प्रशासनबाट पहल थालिनुपर्ने उनको भनाइ थियो। ‘हाम्रो आन्दोलन अखण्ड सुदूरपश्चिम वा पहाडी कसैका विरुद्ध नभई राज्यसँग अधिकारको माग राख्न गरिएको आन्दोलन हो, ‘ उनले भने, ‘हामी हिजोजस्तै थारु र पहाडी मिलेर बस्न तयार छौं।’ आफूले अधिकार नपाउन्जेल आन्दोलन पनि जारी रहने उनले बताए। टीकापुरमा थारु समुदायले नचाहँदा नचाहँदै दुःखद घटना भएकाले त्यसबाट पाठ सिक्दै अधिकार प्राप्तिको आन्दोलनमा शान्तिपूर्ण ढंगले प्रस्तुत हुने उनले बताए।

सभामा थारु कल्याणकारिणी सभा, कैलालीका पूर्वसभापति प्रभात चौधरीले आफूहरुको माग प्रहरी र अखण्ड पक्षसँग नभई राज्यसँग भएकाले कसैविरुद्ध नलाग्न आफ्ना समर्थकसँग आग्रह गरे। प्रभातले भने, ‘सदियौंदेखि थारु र पहाडीबीच सद्भाव रहेकाले यसलाई कसैले बिगार्न हुँदैन।’थरुहट तराई पार्टीका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीले थारुहरु हिंसामा विश्वास नगर्ने भन्दै जातीय सद्भाव बिग्रन दिनु नहुने औंल्याए। ‘लामो समयदेखि दाजुभाइको जस्तै सम्बन्ध बनेको थारु पहाडीबीच केही समययता उब्जिएका शंका–उपशंकाको निराकरण हुनुपर्छ,’ खडकले, ‘कैलाली–कञ्चनपुरदेखि चितवनसम्म अधिकारसम्पन्न थारुवान राज्यका लागि आफूहरुको आन्दोलन भइरहेको हो।’

नेपाली कांग्रेसका नेता खेम चौधरीले थारु–पहाडीबीचको सम्बन्ध बिगार्ने कोसिस भइरहेको बताउँदै यसबाट सजग हुन थारु आन्दोलनकारीलाई आग्रह गरे। ‘थारु र पहाडीबीचको सम्बन्ध बिगार्ने खेल भइरहेको छ,’ खेमले भने, ‘हामी सामाजिक सद्भाव बिग्रन दिँदैनौं।’शान्तिपूर्ण आन्दोलनले थारुहरुको माग पूरा नभए त्यसको स्वरुप फेरिने बताउँदै उनले भने, ‘हामीले कञ्चनपुरदेखि चितवनसम्मको थरुहट/थारुवान राज्य नभएसम्म आन्दोलन रोकिँदैन।’कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरीलाल चौधरीले माग पूरा नहुन्जेल आन्दोलन निरन्तर चलिरहने बताए। उनले आफूहरुको माग राज्यसँग भएकाले अन्य समुदायसँग मनमुटाव नगर्न थारु समुदायलाई आह्वान पनि गरे।’हाम्रो माग राज्यसँग भएकाले सामाजिक सद्भाव कायम गरेर बस्नुपर्छ,’ उनले भने।

यसैगरी, एकीकृत माओवादी पूर्वसभासद कृष्ण चौधरीले सामाजिक सद्भाव बिग्रन नदिन आफूहरु गम्भीर भएर लागेको बताएका छन्। ‘वषार्ंैदेखि मिलेर बसेका हामी समुदायबीचको भाइचारा सम्बन्ध बिग्रनु हुँदैन भन्नेमा हामी गम्भीर छौं र सबैले यसमा गम्भीर हुनुपर्छ,’ कृष्णले भने। सुशीला चौधरीको अध्यक्षतामा सम्पन्न सभामा कैलाली जिल्लाका अधिकांश थारु बस्तीका स्थानीयको सहभागिता थियो।

महिला सहभागिता बढाइयो

संघहरुको सीमांकनप्रति विरोध जनाउँदै आएको थरुहट /थारुवान संघर्ष समितिले आन्दोलनको अग्रमोर्चामा महिलालाई सारेको छ। कैलाली ४ को मसुरियामा सोमबार आयोजना गरिएको क्षेत्रीय विरोध सभामा विभिन्न गाविसबाट ठूलो संख्यामा महिलाको सहभागिता थियो। पुरुषहरु आन्दोलनको अगुवाइ गर्दा प्रहरीले हस्तक्षेप गर्न सक्ने भन्दै आन्दोलनकारीले महिलालाई अगाडि सारेको हो। कैलाली ४ का १० वटै गाविसबाट उतारेका महिलाको मसुरिया, बडैपुरदेखि साझाबजारसम्म करिब दुई किलोमिटर मार्चपाससमेत गरे। भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनापछि थरुहट/थारुवान आन्दोलनकारीले महिला सहभागिता बढ्न थालेको हो।थरुहट/थारुवान संयुक्त संघर्ष समिति सचिव माधव चौधरी अधिकारका लागि सबै लाग्नुपर्छ भनेर महिलाहरु पनि तातेकाले उनीहरुको स्वस्फूर्त सहभागिता भएको बताउँछन्।

