सत्यार्थिलाई नोवेल दिलाउन नजन्माएको ‘छोरो’ डिल्ली चौधरीको ‘लविङ’

 

Nobel Peace Prize 2014 winner Kailash Satyarthi with Dilli Chaudhary of BASE
Nobel Peace Prize 2014 winner Kailash Satyarthi with Dilli Chaudhary of BASE

गजेन्द्र बोहोरा- केटाकेटी छँदा हरेक ‘माघी’मा डिल्लीबहादुर चौधरी पनि नाच्थे। अरु थारूहरूसँगै। तर, २०४१ सालको त्यो ‘माघी’आउनुभन्दा अघि नै उनले एउटा योजना बनाइसकेका थिए ‘यो माघीमा नाचेर कमाएको पैसाले थारु बच्चा पढाउँछु।’
केही साथीहरूसँग सल्लाह भयो। तुलसीपुर नगरपालिकाको डुम्रीगाउँका थारू युवाले पनि नाच निकाले। पाँच दिनसम्म नाचे। कमाइ भयो सात सय रुपैयाँ।

त्यसैबाट केही थान ठूलो वर्णमाला किनियो। केही थान टुकी। त्यो बेला लालटिनसमेत थिएन। बिजुलीको त कुरै छोडौँ। नाचमा जति थारू युवा थिए, ती सब ‘स्वंयसेवक’ भए। अनि गाउँमा कक्षा सुरु गरियो।

सुरुमा अभियान थारू समुदायका बालबालिकामा केन्द्रित भयो। पछि पढ्न नपाएका, नसकेका सबैजना ती कक्षामा सहभागी हुन थाले। त्यो अभियानले एकवर्षमै ३ हजार कक्षा सञ्चालन गर्यो,। त्यसमा एकवर्षसम्म बच्चाबच्चामात्रै होइन, उमेर ढल्किएका पनि अक्षर चिन्न भर्ना हुने क्रम चलिसकेको थियो।
त्यो बेला डिल्लीबहादुर चौधरीले भर्खरै एसएलसी पास गरेका थिए। गाउँकै स्कूलबाट। थारु समूदायमा पढ्ने पढाउने चलन थिएन। त्यत्रो समूदायमा उनको परिवार भने भाग्यभानी भयो। बाबु पञ्चायती राजनीति गर्थे। राजनीति गर्ने भएका कारण पढ्ने ढाउने चेतना थियो। चार भाईलाई स्कूल भर्ना गरिदिए। ‘गाउँघरका कोही स्कूल जाँदैनन्, थारुका चारजना बच्चामात्रै स्कूल जाँदा नरमाइलो लाग्थ्यो’ डिल्लीले त्यो बेलै सपना बुनिसकेका थिए ‘अब मैले पढे भनेँ, सबलाई पढाउँछु।’
एसएलसी पास भएपछि उनी त्यस्तै समूदायका बालबच्चालाई पढाउन लागे। आफूले माथि पढेनन्, धेरैपछि सम्म।