‘यो जानुपर्छ, त्यो जानुपर्छ भन्ने होइन, महिलाको स्वस्फूर्त सहभागिता हो,’ उनी भन्छन्, ‘अहिले महिलाहरु पनि तातेका छन्।’

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको पूर्वघोषित मसुरियाको विरोध सभामा पनि घटना हुन सक्ने अड्कलबाजी थियो। तर सभा सोचेजस्तो भएन, अत्यन्तै शान्तिपूर्ण र सन्देशमूलक बन्यो। टीकापुरको जस्तै घटना नदोहोरियोस् भनेर सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो। विभिन्न ठाउँबाट आएका सहभागीको खानतलास गरिएको थियो। कुनै प्रकारका हतियार र लट्ठी ल्याउन रोक लगाइएको थियो। ठाउँठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक रुपमा परिचालन गरिएको थियो। सभास्थलमा भने विगतको जस्तो सुरक्षाकर्मी तैनाथ भएको देखिएन। सभास्थलबाट करिब १–२ सय मिटर वरपर खटिए पनि सभाको सुरक्षा गर्ने गरी विगतमा खटाइएजस्तो सुरक्षाकर्मी खटाइएको थिएन।

कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागार्इंका अनुसार खानतलास क्रममा गुलेली बोकेर आएका घोडाघोडी नगरपालिका सुक्खडका ३० वर्षीय समीरकुमार डगौरालाई पक्राउ गरेको छ।

सभालाई लक्षित गरी ठाउँठाउँमा हतियारसहित सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ चापागाईंले बताए। सुरक्षा समितिले शान्ति सुरक्षा कायम गर्न गृहकार्य गरेरै सुरक्षा रणनीति लागू गरेको उनले बताए।

टीकापुर घटनापछि कुनै कार्यक्रम नगरेको थरुहट/थारुवान संयुक्त संघर्ष समितिले मसुरियामा बृहद विरोध सभा राखेको थियो।

सभामा ‘प्रत्येक घरबाट एक जना’

अधिकारका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने भनेर गाउँमा भनिएकाले प्रायजसो घरबाट एक जनाका दरले विरोध सभामा सहभागी हुन आएका थिए। घाममा छाता ओढेर महिला सहभागी थिए।’घरको एक जना जानुपर्छ भनेर गाउँमा भनेकाले म मजदुरी छाडेर आएको हुँ,’ मसुरिया–९ बाट आएका घर बनाउने मजदुर देवलराम चौधरीले भने। यसैगरी, पहलवानपुर १ कि शान्ति चौधरी पनि थारुको अधिकार मागका लागि हुने विरोध सभामा प्रत्येक घरको एक जना सहभागी भएको बताइन्।

भलमन्सा प्रयोग

आन्दोलनमा सहभागिता जुटाउन गाउँगाउँमा भलबन्सासमेत प्रयोग गरिएको छ। थारु समुदायमा भलबन्साले सामाजिक अथवा व्यक्तिगत कुनै पनि काम गर्न सबैलाई बोलाउनुपरे चौकीदारमार्फत उर्दी जारी गर्ने चलन छ। विरोध सभा तथा प्रदर्शनमा पनि भलबन्साले नै प्रत्येक घरको एक जना सहभागी हुन उर्दी जारी गर्ने गरेको स्थानीय बताउँछन्। ‘एक घरबाट एक जना जानुपर्छ भनेर चौकीदारले खबर गरेको हो,’ गदरिया–६ बेल्डौलीका कृष्ण चौधरीले भने। विरोध सभामा सहभागी नहुने परिवारले ३–४ सय जरिवाना तिर्नुपर्ने भनिएको अर्का बासिन्दा सन्तु चौधरीले बताए। कैलाली, बसौटीकी छोट्की चौधरीले भलबन्साले जान भनेकाले आन्दोलनमा आएको बताइन्। उनले भनिन्, ‘आन्दोलनमा नजाने घरकाले पैसा तिर्नुपर्ने भनेपछि आएको हुँ।’

देउवा,रावल र भट्टको विरोधमा पर्चा बाँडियो

थारुवान संघर्ष समितिले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, नेकपा एमाले उपाध्यक्ष भीम रावल र एकीकृत माओवादी नेता लेखराज भट्टको तस्बिरसहित थारुविरोधी नेता भनेर छापिएको पर्चा बाँडेका छन्।

तीन नेताको तस्बिरसहित पर्चामा थारुविरोधी नेता मूर्दावाद लेखिएको छ। संयोजक चौधरीले आयोजकले थारु अधिकार नदिनेलाई चिनाउन पर्चा बाँडेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.