समाजलाई चेतना दिनुपर्छ भन्ने प्रेरणा उनले आफ्नै परिवारको कथा पनि हो। कुनै बेला उनको परिवार निकै सम्पन्न थियो। बाजेले पढेलेखेका थिएनन्। गाउँमा जमिन्दारसँगको संगतले उनका बाबुले भने अलिअलि पढ्ने मौका पाएका थिए।
एक दिन जमिन्दारले उनका बाजेलाई एउटा कागजमा सही लगाए। ‘जमिन्दारलाई शंका?’ त्यस्तो कुरै थिएन। उनले ल्याप्चे लगाइदिए। पछिमात्रै थाहा भो, उनको औंठा छापले सारा सम्पत्ति जमिन्दारको भइसकेको थियो। त्यसपछि त्यो परिवारको दुःखका दिन सुरु भए। परिवारको यो पीडा खप्न धेरै गाह्रो भइरहेको थियो। खानेसमेत नभएपछि एकदिन उनका बाबुले घरमा पालेको घोडासमेत बेच्नुपर्योा।
‘त्यो बेला म खुब रोएको थिएँ, किनकी म घोडालाई धेरै माया गर्थेँ,’ उनले भने ‘त्यसपछि मलाई बिस्तारै लाग्न थाल्यो, थारूहरुलाई नपढाए सब सम्पत्ति लुट्छन्।’ बुबा त्यसपछि उनै जमिन्दारका कमैया भए। उनी पनि कैयौँ वर्ष जमिन्दारकै ‘बेगारी’ गरे।
अभियानले गति लिंदै थियो। चारैतिर हावा चलिसकेको थियो ‘डिल्ली चौधरी नेता बन्दैछ’ उनलाई प्रहरीले समायो। जेल हाल्यो। केरकार पनि गर्यो , ‘गाउँगाउँमा मान्छे खोजेर नेता बन्ने?’
डिल्लीले हात जोडे, ‘होइन, नपढेकालाई पढाएको हुँ, नेता बनेको हैन।’
‘अनि ती कार्यकर्ता किन खटाएको त?’ पुलिस अनि पुलिसका हाकिम धेरै पटक झम्टिए।
‘तिनले नि पढाउँछन्, स्कूल जान नसक्नेलाई,’ उनले फेरि अनुनयन गरे।
‘ए! के पढाउँछन्? राजनीति सिकाउने?,’ धेरै पटक पुलिसको खोरमा हुलिए त्यै पनि उनले पढाउने अभियान छोडेनन्।
२०४७ सालमा ‘ब्याक वार्ड एजुकेशन सोसाइटी(बेस),’ भन्ने संस्था जिल्ला प्रशासनमा दर्ता भयो। अलि सजिलो भयो। त्यो बेलासम्म डिल्ली चौधरी सारा दाङभरी छाइसकेका थिए। त्यसपछि बेसमार्फत अझै अभियान चम्कियो। गाउँगाउँमा ‘टुकी’ र ‘वर्णमाला’ अभियान खुब दरियो।
त्यो बेलासम्म अभियानले ‘अनौपचारिक शिक्षा’ भन्ने कार्यक्रम लिएर साँझको भान्सा सकिएपछि पढ्न नपाएका, उमेर ढल्किएकाहरुलाई पढाउने कक्षा सुरु गरिसकेको थियो। दुई वर्षपछि सरकारले नै ‘अनौपचारिक शिक्षा’का लागि ‘नयाँ गोरेटो’ भन्ने किताब छापेर दियो। अलि सजिलो भयो।
तुलसीपुरदेखि अलिकति माथितिर राप्ती आँखा अस्पताल छ। त्यसमा स्वंयसेवा गर्न आएकी एकजना विदेशी नागरिक थिइन् ‘एङ्गे साइकिल’, उनले फर्किने बेलामा २ हजार रुपैंयाँ दिइन्। ‘विदेशीले दिएको त्यो पहिलो पैसा थियो’ त्यो अभियानलाई सम्झिँदैँ चौधरीले भने, ‘त्यसपछि जिल्लामा स्वंयसेवा गर्न आउने, अरूले पनि हाम्रो काम हेरेर दुई हजार, पाँच हजार र आठ हजारसम्म दिए।’
एउटा अनपढ गाउँको सामान्य घरको ठिटोले माघमा नाचेर कमाएको सात सय रुपैयाँले सुरु गरेको अभियान अहिले आएर सातौँ अर्बमा दौडिरहेको छ। बालबच्चा पढाउने उनको यही अभियानको प्रेरणा पनि थप उर्जा बनेको थियो, नोवेल पुरस्कार बिजेता, छिमेकी राष्ट्र भारतका सामाजिक अभियन्ता ‘कैलाश सत्यार्थी’लाई पनि। र त, २०१० मा सत्यार्थी आफै नेपाल आए र कञ्चनपुरमा नेपाली बालबालिकाको बिचमा उभिएर ‘बालअधिकारको पक्षमा विश्वव्यापी मार्चपास’ नेपालमा पनि भित्र्याए। त्यो अभियानलाई बेसले पूर्वको काकडभिट्टासम्मै पुर्याकएका थिए।
डिल्ली र कैलाशको भेट पनि बडो, फिल्मी शैलीमा भएको थियो। १९८८ मा भारतको मुम्बईमा त्यस्तै बालबालिका बचाउने सम्बन्धि आन्दोलन चलिरहेको थियो। उनी पनि त्यसका लागि भारत गएका थिए।
एउटा रेलवे स्टेशनमा उनी रेल चढ्न खोज्दा प्रहरीले निकालेर खुब कुट्यो। कारण, टिकट थिएन। पैसा पनि थिएन। गोजामा एक सय रुपैयामात्रै थियो। त्यसैले टिकेट नकाटेर ‘बरू पैसै दिम्ला’ भनेर उनले टिकट लिएनन्। तर भारतीय प्रहरीले उनलाई बाहिर निकालेर खुब भकुर्योस। भीड जम्मा भइसकेको थियो। कैलाश पनि त्यतै जाँदै थिए।
Nepal marchउनी प्रहरी र भीडलाई छिचोल्दै आए र सोधे ‘के भयो?’ डिल्लीले आधा हिन्दी, र आधा नेपाली बोलेर ‘आफू त्यो आन्दोलनमा जान लागेको र पैसा नभएर टिकट नलिएपछि प्रहरीले पिटेको’ विवरण बताइदिए। सत्यार्थीले प्रहरीबाट छुटाएर आफूसँगै लगे। पहिलो भेट त्यस्तो भयो। पछि धेरैपछि बालअधिकार सम्बन्धि टर्कीमा भएको एउटा कार्यक्रममा भेट भएपछिमात्रै कैलाश र डिल्लीको साइनो अझ कसिलो भयो।
‘उहाँ नेपाल धेरैपटक आउनुभो, जहिल्यै पनि मेरै घरमा बस्नुहुन्छ, हाम्रै बालबालिकासँग रमाउनुहुन्छ’ चौधरीले भने ‘म पनि इण्डिया गएँ भने सधैँ उहाँकैमा बस्छु।’
उनीहरुको सम्बन्ध व्यक्तिगत वा पारिवारिक मात्रै छैन, एउटै सामाजिक अभियानमा पनि गहिरो छ। ‘ग्लोबल मार्च अगेनेष्ट चाईल्ड लेवर’का अन्तर्राष्ट्रिय अध्यक्ष कैलाश सत्यार्थी हुन् भने त्यसको एशिया अध्यक्ष डिल्लीबहादुर चौधरी छन्।
कैलाशलाई नोवेल पुरस्कारका लागि नेपालका तर्फबाट तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ‘नोमिनेशन’ गरिदिएका थिए। त्यो पनि २०६१ सालमा राजा ज्ञानेन्द्रले शासन लिएर देउवालाई हिरासतमा राखेको बेला। चौधरीका अनुसार देउवालाई भेट्न सत्यार्थीलाई नेपाली भनेर हिरासतमा पुर्यासइएको थियो। प्रहरी तालिम केन्द्र महाराजगंजमा रहेका देउवाले त्यहिँ नै सत्यार्थीको नोवेल पुरस्कार मनोनयनमा सहीछाप गरिदिएका थिए।
त्यसपछि डिल्लीकै अगुवाईमा लगातार त्यसको क्याम्पेनिङ चल्यो। छिमेकी देशका सभासद, राजनीतिज्ञ, मन्त्रीहरुको समेत सिफारिस आवश्यक हुने भएका कारण, डिल्लीले नेपालका तर्फबाट कैलाशलाई धेरै सघाए।
त्यसो त, भारतीय सर्कसमा बेचिएका नेपाली बालबालिका फर्काउन कैलाशले थुप्रैपटक भारतमा अनसन बसेका थिए। पछि ती बालबालिकाहरु नेपाल फर्किएपछि चौधरीकै अगुवाईमा बेसले उनीहरुको व्यवस्थापन गर्यो । कतिलाई घरपरिवारको जिम्मामा छोडियो, कतिलाई बेसकै सहयोगमा पढाइयो।
बेसले नै आउँदो डिसेम्बरमा कैलाशलाई नेपाल ल्याउँदैछ। काठमाडौँमा बालअधिकारबारे उच्चस्तरीय गोष्ठी भएपछि उनी दाङमा पनि जानेछन्। डिसेम्बर ७ मा पुरस्कार थापेर भारत फर्किपछि डिसेम्बर १४ मा उनी नेपाल आउनेछन्। कैलाश आफैले पनि नेपाललाई आफ्नो दोस्रो घर भनेका छन्। र डिल्ली चौधरीलाई दोस्रो छोरो।
‘कैलाश जी नेपालका बारेमा धेरै चिन्ता गर्नुहुन्छ, आफ्नो अभियानमा नेपाल र नेपालीले सहयोग गरेको चर्चा गरिरहनुहुन्छ,’ उनले भने ‘धेरै पटक भन्नुभयो, नेपाल मेरो दोस्रो घर डिल्ली मेरो दोस्रो छोरो।’ त्यसैले पनि हो, नोवेल पुरस्कार थापेपछि उनी भारतको भूमि टेकेलगत्तै नेपालमा आउनेछन्।
‘कैलाशको एउटा इञ्जिनियर छोराले पनि उहाँको ‘बचपन बचाओ’ आन्दोलनलाई सघाइरहेका छन्’ चौधरी आफ्नै शब्दमा भन्छन्, ‘र डिल्ली मेरो अर्को छोरो हो, ऊ नेपालमा बसेर मलाई सघाइरहेछ भन्नुहुन्छ जहिले पनि।’ पुरस्कार पाउने घोषणा भएपनि पहिलोपटक कैलाशले डिल्लीलाई नै फोन गरेका थिए। त्यसपछि डिल्ली एकसाता अघिमात्रै कैलाशलाई भेट्न भारत पुगेर फर्किएका छन्।
सानै उमेरदेखि बालबालिका र शिक्षाको क्षेत्रमा काम गरेवाफत उनलाई १९९४ मा अमेरिकाले ‘रिवक अवार्ड’ दिएको थियो। त्यो बेला उनी २४ वर्षको मात्रै थिए। ‘त्यो ५० हजार डलर पनि मैले संस्थामै दिए, त्यसबाट धेरैवटा लालटिन र ठूलो वर्णमालाहरु किन्यौँ, पढाउन अझैँ सजिलो भयो’ उनले सम्झिए।
आज डिल्ली चौधरी सामाजिक क्षेत्रमा निकै चम्किएका छन्। उनी कांग्रेस तर्फबाट समानुपातिक सांसद पनि हुन्। नाचेर कमाएको पैसाले एउटा गाउँबाट सुरु गरिएको अभियान अहिले पश्चिम नेपालका २० भन्दा बढी जिल्लामा फैलिएको छ।
एउटी विदेशी नागरिकले २ हजार रुपैयाँ दिएर विदेशी ढोका खोलिदिएकी थिइन् आज, अमेरिका, बेलायतजस्ता ठूला देशका दातृ निकायले बेसको अभियानलाई निकै सघाएका छन्। ‘ती एउटी स्वंयसेविकाले पैसा दिएकी थिइन् सुरुमा पछि उनले अर्न्तराष्ट्रियस्तरमा धेरैसँग सम्बन्ध पनि बनाइदिइन्,’ चौधरीले भने।
आज दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत थुप्रै पहाडी जिल्लाहरुमासमेत बेस र डिल्ली चौधरी पर्याय भइसकेका छन्। २०२६ सालको असारमा जन्मिए उनी।
एउटा ‘टुकी’ र ‘वर्णमाला’ लिएर गाउँगाउँमा पढाउन हिँडेका डिल्लीबहादुरको यो संस्थाले अहिले मध्यपश्चिम र सुदूरका पहाडी जिल्लाहरुमा ‘उज्यालो’ अभियान पनि चलाएको छ। ‘माइक्रो हाइड्रो पावर’ प्रोजेक्टका माध्यमबाट अब उनको अभियान ‘उज्यालो जीवन’ तिर अघि बढेको छ।

 

साभार: सेतोपाटी

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.